देशमा छ लाख महिला बढी भएर पनि बिहे गरिनस् भन्दै बाबुआमाबाट पुरै दबाव छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या ६ लाखले बढी भएको तर जनसङ्ख्या वृद्धिदर घटेको देखायो । यस विषयमा बीबीसीले सामाजिक सञ्जालहरूमार्फत् सर्वसाधारण मानिसको धारणा जान्न खोज्दा प्रकाश ओलीले ठट्यौलो पारामा माथिको प्रतिक्रिया लेखे । उनले जसरी नै सुरज शिवाले लेखेका छन् ‘ल खुसी लाग्यो अब विवाह गर्न केटीको अभाव नहुने भयो’ । अनीशा सुवेदीलाई चाहिँ लैङ्गिक समानताको अवधारणाले गर्दा महिलाहरूको जनसङ्ख्या क्रमशः बढ्दै जानु सकारात्मक लागेको छ । कसैले महिलाको सङ्ख्या बढी देखिनुलाई पुरुषहरू विदेशिनुसँग जोडेर व्याख्या गरेका छन् भने कसैले लिङ्ग पहिचान गरी हुने गर्भपतन कम हुनुलाई कारण मानेका छन्।् ।न्यून सङ्ख्यामा रहेका तेस्रो लिङ्गीबारे जनगणनाको प्रारम्भिक विवरणमा केही खुलाइएको छैन ।
के पहिलो पटक पुरुषको दाँजोमा महिला बढी देखिएका हुन् त ?
एक दशकमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । विगत १० वर्षको वृद्धिदर ० .९३५ देखिएको छ । यो अघिल्लो जनगणनाको तुलनामा कम हो ।विसं २०६८ मा गरिएको जनगणनामा उक्त दर १.३५५ प्रतिशत थियो । यस पटक कुल जनसङ्ख्यामा ४८.९६ प्रतिशत पुरुष छन् भने र ५१.०४ प्रतिशत महिला । महिलाको सङ्ख्या बढी भएको यो पहिलो पटक होइन भन्ने कुरा विगतका तथ्याङ्कहरूले पनि पुष्टि गर्छन् । दश वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये ४८.५ प्रतिशत पुरुष थिए भने महिला ५१.५५ थिए । हालको प्रारम्भिक नतिजाअनुसार लैङ्गिक अनुपात ९प्रति १०० महिलाको तुलनामा पुरुषको सङ्ख्या० ९५ ।९१ रहेको छ जुन पछिल्लो जनगणनामा ९४ ।१६ थियातथ्याङ्क विभागले जनाएको छ । त्यस्तै २०५८ र २०४८ सालमा भएको जनगणनामा प्रति १०० महिलामा पुरुषको अनुपात क्रमशः ९९.८ र ९९.५ रहेको थियो । विसं २०३८ र २०२८ मा भने १०५.० र १०१ .४ रहेको तथ्याङ्क छ । विगत २० वर्षदेखि महिलाको जनसङ्ख्या तुलनात्मक रूपमा बढ्न थालेको जनसङ्ख्याविद् डा. योगेन्द्रबहादुर गुरुङले बताए । ‘पछिल्ला केही जनगणनाहरूदेखि नै महिलाहरूको सङ्ख्या बढी देखिएको छ । तर लैङ्गिक अनुपातमा सामाजिक समस्या सिर्जना हुनेगरी ठूलो अन्तर देखिँदैन,’ डा. गुरुङले भने ।
महिलाको संख्या बढ्नुको कारण के हो ?
कुनै पनि समाजको सामाजिक तथा आर्थिक अवस्था, जैविक कारण र मानवीय गतिविधिहरूले महिलाको सङ्ख्या बढ्ने क्रम प्रभावित हुने विज्ञहरू बताउँछन् ।समाज जति उन्नत बन्दै गयो लैङ्गिक विभेदको खाडल कम हुँदै जान्छ र हरेक लिङ्गका मानिसमा समान अधिकार र पहुँच कायम हुन्छ । समान अधिकार र पहुँचले मानिसको सङ्ख्यामा प्रभाव पार्ने डा.गुरुङको तर्क छ । विकासले विभेदको ठाउँ साँघुरो बनाउँदै लैजान्छ । त्यसले गर्दा महिला, पुरुष वा सबै लिङ्गका मानिसमा पोषण, शिक्षा, स्वास्थ्य र अन्य कुराहरूको हकमा समान पहुँच पाउँछन् । त्यस पहुँचको असर मानिसको शारीरिक र मानसिक स्वास्थ्यदेखि ऊ कति समय बाँच्छ भन्नेमा पर्छ । महिलाहरूको औसत आयु पुरुषहरूको भन्दा लामो हुनुलाई महिलाको सङ्ख्या बढी हुनुको एक कारण इङ्गित गर्छन् जनसङ्ख्याविद् गुरुङ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो ।
किन लामो समय बाँच्छन् महिला ?
