IMG-LOGO

अबको चुनावलाई जनताले बिद्रोहका रुपमा लिनेछन् 

 मंगल, असोज १२, २०७८  किशोर नेपाल

     अहिलेको सबभन्दा टडकारो राजनीतिक सन्दर्भ भनेको कांग्रेसको चौधौं महाधिवेशन नै हो । तर, महाधिवेशन बिचलनको प्रभावमा छ । पूरै कांग्रेसलाई आफनो कब्जामा लिने नेतृत्वको आशय स्पष्ट भै सकेको छ । लामो समय स्थायी संस्थाको रुपमा बिराटनगरमा रहेको पार्टीको स्थानान्तरणको प्रयत्न हुँदैछ । तर, गर्मीमा हुर्किएकाहरु पश्चिमको चीसो र अध्र्दमुदित ठाउँमा टिक्न सक्दैनन् । बिराटनगरपछि कांग्रेसको स्वाभाविक थलो काठमाडौ नै हो । तर, यो पटक त्यसमा असहजता छन् थुप्रै । कांग्रेसीहरु संस्थापन र प्रतिपक्षमा विभाजित छन । संस्थापनमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा खस तथा आर्यजातिका बलिया बांगा सिपहसालार छन् भने प्रतिपक्षमा नेताकै टुंगो छैन । रामचन्द्र पौडेललाई वरियता र उमेरका कारण सबैले मानेका हुन् । होइन भने, त्यहाँ कोइराला परिवारका तीनजना सदस्य शशांक, शेखर र सुजाता, डा.रामशरण महत, प्रकाशमान सिंह, अर्जुन नर्सिंह केसी, बलबहादुर केसी लगायतका थुप्रै सिताराहरु सक्रिय छन् । अहिलेसम्म कसैले कसैको नेतृत्व मानेको छैन ।

     समूहभन्दा अलग छन – बिमलेन्द्र निधि । उनले शेरबहादुरको क्याम्प छाडेका छन् । रामचन्द्रको हात समातेका छैनन् । चुनाव आफनो बुताले जित्ने हो भन्ने आत्मबिश्वास भएपछि कसैको हात छोडन र समात्न पर्दैन । चौधौं महाधिवेशनले कांग्रेसको कस्तो स्वरुपको निर्माण गर्दछ ? त्यसैले देशको राजनीतिक र सामाजिक परिवर्तनको बाटो तय गर्नेछ । कांग्रेस अहिलेका कम्युनिष्टहरु जस्तै गुटबन्दीको बाटोमा लम्किइ रहेको देखिन्छ । यो प्रवृत्तिमा अंकुश नलाउने हो भने लोकतन्त्र र समाजवाद विचलनको बाटोमा जान्छ । पछिल्ला समयहरुमा कांग्रेसले मौका गुमाउँदै गएको छ । यसका नेताहरु जबर्जस्ती नेतृत्वमाथि कब्जा जमाएर बसेका छन् । राजनीतिक नैतिकताको कुरागर्ने हो भने पछिल्लो निर्वाचनमा पार्टी पराजित हुनासाथ अधिवेशन बोलाएर पार्टीको नेतृत्व नयाँ मानिसलाई सुम्पिनु पर्दथ्यो । उनी सभापति पदको म्याद थपेर कुर्सीमा बसी रहेका छन् । उनका समकालीन टाउके नेताहरु हेरेको हेरेकै छन् । झण्डै ६ वर्ष सभापति चलाउँदा देउवाकै आँखा अगाडि कतिबटा गुट बने कांग्रेसको ? सिटौलाको समेत गुट बन्ने भै सक्यो कांग्रेसमा । सन्दर्भमा, राष्ट्रिय जन–आन्दोलन २०४६ को सफलतापछिको परिवेशलाई हेरौं । परिवर्तनपछि देशको शासन नयाँ राजनीतिक वृत्तको हातमा आयो । नयाँ शासकले संस्थागत बहुदलीय संस्कार स्वीकार गरेपनि व्यवहारमा निर्दलीय संस्कारलाई नै पछ्याए । निर्दलीय संस्कार भनेको एक माना खाने मानिस छ भने उसले दुई माना खानपुग्ने, दुई छ भने चार माना खान पुग्ने व्यवस्था प¥यो  । २०४८ मा जब गिरिजाप्रसाद कोइराला संसदीय व्यवस्थामा निर्वाचित प्रधानमन्त्री भए, उनको राजनीतिक संस्कार र शासकीय यात्रा कमबढी पञ्चायतकै ‘कपी’ थियो । उनले आफ्ना मानिसलाई ‘पिक’ गर्ने र काम लगाउने शैली पञ्चायतकै देखियो ।

