IMG-LOGO

जनयुद्धलाई फर्केर हेर्दा

 मंगल, फागुन १०, २०७८  नरेन्द्रजंग पिटर

      जनयुद्धलाई फर्केर हेर्दा प्रश्न गर्न सकिन्छ– हाम्रा आदर्श र सपना किन बोझ बने ? हाम्रो पुस्ता किन यदुवंशीमा फेरियो ?

      ओ हो ! १० वर्ष नौ महिना एक दिन चलेको जनयुद्ध सुरु भएको पनि आज २७ वर्ष लागेछ । गर्भे बालक जिम्मेवार बनेर देश देशान्तर चहारिसक्यो । प्रभावितहरू हरेक क्षेत्रको नीति–निर्माता तहमा पुगे । समाजमा एउटा विचार भौतिक शक्ति बनेर हस्तक्षेप ग¥यो । सबैका आग्रह, पीडा थेग्रिएर सोच र भूमिका बने । तीन दशक इतिहासका लागि सामान्य समय हो । तर, जनयुद्धले सरकार मात्रै फेरेन सत्ताको चरित्र, सोच्ने तरिका, बहस र आग्रह नै फेरिदियो । उपलब्धिलाई जो–जसले उपभोग गरिरहेका छन्, भलै विगतमा तिनै विरोधी किन नबनेका हुन्छ ।

      इतिहासबोधले अरूबाट भएका गल्ती, कमजोरी, असावधानीका शिक्षा बन्छन् । भरोसा टुटेपछि भने फेरि पलाउन कठिन हुँदोरहेछ । नेपाली इतिहासका लागि फागुने संक्रान्ति एउटा कोसेढुंगोे भइसक्यो, खारेज गर्नै सकिँँदैन । तर, यहाँ बिस्र्याउने खेल भने भइरहेको छ । इतिहासको योजनाबद्ध व्यवस्थापन भइरहेको समयमा आन्दोलन, अगुवा, सहयात्री र अवस्थाको निर्मम उत्खनन र समीक्षा गर्नुपर्छ । एडवर्डो गिलियानो भन्छन्– इतिहासले अलबिदा कहिल्यै भन्दैन, फेरि भेटाँैला है भन्छ । बिर्सनु त खुसी हुने तरिका हो, तर केही विषय जति बिर्सन चाहे पनि बिर्सनै सकिँदैन । सुविधाअनुसार इतिहासलाई व्याख्या गर्ने देख्दा भन्न सकिन्छ– सम्झने शक्ति कमजोर हुनु खराबी होइन । हिजोलाई सम्झिरहनेहरू दुःखी हुन्छन् । हावाको मोडअनुसार सोच र भूमिका तय गर्नेहरू ‘सुखी’ हुने गर्छन् । इतिहाससँगै यात्रा गर्नेले हिँडेका बाटा र इतिहासका राजमार्ग बिर्सन सक्दैनन् । परिणामको ख्याल गर्दै के गर्ने भन्ने द्विविधामा प¥यो भने युद्धमा कोही पनि सामेल हुन सक्दैन ।

      जनयुद्धले राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा गरेको हस्तक्षेप र पारेको प्रभावलाई सन्दर्भबाट कटाउन सकिँदैन । पहिचान र सामथ्र्यको खोजी, त्यसको मूल्य भुक्तान र सामाजिक उथलपुथल बनेका केन्द्रीय मुद्दा, पैदा गरेको अवस्थाबारे आ–आफ्नै कोण, सोच र पक्षधारिताका आधारमा समीक्षा हुँदै जालान् । यद्यपि, जनयुद्ध अहिले मनोयुद्धमा फेरिएको छ । वर्ग, चिन्तन, भूमिका र आदर्शबीच मौन टकराहट घनीभूत छन् । माओवादीमा तोडफोड अभियान चाले । त्यो स्वाभाविक, सैद्धान्तिक थिए कि आर्थिक सांस्कृतिक र स्वत्वका टकराहट थिए १ समीक्षालाई छोडिदिऊँ । कुरा राज्यसत्ता परिवर्तनको हो । झिनामसिना विषय सतहमा ल्याएर अंशमा खेल्दै समग्रमा प्रहारका उत्तेजना भर्ने काम भने हुँदै छन् । उपलब्धिको ध्वस्त खेल चलेकै छ ।

      तीन दशकमा तीव्रताका साथ बढेका घटनाक्रमका गति पक्रन सामान्यजनलाई सहज र सरल थिएन । धेरैका भविष्यवाणी हावादारी भए । स्वयं माओवादी नेतृत्व आफ्नै बोझ धान्न नसकेर बामपुड्के पनि देखिए । कहिलेकाहीँ घटनाक्रमले नै कर्तालाई नेतृत्व गर्दोरहेछ । अधिकांश नेपालीमा छिट्टै भुुल्ने रोग त छँदै छ । ऐतिहासिक घटनाहरू वचश्र्वशाली तप्काबाट विषयान्तर वा खारेज गर्ने खेल भए, हुन्छन् नै । हो,  शान्तिकालीन वर्गसंघर्ष अति कडा, निर्मम र चातुर्यपूर्ण हुन्छ । टकराहट रगत नबग्ने, लास नढल्ने । शान्तियुद्धमा परिस्थिति सबैले आ–आफ्नै इच्छा र मार्गचित्रमा हाँकिन्छन् भन्ने भ्रम पालेका थिए । तर, वास्तवमा सबै शक्ति र पक्ष तिमी तिम्रो तरिकाले बढ, हामी हाम्रो तरिकाले बढ्छौँ भन्दै बढे ।