महिलाको जीन, होर्मोन, पेसा र आचरणका कारण पनि औसत आयु लामो हुने जनाइएको छ । डा. गुरुङले सैद्धान्तिक लिङ्ग अनुपातबारे भनेः एक सय जना छोरी जन्मिँदा १०५ जना छोरा जन्मिन्छन् । छोराको जन्मदर धेरै भए पनि महिला धेरै बाँच्छन् । जब छोरीले छोरासरह खाना, स्याहारसुसार पाउँछन् तब स्वस्थ हिसाबमा हुर्किने मौका पाउँछन् । समयक्रममा विभिन्न जोखिमका कारकहरू देखिन थाल्छन् । डा. गुरुङका अनुसार महिलाको तुलनामा पुरुषहरू बढी शारीरिक दबाव पर्ने काम गर्ने, चुनौतीपूर्ण गतिविधिमा संलग्न हुने, मादकपदार्थ, लागुऔषधि सेवन गर्ने भएकाले उनीहरूको औसत उमेर कम हुन्छ । विकास उन्मुख देशहरूमा पुरुषको तुलनामा महिलाको औसत आयु डेढदेखि दुई वर्ष बढी छ भने विकसित देशहरूमा पाँच वर्षसम्म महिला बढी बाँच्ने बताइन्छ । ‘त्यसैले नेपालमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिनु स्वाभाविक कुरा हो । प्राकृतिक, जैविक साथै आर्थिक विकासको प्रभाव मानिनु पर्छ,’ उनले भने ।
अनुपस्थित जनसंख्या अर्को कारण
यस वर्षको जनगणनामा विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजारभन्दा बढी देखिएको छ । तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले उक्त सङ्ख्या नेपालमा रहेका परिवारले दिएको जानकारीमा आधारित भएको बताए । उनले बीबीसीसँग भने,‘पूरै परिवार विदेशमा भएकाहरूको गन्ती भएको छैन ।’ यसको अर्थ हुन्छ ( देशमा अनुपस्थित जनसङ्ख्या तथ्याङ्कमाभन्दा अझै बढी भएको सम्भावना छ । विदेशिएका मानिसमध्ये ठूलो सङ्ख्या पुरुषको रहेको डा ।गुरुङको आकलन छ । ‘विदेशमा रहेका पुरुष जनशक्ति अनुपस्थित कहलिए । घरमा रहेका महिलाहरू त गनिए । यो पनि महिलाको सङ्ख्या केही बढी देखिनुको कारण हो ।’
सीमित सन्तान र गर्भपतनको जनसङ्ख्या वृद्धिदरमा असर
नेपालमा गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मिन सक्ने सम्भावना भएमा महिलाको मन्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था रहेको छ । केही जानकारहरू यस व्यवस्थाका कारण छोरीको जन्मदर बढेको हुनसक्ने बताउँछन् । अधिवक्ता उषा मल्ल पाठक कानुन कार्यान्वयन भएकै कारण छोरीलाई कोखमै पतन गर्ने प्रवृत्ति कम हुँदै गएको धारणा राख्छिन् । ‘पितृसत्तात्मक सामाजिक र सांस्कृतिक संरचनाका कारण केही स्थानमा महिलाहरू अझै दबावमा छन् । तर कोखमा रहेको शिशुको लिङ्ग पहिचान गैरकानुनी भएकै कारण भ्रुणहत्यामा कमी आएको अनुमान गर्न चाहिँ सकिन्छ,’ उनले भनिन् । यद्यपि उक्त व्यवस्थाले गैरकानुनी रूपमा लिङ्गको पहिचान गरी भ्रुण हत्या गर्ने गतिविधि प्रोत्साहित गरेको जनसङ्ख्याविद्को ठहर छ । त्यस्तै सीमित सन्तान (विशेषतः दुई) जन्माउन प्रेरित गर्नुले पनि प्रभाव पारेको हुनसक्ने उनीहरूको अनुमान छ । तर यस सम्बन्धमा थप अनुसन्धान आवश्यक भएको उनीहरूको ठम्याइ छ । अर्की अधिवक्ता मीरा ढुङ्गाना भने गर्भपतन गर्न पाउने हदम्याद बढेपछि कतिपय अवस्थामा महिलाहरूलाई शिशुको लिङ्ग पहिचान गरी गर्भपतन गराउन बाध्य पारिएको बताउँछिन् । ‘समाजले परिवारलाई र परिवारले महिलालाई दबाव दिन्छन् । कानुन सशक्त नबन्दा महिलाहरू हिंसामा परिरहेका छन् । गर्भपतनको गैर कानुनी अभ्यासको निगरानी र नियन्त्रण आवश्यक छ,’ उनले भनिन् ।
अहिले जन्मिने छोरा र छोरीको सङ्ख्या कस्तो ?