     यहाँसम्म कि उनले आफना केही सल्लाहकारमा‘पञ्चायतमा रहेर धेरै अनुभव बटुलेका’ लाई छाने । त्यसो त, प्रजातन्त्र प्राप्तिको भोलिपल्टै कोइरालाले प्रजातन्त्रको जीतलाई पञ्चहरुको पनि जीत भनेका थिए । त्यो परिप्रेक्ष्यमा सल्लाहकारहरुको नियुक्ति अनौठो मानिएन पनि । त्यसले कोइराला र कांग्रेसकै राजनीतिमा नराम्रो असर ग¥यो । कांग्रेसभित्रको झगडामा कोइरालाले जुन किसिमको द्वन्द्व बढाए, त्यसले कांग्रेसका नेतृत्व तहका त्यागी नेताहरु किनारा लागे । त्यो कांग्रेसका लागि आफैमा दुर्भाग्य थियो । कांग्रेसले चुनावमा मजबूत बहुमत पनि पाएको थियो, कांग्रेसमा ‘भिजन’ भएका मानिस पनि थिए । गिरिजाप्रसाद कोइरालाले तिनको ‘भिजन’ सापटी लिनुपथ्र्याे, त्यो लिन सकेनन । उनले एकोहोरो शैलीमा सत्ता हाँके । त्यतिखेर प्रत्यक्ष निर्वाचित नभएका महेश आचार्यलाई अर्थराज्यमन्त्री बनाएर उनले पहिले नै प्रतिकुल सन्देश दिए । बहुदलपछि कांग्रेसमा आगामी बीस–तीस वर्ष एकछत्र शासन गर्छाै भन्ने घमण्ड चढ्यो । यो स्वाभाविक र भद्र थिएन । मैले मेरो जीवनकालमै देखें,गोडामा चप्पल पहिरेर सत्तासीन भएका मेरा आफनै साथीहरु कसरी रातारात करोडपति भए । यसो गर्नुहुन्न भनी कराउने मानिसहरु लाञ्छित भए । मलाई के लाग्छ भने त्यसो हुनुमा पञ्चायती संस्कार–संस्कृतिकै निरन्तरता थियो । त्यस्ता विसंगत असंगतिलाई संसदीय संस्कारले विस्थापित गर्न सकेन । नेपाली राजनीतिमा पञ्चायती शैलीको निर्दलीय चरित्र अझ पनि निरन्तर छ । केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन निर्दलवादी चरित्रको खुलेआम प्रदर्शन हो । कम्युनिष्ट पार्टी कमरेडहरुको कम्युनिटीका आधारमा चल्नुपर्ने हो । ओलीले त एक्लै निर्दलवादी शैलीमै पार्टी सिध्याइदिए । नेतृत्व तहमा रहेका केही पात्रहरुको चरित्र हेरेर तिनलाई ‘निर्दलवादमा जाने हो ?’ भनेर सोधियो भने मलाई लाग्छ उनीहरु त्यसमा जान पनि मान्छन् होला । किनभने उनीहरुमा संस्थागत दलीय सोच देखिन्न । उनीहरुलाई सत्तामा पुग्ने भ¥याङ बनाउने प्रयोजनका लागि मात्रै दल चाहिएको छ । तिनको क्रियाकलाप र प्रवृत्ति, कांग्रेस हुन् कि कम्युनिष्ट, निर्दलवादी नै छ । प्रधानमन्त्रीका रुपमा २०४७ सालमा किसुनजीले जोशिएर काम गर्नुभयो, संविधान ल्याउनुभयो । तर, उहाँ अन्तरघातमा पर्नुभयो । उहाँलाई राजनीतिको मूलधारबाटै हटाउने प्रयत्न भयो ।