      माओवादीमा पैदा भएको युद्धको ह्याङ्ओभर, जडसोच, आफ्नै निर्णयको बन्दी बन्दा उसले कतिपय प्रत्युत्पादक निर्णय पनि लियो । राजनीतिलाई सांस्कृतिकीकरण र वैचारिकीकरण गर्न नसक्दा महत्वाकांक्षालाई समयमै व्यवस्थापन गर्न नसक्दा, आन्दोलनले पैदा गरेका आवेग मत्थर हुँदै जाँदा प्रतिपक्षले खेल्ने नकारात्मक भूमिका खुट्याउन सकेन । महत्वाकांक्षा आफैँभित्र भष्मासुर, शकुनी र धुन्धुकारी चरित्र बनेर आन्तरिक र बाह््य मनोयुद्धको चक्रव्यूहमा फसेको पत्तै पाएन । ओहो ! आफ्ना आदर्शको आफैँँ सिकारी वा मलामी । कस्तो बीभत्सता १ कैयौँ नेता र कार्यकर्ता दुस्मन वा विरोधीको स्वयंसेवीमा फेरिए । सत्ताचरित्रमा फेरबदल गर्ने र नगर्नेबीचको टकराहट झन् बढ्यो । सहमतीय राजनीतिका खेलाडीले शान्ति अभ्यासलाई सकारात्मक दिशा दिन सकेनन् ।

      क्रान्ति र परिवर्तन एकाध शूरवीर र योद्धा या कविता मात्रै होइन भन्ने यो अवधि र अभ्यासले देखायो । प्रतिकूलताका रमिते, तमासेलाई पनि यथोचित सम्मान दियो । आदर्शवान् पनि गतिशीलता पछ्याउन नसक्दा समय–सार्थक बनाउन सक्दारहेनछन् । क्षमतावानमा जागेको महत्वाकांक्षा आन्दोलन बन्छ भने अक्षमताको महत्वाकांक्षा कुण्ठा र मनोरोगमा फेरिँदोरहेछ । समाज यथास्थितिमा रहन सक्दैन, सपना तुहिँदैनन्, दुनियाँमा आन्दोलनले धक्का खान सक्छ, तर आन्दोलनको अन्त्य कहिल्यै हुँदैन, विद्रोही जन्माउने कोख कहिल्यै बाँझो हुँदैन ।

      मान्छेको निष्ठा थाहा पाउन ज्यादै गाह्रो विषय रहेछ । मान्छेभित्र एकैपटक धेरै मान्छे सक्रिय हुँदारहेछन् । तत्कालीन र विकसित घटनाक्रमले ऊ अत्यन्तै प्रभावित हुँदोरहेछ । आखिर मूल्यरहित निष्ठाको अर्थ कहाँ र के पो छ र ! वीरहरू कायरमा फेरिने, आदर्श त्यागीहरू पनि निजी, स्वार्थी र परिवारवादीमा फेरिनु आश्चर्यका विषय बन्दा रहेनछन् । फेर्न गएका स्वयं फेरिनु, जसका विरूद्ध जीवन अर्पेको थियो, उसैको दास बन्नु त्यो त एक महाठट्टा बन्दोरहेछ ।

      नक्सलले पैदा गरेको भाइब्रेट र चे ग्वेभाराले खुसुक्क दिमागमा घुसारिदिएका सपनाले उमारेका भावमय तरंगलाई निरन्तरता दिन किन, कहाँ र कसरी चुक्यौँ ? कसैलाई दोष दिएर पानीमाथिको ओभानु बन्न चाहन्नँ । स्वप्नमय यात्राको पहलो कदम चाल्दाको क्षणजस्तै बनिरहन किन सकिएन ? कसैसँग गुनासो गर्दिनँ । क्रान्तिको क्षतिपूर्ति र इतिहासको ब्याज पनि खोज्दिनँ । न त्यसलाई भ¥याङ बनाएर औकातको विज्ञापन गर्छु न कसैलाई उराल्ने पछार्ने र हुर्मत काढ्ने प्रयत्न नै गर्छु । बरु भन्नुपर्छ– किन हामी आफ्नै बोझले गल्यौँ ? किन ती आदर्श र सपना बोझ बने ? किन हाम्रो पुस्ता यदुवंशीमा फेरियो ? लालावालाको बिजोग, सरापेका सहयात्रीजनका आत्मा, खित्काइरहेको प्रतिगमन, मुस्कुराइरहेका दुस्मन पंक्ति ।।। किन यस्तो भो ! मान्छेको बगेको रगत भेरीका पानीभन्दा सस्तो भयो । जनयुद्ध लड्ने पार्टी कसैको आमाको पेवा र बाउको अंश थिएन, जनयोद्धाहरू कुनै कुलीन, गर्भे जर्नेल थिएनन् । स्टाफकोर्स गरेका थिएनन् । किन मेरो पंक्ति फागुने संक्रान्तिको मर्मको हकवाला बन्न अहिले हिचकिचाउँछ, गर्व गर्न चुक्छ ! किन र फेरि पनि किनको प्रश्नले टोकिरहन्छ । उपभोक्तावादी संस्कृति अहिले जिस्क्याइरहन्छ ।। किन, किन र फेरि पनि किन !