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठ भने पछिल्ला वर्षहरूमा जन्म सङ्ख्याका आधारमा महिला र पुरुषको सङ्ख्या धेरै वा थोरै हुनुमा असर नपरेको विचार अघि सार्छन् । अस्पतालको तथ्याङ्कअनुसार त्यहाँ आर्थिक वर्ष २०७५र०७६ मा ११,९४६ जना छोरा जन्मिएका थिए भने १०,४१६ छोरी जन्मिए । त्यस्तै वर्ष २०७७र७८ मा गत सातासम्म जन्मिएका २२,२२२ शिशुमध्ये ११,७७८ अर्थात ५३ प्रतिशत पुरुष शिशु रहेका छन् । त्यस्तै ४७ प्रतिशत १०,४ ४४ महिला शिशु छन् । ‘यो ठूलो अन्तर होइन । त्यसैले लिङ्ग पहिचान गरेर छोरी तुहाउने क्रम बढेको छ भन्ने मिल्दैन,’डा.श्रेष्ठले भने । चालु आर्थिक वर्षमा उक्त अस्पतालमा मात्र १५,०५६ वटा गर्भपतन भएका छन् । ‘अनधिकृत रूपमा औषधि र औजारको प्रयोगबाट गर्भपतन गराउने काम हुन्छन् । त्यस्ता गतिविधि नियन्त्रण गर्न सके हाल गैर कानुनी रूपमा भइरहेको बच्चाको लिङ्ग पहिचान र गर्भपतन रोक्न सकिन्छ,’ डा .श्रेष्ठले भने ।
देशमा महिला धेरै हुनुको अर्थ के हो?
जनसङ्ख्या वृद्धिदर घट्नेभन्दा बढी हुनुले समाजका हरेक क्षेत्रमा महिला र पुरुषको बराबर सहभागिता र पहुँचले समाज विकासशील भएको सङ्केत गर्ने बताउँछन् समाजशास्त्री डा. तुलसीराम पाण्डे । समाजमा कुन लिङ्गका मानिस धेरै हुँदा कस्ता लाभ वा हानि हुन्छन् भन्नेबारे ठोस उत्तर नहुने उनको तर्क छ । ‘समानता र समताका आधारमा चल्ने समाजलाई धेरै फाइदा छ । तर हाम्रो देशमा दशकौँदेखि पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै हुँदा पनि आवश्यक बराबरी कायम हुन सकेको छैन,’उनले भने । शिक्षामा असमान पहुँचका कारण लैङ्गिक विभेदको खाडल ठूलो बनेको छ । त्यसैले सङ्ख्यात्मक हिसाबमा महिला बढी हुनुभन्दा ठूलो महत््व उनीहरूको सीप विकास र अवसर प्रदान गर्नुमा हुने उनको तर्क हो । ‘क्रमिक रूपमा महिलाहरूको पनि शिक्षामा पहुँच बढ्दो छ । तर अझै पनि पुरुषको हाराहारीमा र्पुयाउन सकिएको छैन । सीप र शिक्षामा पछाडि छुट्दा महिलाहरूलाई सार्वजनिक काममा पछि परेर घरकै काममा सीमित रहनुपर्ने परिस्थिति विकास हुन्छ । त्यो क्रम भङ्ग गरिनु पर्छ,’उनले भने । केही देशमा महिला वा पुरुषको अनुपात असन्तुलित भएका कारण वैवाहिक संस्था प्रभावित भएका विवरणहरू समेत सार्वजनिक भएका छन् । तर नेपालमा त्यो अवस्था नआइसकेको पाण्डेको दाबी छ । जनसङ्ख्याविद्ले भने महिलाको सङ्ख्या धेरै हुनुको अर्थ ‘पाको उमेरको महिला धेरै छन्’ भन्ने सङ्केत भएको जिकिर गरे ।
बीबीसी न्यूज नेपाली
