नेपाली जनताले उत्साहसाथ परिवर्तनका खातिर दिलोज्यान दिए । तर अब उनीहरू नै आफैले ल्याएको परिवर्तनले आफ्ना सपना पूरा नहुनेमा विश्वस्त हुँदै छन् गएका । बढ्दो गतिहीनता, भ्रष्टाचार, वर्गीय असमानता, धर्म र संस्कृतिको पतन केही त्यस्ता उदाहरण हुन्, जो हाम्रो समाजमा धेरै नै देखिन्छन् । यी सबैको मुख्य कारण गन्तव्यहीन राजनैतिक सङ्घर्ष नै हो । यिनै हुन्, नेपाली जनजीवनका खतरानक वास्तविकता । सरकारले चलाएका कलकारखाना बन्द छन् । आर्थिक वृद्धि ढिलो छ । असमानता बढ्दो छ । निर्यातभन्दा आयात दिन–प्रतिदिन बढ्दै छ । मन्दिर भत्किएका छन् भने नयाँ चर्च दिनानुदिन थपिँदै छन् । धर्म निरपेक्षताको नारा लिएर भ्रम फैलाउने काम भइरहेको छ, जसले सांस्कृतिक पाटोलाई ओझेलमा पारेको छ । हरेक राजनैतिक निर्णयले समाजलाई विभाजन गर्दै छ ।
हामी, नेताहरूको कुरा सुनिरहेका छौँ । जे भइरहेको छ त्यसको समाधान छ तर समाधान समस्याको माग हो भन्दै समाधान प्रस्ताव गर्दैमा समस्याको समाधान हुँदैन । खस्कँदै गएको लोकतन्त्रलाई बचाउनका खातिर हामी हाम्रो समाजलाई नष्ट गर्न पनि त सक्दैनौँ । लोकतान्त्रिक राजनीतिमा नैतिकताको खडेरी परेको छ । त्यही खडेरीमा अन्न बेच्नेहरू लोकतान्त्रिक जीवन बाँचिरहेका छन् र फाइदा उठाइरहेछन् खडेरीको, ताकि व्यापार फस्टाउँदै जाओस् । जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरु दिन–प्रतिदिन गहिरिँदै छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित भएका छन् । भ्रष्टाचारले गर्दा देशको चरम दुरावस्था छ । राजनीतिकर्मीहरू समाजका विचारकर्ता, प्रारम्भकर्ता, परेको बेला आलोचक, समाजका सेवक र समाधान प्रदायक हुनुपर्ने हो तर यहाँ राजनीतिकर्मीहरू केवल निजी स्वार्थका कैदीबाहेक अरू केही हुन सकेका छैनन् ।
हाम्रो प्रजातान्त्रिक इतिहासमा नौलो पाना कहिल्यै थपिएन । विभिन्न कालखण्डमा कसैले चुनाव जिते कसैले हारे, नियम कानुन बनाए, त्यसलाई परिवर्तन गरे, नयाँ आशा लाग्दा नेता आए र गए, चारचोटि संविधान बन्यो तर समाज जहाँको त्यहीँ रह्यो । आखिर समाज भनेको व्यक्ति व्यक्तिबिचको सम्बन्ध नै त हो । जब यी सम्बन्धमा नैतिकताको अभाव, क्रूरता, महत्त्वाकाङ्क्षा हुन्छ तब यिनै कुराहरूलाई समाजले प्रतिबिम्बित गर्ने गर्दछ । यो प्रतिबिम्ब हाम्रो समाजमा सामाजिक सङ्गठनलाई राजनीतिक रङ्ग दिएर गरिएको दुरुपयोगको परिणाम हो ।मौलिक प्रश्नहरूको जवाफ हरेक राजनीतिककर्मीका लागि वास्तविकतासँग सम्बन्धित हुनुपर्छ । हामीकहाँ वास्तविकतालाई आफ्नो राजनैतिक विचारका आधारमा विभिन्न तरिकामा व्यक्त गरिन्छ । त्यसले आम नागरिकहरू लामो समयदेखि राजनीति र राजनीतिकर्मीसँग असन्तुष्ट हुँदै आएका छन् । देशलाई बाहिरी तत्त्वबाट भन्दा बढी देशभित्रै रहेका निहित स्वार्थ भएकाहरूबाट बचाउने बेला आएको छ । देश रहे प्रजातन्त्र, गणतन्त्र रहन्छ । देश नै रहेन भने यिनको के काम ?
