IMG-LOGO

एमालेको विभाजन र नेपाली राजनीतिका अभ्यास

 मंगल, भदौ १५, २०७८  - नरेन्द्रजंग पिटर

       के राजनीतिमा पुस्ता हुन्छ र ? पुस्तान्तरणको आधार के ? के राजनीति वा अन्यक्षेत्रमा मध्यपन्थ, मध्यमार्ग वा सेन्ट्रिष्ट कोहि हुन्छ ? निणर्ायक मोडमा त्यस्ताको भूमिकालाई इतिहासले कसरी मूल्यांकन गर्छ ? कथनी र करनीमा भिन्नता भएपछि राजनीतिक क्षेत्रमा विश्वसनियताको कुनै अर्थ रहन्छ ? नेपाली राजनीतिको चालक शक्ति सिद्दान्त हो कि सुविधा अनुसारको व्याख्या हो ? जे भनेपनि पत्याउने, स्वीकार्ने, पालन गर्ने राजनीतिक कार्यकर्ता, सचेत नागरिक हुन्छन कि ! राजनीतिक कमैया बन्छन ! के उमेरको ठिटो नै मानसिकरुपमा अशक्त हुन्छ भने त्यो यूवा कहलिन पाँउछ ? तन्नेरीमै बृद्द भएकालाई के भन्ने ? नेपाली राजनीतिका अभ्यास, सकृयता, गति, मति, नीति, विधी, अभ्यास देख्दा अनेकौ प्रश्न र जिज्ञाशाले भरपर्दो उत्तर खोजिरहेका छन ।

