गोपालसिं मुस्याजु महाप्रस्थान गर्नु भएको खबरले म स्तब्ध छु । हुन त उहाँ पहिलो उहाँले पाउनु भएको उमेर अनुसार हामीले अल बिदा भन्नुपर्छ । उहाँ हाम्रो छिमेकी हुनुहुन्थ्यो । दोश्रो उहाँको हक्की स्वभावले म प्रभावित थिएँ । उहाँसँग जोडिएका धेरै घट्ना र किस्सा छन् तर आज उहाँ बारेका केही संक्षिप्त कुरा मात्र यहाँ राख्दा बेस होला । बनेपाको राजनीतिक इतिहासमा कसैलाई मन परे पनि मन नपरेपनि उहाँको नाम जवर्जस्त आउँछ आउँछ । म उहाँको राजनीतिक विचारधाराको विपक्षी भए पनि उहाँको स्वभाव र जीवन शैली देखि अत्यन्तै प्रभावित भएको हुँ । ठिक्कको कद, कालो भादगाउँले टोपी, कालो कोट, दौरा सुरुवाल र टिल्लिक्क टल्किने कालो छालाका जुत्ता, कमेडी अनुहार, हाँस्दा हाँस्दै आफैलाई विर्सने मान्छे, पुराना कुरा गर्दा अत्यन्तै चित्रात्मक वर्णन गर्ने खुवि गोपालसिं मुस्याजूलाई म सम्मानले टबा भन्थे । नेवारी भाषामा टबा भनेको ठूलो बा हो ।
गोपालसिं मुस्याजू बनेपाको राजनीतिमा जवरजस्तीको नाम हो । उहाँ बाहेक गोपाल नामका बनेपाले नर्बिसने अरु गोपालहरु पनि छन् । मृत्यु भएका गोपालहरुको मात्र नाम लिँदा गोपाल जी भालु समाजसेवी थिए, गोपालमान श्रेष्ठ बनेपामा पुस्तकालय खोल्ने र भारतसम्म पहुँच भएका मान्छे थिए भने गोपालसिं मुस्याजू नेपाल परिवार नियोजन काभ्रे शाखामा पनि आवद्ध पञ्चायती व्यवस्थामा बनेपाको एउटा शक्तिशाली नाम थियो । त्योबेला एकातीर आशाकाजी बैद्य र अर्का तर्फ गोपालसिं मुस्याजू थिए । राष्ट्रिय पञ्चायतको सदस्यका उम्मेदवार गोपालसिं मुस्यजू पञ्चायती व्यवस्थाको अन्त्य पछि राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेको संस्थापक मात्र नभएर राप्रपाकै केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । उहाँ सूर्य बहादुर थापाको प्रिय पनि हुनुहुन्थ्यो । मैले लेख्नै पर्छ २०४७ मा पहिलो पल्ट राप्रपाको आमसभा बनेपामा हुँदा उहाँको घरमा आगो लगाउने प्रयास भएको थियो । त्यतिबेला बनेपामा गोली चलेर मान्छे समेत मरेको अवस्था थियो । त्यतिबेला पनि नडराउने मान्छे कस्तो होला आफैं बुझ्नुहोस ।
बनेपाको अरनिको दायाँबायाँ तक्कालिन अवस्थामा छाप्रा थिए । १७ वटा छाप्रो परिवारका गोपालसिं मुस्याजू संरक्षक (अभिभावक) थिए । अरनिको राजमार्गका दायाँबायाँका छाप्रा हटाउने एउटा पक्ष (विल्डिङ पक्ष) थियो भने छाप्रोलाई संरक्षण गर्ने अर्को कित्तामा गोपालसिङ । छाप्रोलाइ नै राजनीति गर्ने त्यतिबेलाको मुद्दा थियो त्यो पक्षमा गोपालसिं मुस्याजूको नाम पहिलो नम्बरमा थियो । छाप्रो वालाहरुको लाल पूर्जा थियो २५ मिटरको प्रावधानले भत्काउनु पर्छ भन्ने सिडियो र सडक बिभागको उर्दी गोपालसिङ को शक्तिले हटान सकेको थिएन । त्यसको विपक्षमा रहेका गोपालसिं मुस्याजूले केन्द्रमा दामोदर समशेर राणा, मन्त्री शुशिला थापा, नेत्र विक्रम थापालाई आफ्नो पक्षमा पार्नु भएको थियो र पो २०५५ सालमा मात्र बनेपा महोत्सव हुँदा डा. सुरेन्द्रवहादुर बादे श्रेष्ठले छाप्रा टहरा हटाउनु भएको थियो ।
मृत्यु प्रत्येक मान्छेको जीवन समिक्षा हो । संसारमा जन्मिएका अरबौँ अरब मान्छेहरु आफ्नो ठाउँमा त्यतिकै विशेष हुँदैनन् । सामान्य मान्छेहरु मरेको बाँचेको पनि थाहा हुँदैन । समाजलाई सकारात्मक गर्ने मात्र होइन नकारात्मक गर्नेहरुको पनि मान्छेहरुले चिहान खोतली खोतली उत्खनन् (बाहिर ल्याउँछन्) गर्छन् । बनेपा र बनेपालीका सन्दर्भमा पुरानो पुस्ताको एउटा हक्की र आफ्नै सिद्धान्तमा बाँच्ने मान्छे हो, गोपालसिं मुस्याजू । उहाँको निधनले बनेपाले पुराना राजनीतिक व्यक्तित्व गुमाएको छ । मेरा लागि हाम्रो छिमेकको एउटा अभिभावक, उहाँको इच्छा छ बनेपा बसपार्क देखि हाम्रो घर काभ्रे टाइम्स, रेडियो एवीसी रहेको क्षेत्र गोपालसिं मुस्याजू मार्ग होस टोलको नामाकरण होस । मलाई अरुले नसम्झिए पनि तिमी यूरोप अमेरिका जहाँ भए पनि म मरेको बेला केही मेरा बारे हामी बीच भएका कुरा पक्कै लेख्ने छौ । मैले पढ्न नपाए पनि मेरा सन्तान र बनेपालीले पक्कै पढ्ने छन् भन्ने उहाँको म प्रतिको विश्वासलाई आज यिनै शब्दमा यतिमात्र लेखें ।
उहाँले बताएका अनेकौँ किस्सा छन् । शुशिला थापा, सत्यमान लामा, इन्द्रबहादुर खड्का, रत्नप्रसाद खरेल, आशाकाजी बैद्य, दामोदर समशेर राणा, राजा विरेन्द्र लगायतका बारेमा अनकौँ किस्सा पात्र अनुसार समयक्रममा समेट्ने छु । अल विदा गोपाल टबा शोक सन्तप्त परिवार प्रति म र मेरो परिवार काभ्रे टाइम्स र रेडियो एवीसीका तर्फबाट हार्दिक समवेदना ।