लोकतान्त्रिक सरकारको आधारभूत सिद्धान्त भनेको कानुनको शासन, व्यक्तिगत स्वतन्त्रता र नागरिकको सम्मान हो । दमनका विरुद्ध बोल्ने लोकतान्त्रिक अधिकार मात्र नभएर नागरिक कर्तव्य र दायित्व पनि हो । नेपाल अहिले यस्तो परिस्थितिमा पुगेको छ जहाँ लोकतान्त्रिक मूल्य र मानव अधिकारलाई व्यावहारिक रूपमा बेवास्ता गरिएको छ । लोकतान्त्रिक मान्यताबाट टाढा गएका कारणले बिस्तारै निर्वाचित नेताहरूलाई जनताले अस्वीकार गर्न थालेका छन् । कतै देशको भविष्य र लोकतान्त्रिक अधिकारका लागि जनताले पुनस् लड्नुपर्ने स्थिति नआउला भन्न सकिन्न ।
२०४६ पछि ३१ वर्षको प्रजातान्त्रिक अभ्यासमा नेपाली जनताले केवल छलकपट मात्र भोगेका छन् । पद र पैसाका लागि नेपाल यति धरै राजनैतिक प्रयोग भयो जुन अरू मुलुकमा बिरलै हुने गर्छ हाम्रो समाजमा आज भ्रष्टाचार राजनीतिको एउटा महत्त्वपूर्ण औजार भएको छ। संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । देशको विकास र समृद्धि हेर्न कतै जानु पर्दैन। जब जनतालाई काठमाडौँ बाट नौबिसे पुग्न ५ घण्टा लाग्छ तब विकास र समृद्धि त्यहीँ देखिन्छ । जसले जे भाषण गरे पनि गरिबको मुखमा रासन पुग्ने छैन। यहाँ रासन शासन गर्ने लागि मात्रै हो। ३१ वर्षको विभिन्न सरकार र ७ वटा संविधानले जनतालाई सास्ती भन्दा अरू केही दिएको छैन । जनता लाई लुटिन , शोषित हूने , दुख पाउने बानी परेको छ।यहाँ सरकार होइन सङ्घर्ष छ। यहाँ शासन होइन सास्ती छ। विकास होइन विनाश छ। समृद्धि होइन दुर्गति छ । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन । लोकतन्त्रको स्थायित्वका लागि समय लाग्छ ।
वास्तविक शत्रुको पहिचान गरेर त्यसका विरुद्ध एकजुट भएर लड्नुको सट्टा एक आपसमा लड्दै मिल्दै अधिकांश समय र ऊर्जा खर्च गरेर सत्तामा बसिरहुनुबाहेक राजनीतिककर्मीको अरू काम देखिएन ।आर्थिक विकास र त्यसको निरन्तरता नै हाम्रो समाजको महत्त्वपूर्ण मुद्दा हुनुपर्ने हो तर कतै व्यावहारिक नभएको राजनैतिक विचारधारा नै विकासको शत्रु भएको छ । ३१ वर्षसम्म आधारभूत आवश्यकता पनि पूर्ति गर्न नसक्ने देश अरूबाट होइन आफन्तबाटै गुलामी भइरहेको छ । आफ्नै हाम्रा दुस्मन भए । विभिन्न परिवर्तनमा देशलाई नै लुटेर बनेका नव धनाढ्य वर्ग प्रशस्तै भेटिन्छन् तर सिटामोल खान नपाएर जीवन गुमाउनुपर्नेहरूको जमात अझै पनि ठुलो छ ।राजनीतिक रूपमा हामीले के पायौँ के गुमायौँ भन्दा पनि आर्थिक समृद्धिबिनाको राजनीतिक परिवर्तनले कुनै अर्थ नराख्ने रहेछ । आर्थिक विकास र त्यसको निरन्तरता नै हाम्रो समाजको महत्त्वपूर्ण सबाल हो ।
(लेखक लेक्चरर र आईटी परामर्शदाता हुन्। उनी कपिद जोशीको नामले फिक्शन पनि लेख्छन्। उनी लाई ष्लाय२मष्उबपवयकजष्।अयm।लउ मा सम्पर्क गर्न सकिन्छ ।)