     उहाँलाई राजनीतिमा शान्तिपूर्वक कामगर्न दिइएन । उहाँको खाँचो त्यतिखेर मात्र प¥यो जब २०५६ मा गिरिजा कोइरालालाई लाग्यो कि किशुनजीलाई लौरो नबनाई कांग्रेसले चुनावमा जित्नु संम्भव छैन । चुनावमा किसुनजीको उपस्थितिले कांग्रेसलाई सुविधाजनक बहुमत मिल्यो । प्रधानमन्त्रीका रुपमा उहाँ केही काम गर्न खोज्दै हुनुहुन्थ्यो । नौ महिनामा नै उहाँ हटाइनु भयो । किसुनजीको नाममा चुनाव जित्न गिरिजाप्रसादलाई जति हतार थियो, त्यति नै हतार उहाँलाई हटाउन देखियो । किसुनजीलाई केवल प्रयोगगर्न मात्र खोजियो, काम गर्न दिइएन । गणेशमान सिंहलाई त झन् पहिल्यै अनेक ‘वात’ लगाउँदै पाखा लगाइयो । २०६२÷०६३ को आन्दोलनले नेपालबाट राजतन्त्रलाई बिदा ग¥यो । जुन दिन राजा वीरेन्द्रको वंश नास भयो, नेपालमा राजतन्त्र त त्यही दिनबाटै सकिएको हो । नेताहरुले राजतन्त्र राख्नुपर्छ भनी जोडतोडमा ज्ञानेन्द्रलाई राजा बनाए । त्यत्रो अपमानपूर्ण अवस्थाबाट गुज्रिएर पनि गिरिजाप्रसाद कोइराला राजाको छेउमा उभिए । तर, राजा ज्ञानेन्द्रकै प्रजातन्त्र बिरोधी क्रियाकलापका कारण उनले बृहत्त राष्ट्रिय आन्दोलनको नेतृत्व गर्नुप¥यो र राजतन्त्र फ्याल्नुप¥यो । राजतन्त्र हुँदासम्म नेपालमा ‘माथि’ भन्ने ‘सिष्टम’ थियो । ‘माथि’ भन्ने पुरानो संस्कार बहुदलकालमा पनि निरन्तर रह्यो । तै, अहिले लोकतन्त्रमा ‘माथि’ सुनिएको छैन । त्यसकारण पनि राजतन्त्रको पतनसँगै अब देशको उन्नतिका पक्षमा केही हुन्छ भन्ने आशा–अपेक्षा थियो । त्यो आशा सुविचारित पनि थियो । तर दुर्भाग्यवश, माओवादीले आफ्नो  ‘कार्ड’ राम्रोसँग खेल्न सकेन, गिरिजाप्रसाद कोइरालाको लोभले पराकाष्ठा नाघ्यो । उनी राष्ट्रपति पदको लोभमा नपरेर देशको ‘मोरल अथरिटी’ बन्न चाहेको भए हुन्थ्यो । तर, खेलाडी गिरिजाप्रसादले आफनो लोभ संवरणगर्न सकेनन् । राजनीतिको गोलचक्करमा ‘संक्रमणकाल’ भद्रगोल भयो । विधिवत प्रधानमन्त्री भएका प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई काम गर्न दिनुपथ्र्याे ।