       हरेक राजनीतिक व्यवस्थाका आफ्नै मान्यता, नियम, लय, आदर्श र सुन्दरता भएझैँ संसदिय राजनीतिका पनि मौलिकता र विशिष्टता हुन्छन् । जुन खेलमा सहभागी भइन्छ, त्यसका नियम पालना गर्नैपर्छ । एउटा खेलका नियम, अर्कासंग मिल्दैनन् । कम्युनिज्म, राजतन्त्र, सैनिकतन्त्र, फाँसीवाद, धर्मतन्त्र, अटोक्रेसी, क्लेप्टोक्रेसीका चरित्र र अभ्यास फरक-फरक हुन्छन् । निर्वतमान प्रधानमन्त्री केपी शर्माको सत्ता केन्द्रिकरण, अहंकार र अध्यादेश राजनीतिको विरोध बढदै जाँदा डवल नेकपा पार्टी, ओली सरकार र एमाले वच्न सकेन । त्यस्को प्रतिकृयामा गठबन्धनले देउवा सरकार त गठन गर्यो । तर, ओलिटिक्सवाट बाहिरिन भने सकेन । संसद छलेर हित अनुसारको अध्यादेश ओलीकालमा पनि गलत थिए, देउवाकालमा पनि । नेकपा (एमाले) फुट एकाएक भएको हैन् । डवल नेकपाको गठनदेखिकै कालक्रम नियाल्नुपर्छ । दोश्रो पुस्ताका नेताहरुका भूमिका र सइनघाउझंै भएको टकराहटको अवस्था अध्ययन आवस्यक छ । अध्यक्ष केपी शर्मा र अध्यक्ष प्रचण्ड दुईजनाको मात्र सोच र निणर्यले ‘एकता’ भनेको पार्टीभित्रको अन्तरविरोध र महत्वकांक्षाको व्यबस्थापन गर्न नसक्दा चुथ्थो विकल्प थियो । दुवै ‘कम्युनिष्ट’ र राजनीतिक सुरु अभ्यास सशस्त्र सर्घष भएपनि ‘एकतामा’ भेटघाट (मिट) त भयो, तर मिलन (मिक्स) भने हुन सकेन । दुवै अध्यक्षको अन्तरनिहित उदेस्यलाई कालान्तरमा राजनीतिक क्यालकुलेटरले धोका दियो । ओली सरकार आग्रह, अहंकार सर्वसत्तावादको बन्धकी रह्यो । यसमा दोश्रोपुस्ताले सृजनात्मक भूमिका खेल्न सकेन । डवल नेकपाको विभाजन एउटा पार्टीको विषय र समस्या मात्रै नभएर देशको, संविधानको, अदालतको राजनीतिमा प्रवेश, राजनीतिक संस्कृति र अभ्यासकै समस्या थियोे । मह्त्वकाक्षा, विकास र प्रगतिको वाधक देखिएपछि कारण खोज्दा सवभन्दा नजिक वा आफन्त सोचिन्छ । शक्तिको अहंकार प्राप्तिको चरम लालसा बढेपछि लडनु, झगडा गर्न अवस्यक पर्छ । कसैले उसलाई चुनैति दिन्छ, स्वीकार्दैन भने उ आफनै पग्तीबाट दुशम्न खोज्न थाल्छ । वलले मैम्मत्त भएको वहरको सिग चिलाएपछि जुध्न कोही नभए ठ्याँठ्ँया गदै ढिस्कोमा सिगौँरी खेल्या जस्तै । दोश्रो पुस्ता र तेश्रो धार राजनीतिमा दोश्रो पुस्ता वा तेश्रत्तधार हुँदै हुँदैन । तर पनि डवल नेकपा वा एमालेको विभाजन वरीपरी रहेका दोश्रोेपुस्ता अझ पहिलोपुस्ताभन्दा पनि अविस्वसनिय, ढुलमुले र अवसरवादी चरित्रको देखिएर नेतृत्वको हैसियत कायम गर्न सकेनन् । अध्यादेश अभ्याससम्म पुग्दा त यो एउटा पार्टीको आन्तरिक विषय मात्रै नभएर हाम्रो समस्त राजनीतिक संस्कृतिको दयनिय अवस्था देखियो । एनजिओ संस्कृतिजस्तै भुक्न सक्ने तर टोक्न नसक्ने र नत्रभने भनेर धम्क्याउने, संकटको वेला जोखिम उठाउन नसक्ने भए । केही मान्छे तटस्थका सुख भोग्न चाहन्छन । आश र त्रासमा लतारिएको शक्ति उँटले कता कोल्टे फेर्छ त्यसै अनुसार धारणा बनाँउदै पक्ष लिन्छन । संस्थाको केन्द्रिकरण गर्दा, संविधानके ध्वस्त हुँदा योपुस्ता मौन रह्यो । भ्रष्टाचारलाइ कानुनी रूप दिएर वैधानिकता दिँदा चुप रह्यो । पार्टी ट्रेडमार्क मात्रमा फेरिँदा सिद्दान्त र आदर्शको बखान गरिरह्यो । उनीहरुका तर्क उल्टयाएर हेर्दा अहिले नागों सत्य चिच्याईरहेको छ । हरेक यूगले यूवाहरू मानसिक रुपमा पनि तन्नेरी नै छन, बल बुद्दि, विवेक र दुरदृष्टि हुन्छ, सोच्छ । आशा, विश्वास भरोशा मान्छ । तर, संकट र संगिन घडीमा निणर्य गर्न नसक्नेहरु अल्पायुमै बुढा भैस्क्या हुन्छन् । त्यस्तालाई कसैले पनि पत्याउदैन् । बनेको छवि ध्वस्त हुन्छ । तर्कलाई पत्याउने कर्म हुन, विश्वासका आधार भूमिका हो । जव नदी वौलाईरहेको हुन्छ तव दुई नाउमा खुटटा राखेर नदी तर्न कोशिस गरिन्छ भने भंगालोमा पर्नु सिवाय केही हुँदैन । अथवा त्यस क्याटरिगवालाको जस्तै हुन्छः हावाहुरीले पाल च्यातिएको, असिनापानीले अस्तव्यस्त भोज, बेहुलो हराएको र जन्ती भागिसकेको अवस्था । तव रोईकराईले केही हुँदैन । दायित्व निभाउन हैसियत हुनुपर्छ । दोश्रोपुस्ताले जोखिम उठाएर दायित्व निभाउने प्रशस्त अवसर थियो । ह्याउ जाँचेको प्रथमपुस्ताले उस्को दवाव, अनुरोध, विन्तीमान्ने कुरै भएन ।