      महासमर यात्रामा हेलिँदा कसैले दरखास्त मागेको थिएन । कसैले अपहरण गरेको थिएन । कसैले लोभ्याएर तलबी कारिन्दाको लोकसेवा परीक्षा लिएको पनि थिएन । पक्कै मानवीय सपनाले ‘बौलाहा’ बनाएको थियो । भावनात्मक, आदर्श, यथार्थ, पीडा र सपना जोडिएका थिए । यदि सपना भंग भयो र त्यसमाथि सिकार खेलियो र दुर्घटना भयो भने के हुन्छ १ जनयुद्ध के एउटा सानो समूहको लहड थियो ? सपना, आन्दोलन र परिवर्तनका वेगहरू कहिल्यै पनि सूत्रमा हाँकिँदैनन् । घुम्ती वेग महाविपत्ति भएरै अघि बढ्छन् ।

      अन्त्यमा, सिद्धान्तको सामूहिक आत्महत्याको महामारी नवउदारवादको मानवजातिमाथिको सबभन्दा खतरनाक मानसिक आक्रमण हो । राजनीति त्यसको प्रथम सिकार भयो । स्वत्वका टकराहट र महत्वाकांक्षाको व्यस्थापन गर्न चुक्दा संगठनमा अस्त–व्यस्तता र राजनीतिक संस्कृति स्खलित हुँदै गए । नेतृत्वको हैसियत चिन्न उसका दुस्मन, विरोधी र संगत कस्तासँग छ भनेर नियाल्नुपर्छ । अनुहार हेर्ने ऐना त पाइन्छ, तर दिल र दिमाग छर्लंग देखिने ऐना पाइन्न । । झुक्नु त सुसंस्कृत हुनु हो, तर आत्मसम्मान गुमाएर झुक्नु भनेको जिउँदै मर्नु समान हुन्छ । अहंकारीहरूको समस्या भनेकै आफ्नो कमजोरी नदेख्नु र अर्काको राम्रा पक्ष देख्न नसक्नु हो ।

      स्वार्थका ग्रन्थी रसाएपछि आदर्श छुमन्तर भएर अल्पिन्छन् भने अरूलाई जबसम्म भ्रष्ट पार्न सकिँदैन तबसम्म आफ्नो भ्रष्टताको औचित्य साबित गर्न सकिँदैन । विद्रोेही आदर्शको पुँजीकरण नहुँदा माओवादीले जनयुद्ध छिचोले पनि मनोयुद्ध छिचोल्न सकेन । वर्गसंघर्ष अति निर्मम हुन्छ । शान्तियुद्धमा शासक वर्गले कलामय बीभत्सतापूर्ण खेल खेल्छ । पुँजी, प्रविधि, कला र मिडियाको लगनगाँठो कसिएपछि सामूहिक विवेकमाथि नियन्त्रण गरिन्छ ।

      विचारहीन राजनीतिक अभ्यासले गम्भीर कुरा सोच्न वा कार्य, कारण र परिणाम खोतल्न दिँदैन । महत्वाकांक्षा, असन्तोष र आग्रह फैलाएर मूल कुरालाई अन्यन्त्र मोडिन्छ । समाज फेर्न गएकाहरू आफैँ फेरिएर वर्ग रूपान्तरण हुन्छन् । व्यवहार जहिले पनि दृष्टिकोण र नीतिको अधीनस्थ हुन्छ । आँखा, नजर र दृष्टि फरक हुन् । नजर लगाएर आभामण्डलबाट मुक्त भए मात्र पाल्सी कुरा छर्लंग देखिन्छन् । भूमिका संकेत बनेर सन्देशमा फेरिइरहेको हुन्छ । आदर्श कविता त बन्छ, जीवन बन्न सक्दैन । पवित्र चाहना र प्रतिक्रियाका उपज, आस र त्रासले भक्तिमार्गका उत्तम कार्यकर्ता निर्माण त गर्न सक्छ तर राजनीति, पार्टीलाई सामाजिकीकरण गर्ने अवस्थामा भने प¥ुयाउँदैन । भ्रममा बाँच्नु पनि सुखी जीवन हो । आधुनिकता र प्रगतिशीलता वर्चश्वशालीलाई सुन्दर पोसाक बनेर सुविधा र स्वार्थअनुसार लगाउने र फुकाल्ने हुँदोरहेछ । वैचारिक आवरण र तर्कका आधारमा जनयुद्धकै हकवाला साबित गर्न लाल–जडौरी लगाउने सुविधा पाउँदो रहेछ । तर, मूल स्वभाव बन्दो रहेनछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्