     त्यत्रो ‘क्रेज’बाट आएको मानिसलाई कामगर्न दिएको भए, ठीक या बेठीक जे पनि हुन सक्थ्यो । त्यसले कुनै दिशा निर्धारण गथ्र्याे । तर गिरिजाबाबुले राष्ट्रपतिको ‘ब्रेक’ प्रयोग गरे । त्यसपछि सँधैभरि द्वन्द्वको निरन्तरता रह्यो । त्यसले गतिहिनतातिर अघि बढ्यो । सेटिंगको राजनीति बाह्य डिजाइनमा आएको हो भन्ने टिकाटिप्पणी खुब सुनिन्छ । यो ‘डिजाइन’ विदेशी शक्तिहरुले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पक्षमा गरिदिएका हुन भन्ने खूब सुनिन्छ । ‘षड्यन्त्रको सिध्दान्त’मा विश्वास गर्नेहरु धेरै होलान् । यसमा अनेक तत्वको हात छ भन्ने पनि होलान । म चाहिँ फरक देख्छु । देशमा लोकतन्त्र छ्याप्छ्याप्ती भइसकेपछि बाह्य हस्तक्षेपको सम्भावना साह«ै कम हुन्छ । लोकतन्त्रको खुला परिदृश्यमा बाह्य हस्तक्षेपका कथा– कहानीमा धेरै दम पनि हुँदैन । बाह्य कथा–कहानी ल्याउनु र सुनाउनु भनेको आधारभूत रुपमा मानिसको ध्यान मोड्ने परिपञ्च र उपाय मात्र हो । त्यो सँगै आफ्ना दुस्कर्म ढाकछोप गर्न पाइने उद्देश्यबाटै निर्मित भएको डिजाइन हो त्यो । मानिसलाई बाह्य हस्तक्षेपतिर अल्झाएपछि सजिलै भन्न पाइन्छ, ‘यो त केपीले गरेको होइन रहेछन्, यो त विदेशीले गरेका हुन् ।’ समाजमा त्यो तथ्य स्थापित गरेपछि केपी एन्ड कम्पनीलाई आफ्ना खराब कर्म ढाकछोप गर्ने अवसर मिल्ने नै भयो । होला, भारत–चीनको स्वार्थ होलान्, अमेरिकाको पनि होला । त्यो आफ्नै ठाउँमा हुन्छ । केही पनि नहुने भन्ने हुँदैन । न्यायाधीशहरु ‘ब्रम्हले देख्ने’ न्यायमूर्तिकै रुपमा, सत्य, न्याय र निर्दोष जनताको पक्षमा उभिए र प्रतिनिधि सभाको पुनस्र्थापना गरे। यसबीचमा उत्पन्न भय, संशय र षडयन्त्र आफैं कम हुनथाले । देशको राजनीति वैधानिक संसदीय कोर्समा प्रवेश गर्यो । प्रधानमन्त्रीमा शेरबहादुर देउवा आए । तर,प्रतिपक्षमा रहेको एमालेले संविधानको कुनै ख्याल गरेको छैन । उसको नियत प्रतिनिधि सभा बिघटनको औचित्य सावितगर्नु रहेको मात्र देखिन्छ ।यो अवस्था रही रह्यो भने राजनीति विद्रोहको अवस्थामा प्रवेशगर्छ ।

     चुनाव विद्रोहकै अर्को रुपमा परिणत हुन सक्छ । हरेक नेपालीलाई थाहा छ चुनाव निकट छैन । यो परिस्थितिमा रोष–क्रोधमा आधारित आन्दोलन भएको हामीले देखि सक्यौं । केही अघि मात्रै, कसरी केपी ओली, प्रचण्ड र माधव नेपालले खुला जुवारी खेले त्यो सबैको दिमागमा रहेको छ । नेपालमा परिवर्तनको इतिहास लामो छैन, कडा छ । राणाकालपछि परिवर्तनको जम्माजम्मी ७० वर्ष भयो । यो अवधि भनेको कुनै पनि देशको आयुमा ठूलो समय होइन । भारतमै हेर्ने हो भने तिनले लामो समय संघर्ष गरेका छन् । चीन होस् या अमेरिका, तिनको पनि इतिहास त्यही हो । यो मामलामा नेपालीले आफूलाई भाग्यमानी ठान्नुपर्छ कि हामीले यति थोरै समयमा यति धेरै राजनीतिक प्रयोग भोगिसकेका छौं ।         

           (केही सम्पादन सहित जनकपुर टुडेबाट साभार )

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्