अगुवाले हिँडेको गोरेटो कालान्तरमा मूलबाटोमा फेरिन्छ । तर अहिले महाधिवेशनको रमिता र तमासा चल्दै गर्दा पार्टीहरूलाई भने त्यो लागू भइरहेको छैन । आवेगी यात्रामा सिद्धान्त, इतिहास, अभ्यास, बहस र प्रतिस्पर्धाको आवश्यकता पर्दैन । इतिहास कसैले वास्ता गर्दैन भने पनि इतिहासले हरेकलाई सधैँ सम्झने गर्छ । घटनाको साक्षी बन्न सकिएला, नयाँ सन्दर्भमा इतिहासको आग्रहअनुसार व्यवस्थापन पनि गर्न खोजिएला, क्रान्तिका राप र ताप सेलाउँदै जाँदा कुण्ठित सोचले बदला लिन पनि खोजिएला तर बगेको नदी बनेका इतिहास फेरि कहिल्यै दोहोरिँदैनन् । पार्टी सहज र सरल तरिकाले बनेका थिएनन् । सामाजिक परिवर्तनमा राजनीतिक हस्तक्षेपको सम्बन्ध सहजै भएको थिएन । सदस्यता पाउन मुस्किल थियो । सांस्कृतिक हस्तक्षेपले राजनीतिको सामाजिकीकरण भएर मात्रै पार्टी, पार्टी बनेका थिए ।
प्रथम प्रहरका कम्युनिस्टले सदस्यता ग्रहण गर्दा धार्मिक आस्था हटाउन (बाहुन–क्षेत्रीले हलो जोत्ने, आफ्ना टुप्पी काट्ने, जनै छिनाल्ने, कुखुराको फुल खाने, अलिकता झम्केझोल सिरिप्प पनि पार्थे ।) दलितसँगै भान्सा गर्नुपर्ने, सदस्यता फाराममा रगतको छाप लगाइनुपथ्र्यो । परीक्षणकाल काटेका प्रस्तावक र सिफरिसकर्ता भएपछि मात्र उपल्लो कमिटी, नेतृत्वद्वारा सदस्यता दिइन्थ्यो । सांस्कृतिक रूपमै नफेरिई हुने राजनीतिक भूमिकाको अर्थ रहँदैन भन्ने मान्यता थियो । परीक्षणकाल वर्ग, विश्व दृष्टिकोण, आन्दोलनप्रति समर्पण, सिद्धान्तअनुसारको आचरण हुनुपथ्र्यो । अब भने आमपार्टी र कार्यकर्तामा आधारित पार्टीबीच केही फरक भएन । जोसुकैको पृष्ठभूमि जे भए पनि नेतृत्वले चाहेपछि सडकबाट एकै पटक केन्द्रमा पु–याइँदै दागीको पनि पार्टी धोबीघाट बन्यो ।
ट्रेडमार्कमा सङ्गठन
जुन आधारमा पार्टी निर्माण भएका थिए, अब भने मौलिक चरित्र गुमाएर ट्रेडमार्कमा मात्र सीमित भए । जुन उद्देश्य, अभ्यास, आन्दोलन र जोखिम उठाएर इतिहासको सँघार छिचोलेका थिए, त्यही इतिहास अहिले घाँडो बन्यो । जब पार्टी मौलिक चरित्र नरहेर भीडलाई जनता, जनतालाई कार्यकर्तामा फेर्न सक्दैन, तब पुरानै नाम साइनबोर्डमा राख्नु पछाडि इतिहास छोड्न पनि नसक्नु, समात्न पनि नसक्नु हो । सबै विषयको केन्द्र चुनाव र सत्तायात्रा बनेपछि आवेग भर्न सिद्धान्तका सिपाही बनाउनुभन्दा बहुमत नामक भीड जे सोच्छ, रोज्छ त्यहीअनुसार बरु पार्टी नै फेर्न नेतृत्वलाई सहज हुँदै गयो ।अहिले सामाजिक चिन्तन र अभियानलाई सिद्धान्तको राजनीति, सुविधाको राजनीतिमा फेरिँदा पार्टीहरूले भीड बनेर इच्छाशक्ति र आदर्श देखाउन सकेनन् । आक्रोश, गाली, ठट्टा नै कार्यकर्तालाई ऊर्जा बनाउन थालियो ।
किन पार्टीमा लाग्ने ?
राजनीतिमा किन लाग्ने (?) भन्ने प्रश्न अहं हो । अहिले राजनीतिक शब्दका अर्थ, मर्म र सन्देश फेरिए । कुरूप समाज, घृणित व्यवस्था र अवस्थालाई फेर्न सचेत मानवीय प्रयासका जागृत–मस्तिष्क राजनीतिमा लाग्थे, तब केही अगुवा योग्यता, क्षमता, दक्षता र कलाका कारण नेतृत्वमा फेरिन्थे । नेतृत्व आन्दोलनले पैदा गर्छ । उसले सामाजिक अपिल गर्ने र समूहलाई जोखिम उठाउन सक्ने हैसियतको विकास गर्छ । जब एकाध मान्छेले देखेका र देखाइएका सपना समाजले एकै पटक देख्न थाल्छ, तब त्यो सामूहिक शक्ति पार्टी बन्दै विद्रोह र क्रान्तिमा फेरिन्छ । राजनीति नै सबै नीतिको मूलनीति हो भन्ने मान्यता कार्यकर्तामा रहन्छ । ती प्रतिकूलका आदर्श अनुकूलतामा धान्न भने मुस्किल पर्दोरहेछ । तब चरित्र, सपना, मूल्य र मान्यताको मलामी धेरै जान्छन् र केही जोगिएका पनि निराश बन्छन् ।
अहिले सबै पार्टी समान भए । त्यसैले पार्टी फेर्नु र रहिरहनुमा केही फरक परेन । बाजा बजाइदिनुपर्छ, जुनसुकै मैदानमा पनि मदारीले जोसुकैलाई नचाउन सक्छ । हैसियतको कारोबार र भूमिकामा ओझेल पर्ने, पद गुम्ने वा अवसर वञ्चित हुनेबित्तिकै ‘वल्लोघरका नरे, पल्लो घरमा सरे’झै हुने सुविधा भयो । तब आगन्तुक र नवआगन्तुक जैविक कार्यकर्तासामु ‘हाइब्रिड’ कारिन्दामा दरिन्छन् । उनीहरू पहिलाको पार्टी र नेतृत्व खुइल्याउन र मार हान्न तुरूपझैँ प्रयोग हुन्छन् तर युद्ध सकिनेबित्तिकै हतियारको काम सकिन्छ । हतियारको मालिक कोही हुँदैन्, चलाउने मात्र हुन्छ । तत्कालका लागि खहरेझैँ गडगडाए पनि ‘हाइब्रिड’ कार्यकर्ता मूलशक्तिले दिए खाने, नदिए थुक घुटघुट निल्ने अवस्थामा पुगेर माग्ने वा असहमति जनाउने हैसियत भने राख्दैनन् । जैविक कार्यकर्ताले भाग खोस्न आएका भनिएर गरिएका व्यङ्ग्य र चुनौतीसँग जुध्ने नैतिक पँुजी उनीहरूसँग हुँदैन । हरेक दलका ‘हाइब्रिड’ कार्यकर्ता जैविक कार्यकर्ताको स्थान ओगट्न नयाँ राजनीतिक स्वामीको भक्ति र पुरानो थलोको सकेजति उछित्तो काढेर योग्यतासिद्ध गर्नुपर्छ । तर मूल नेतृत्वले हेक्का राख्ने भनेको जसले दशकौँ रहेका आफन्तलाई त धोका दिन्छ भने नयाँ ठाउँमा कसरी इमानदार रहला भन्नेमा विश्वस्त हुँदैन । उसले पूर्ववर्ती थलोप्रति ठूलो गद्दारीको परीक्षा दिएर मात्र उनीहरू नयाँ भूमिकामा विश्वास आर्जन गर्न सक्छन् ।
मोहभङ्गको परिणाम
राजनीति व्यवसाय बनेपछि सत्ताचरित्र र नयाँ अभ्यासका नेतृत्वको व्यवहार, भूमिका, संस्कृति र संस्कार देखेर जैविक कार्यकर्ता मात्रै नभई युवापिँढी पनि निराश हुँदै राजनीतिलाई नै घृणा गर्न थालेका छन् । पार्टीहरू राजनीतिका नाममा या त भक्त उत्पादन गर्दैछन्, या लठैत । आलोचनात्मक चेत र इतिहासको मर्मलाई पछ्याउँदै अघि बढेका छैनन् । उखान, ठट्टा, गाली, तथ्यहीन तर्कले नेतृत्व बस्त्रहीन हुँदै गएको छ । सबै विषयको केन्द्र र समस्याको जड त राजनीति नै हो । जीवनका लक्ष्य र सुन्दरता तीव्र गतिमा फेरिँदैछन् र युगलाई बजारले नेतृत्व गर्दैछ । खुसी बेचेर सुख खोज्ने मानसिकता विकास भइरहेको छ । युवाशक्ति रोजगारीका लागि हैसियतअनुसारको देशमा विदेशिने वा जान चाहन्छन् । गम्भीर विषयमा पनि कुण्ठा व्यक्तिने एउटा फेसबुके समाज निर्माण भइरहेको छ । राजनीतिप्रति उदासीन त्यो तप्का नै आदर्शहीन र सिद्धान्तहीन समूहलाई सत्ता सुम्पिरहेको छ । राम्रा मान्छेले सरोकार नराख्दा त्यो खाली ठाउँ असक्षम, अपराधीले भरिने नै भयो । यो अशुभ सङ्केत र सन्देश हो । भनिन्छ, महान मान्छे विचारमा बहस गर्छन्, सामान्य मान्छे घटनामा बहस गर्छन्, तल्लोस्तरको मान्छे व्यक्ति, व्यक्तिमा बहस गर्छन् । कुन रोज्ने भन्ने त व्यक्ति विशेषका कुरा हुन् ।