       ७ महिनासम्म ‘एकताले’ मूर्तरुप लिन नसक्दा पनि संस्थागत निणर्यको पहल र दवाव दिएनन् । प्रमुख नेतृत्वलाई नीति, विधी, विधानबाट माथि हुने मौकादियो । नीति र कार्यक्रमको एकलौटी निणर्य गरिँदा आज्ञापालक समूहमा मात्र सिमित भयो । जुन हनुमानले लंका जलाउन सक्दैन, त्यो हनुमानको कुनै महत्व हुँदैन, काम चाहिँदैन । हरेक हनुमानले सोच्नुपर्छ, रामहरु के सोच्छन ? भनेर । नेताका जर्नेलको अवस्था त्यही हुन्छ जस्तो सुगा त्यही बोल्छ जो मालिक चाहान्छ । संकट त योग्यता, क्षमता र दक्षता नाप्ने जिन्दगीको हिस्सा र अवसर हो । जव संकटलाई कलामय सामना गरिँदैन तव निणर्य लिन नसक्नेको भविष्य निर्धारण गर्ने अर्कै शक्ति आईदिन्छ । षडयन्त्र सिद्दान्तले अनेकौं कोणबाट हेर्न भन्छ । जस्ले आफनै विश्वास, भूमिका र मित्रलाई संकटमा धोका दिन सक्छ भने नयाँ शक्तिले क्षणिक विश्वास गरेपनि त्यो शक्ति संचयकाल भनेर बुझिन्छ । तेश्रो धार हुँदै हुँदैन, हुन्छ भने मध्यविन्दु नभै विद्रोही बन्ने फरक विषय हो । चुनौती झेल्न नसक्ने व्यक्ति, समूह वा पार्टीको नियति समाप्त हुनु हो वा कालान्तरमा कसैसंग टाँसिनु हुन्छ । जो सवैलाई खुशी पार्न खोज्छन, अखिरमा ती अफै एक्लै पर्छन । विकसित समग्र राजनीतिक घटनाक्रममाः दोश्रोपुस्ताको मौनताले उनीहरुको दुरदृष्टि, जोखिम उठाउने ह्याउ र आईपर्दा राष्ट्रकै नेतृत्व लिने क्षमता माथी नै प्रश्न उठे । नेतृत्वका आभामण्डलीबाट मुक्त नभएका मान्छेहरू जतिसुकै ठूला बनुन् उनीहरू आप्mना दिमाग खर्चेर भूमिकामा उत्रिने जोखिम उठाउने ह्याउ राख्दैनन् । संकेत नै सन्देश हुन्छन राजनीतिक अभ्यासले दिएको संकेत र सन्देश त भिन्न परिणाम देखाउँदैनथियो । ओली-नेपालबीच लामो समयदेखिको स्वत्वको टकराहट अहंकारमा फेरिएको थियो । त्यसको वाइप्रोडक्ट नै डवल नेकपाको जन्म, विघटन, कालान्तरमा एमालेको विभाजनसम्म पुग्यो । सवैको कमजोरीलाई एक-एक गरेर मनमस्तिकमा राख्दै समय अनुसार प्रयोग गर्न सवैको औकात जाँची सकेका अध्यक्ष ओलीलाई माधव नेपालले विद्रोह गर्लान भन्ने चाहीँ कल्पना थिएन । ४ पटकसम्म कारवाही गर्नु, अध्यादेश ल्याउनु, फिर्ता गर्दा पनि अपमान सहँदै गाल्न सकिन्छ भनेर नै मौका पाउने वित्तिकै कटाक्ष गर्दै सार्वजनिक रुपमै उडाउन छोडेनन् । पूर्वप्रधानमन्त्रीको कान भन्दा मुख सक्रिय भयो । मान्छे सवै सहन्छ, हेपिएको सहँदैन । दोश्रोपुस्ता ओली गल्छन भन्ने भ्रममा रहेर अवसरको आरक्षण गर्न नेता नेपाललाई उचाल्न थाले । काँध थाप्नेहरु अन्तिम समय खेमा फेर्ने, तटस्थको सुखभोग गर्लान भन्ने नेपालले पनि सोचेनन । संकेतले सन्देश दिईरहँदा पनि विरोधी शक्ति कमजोर पार्ने एकआपसमा खेल मञ्चन हुँदै गए । आभामण्डलबाट मूक्त नभएको पुस्ताले नयाँ बाटोको जोखिम उठाउन नसकेर नत्र भनेको धम्कीमा आफनो अस्तित्व खोज्न थाल्यो । त्यसलाई ओलीले पत्याएनन् नेपालले पर्खेनन । वालुवाटारबाट बालकोट खेदने शक्तिलाई ओलीले विश्वास गर्ने, पत्याउने प्रश्नै उठदैनथ्यो । सरकारी पगरी गुथेर ठूले बन्ने नेता कार्यकर्ताले पनि उनीहरुलाई रातो तुल विछयाउने कुरै थिएन । जेठ २ र ३ का खुव चर्चा चले । समस्या धकेल्ने अढाई जुक्ति,बुद्दि लागे । दासता स्वीकार्न नसके अंहकारका सामने त्यो ‘एकता’ पनि कागजको पिरामिड बन्नेछ, लामो समय टिक्नेछैन ।

       खेलका नियम सवैले पालन गर्नुपर्छ । प्रतिपक्षका चाल बुझेर मात्र उस्लाई जवाफ दिन सकिन्छ । राजनीतिको खेलमा भने न नियम हुन्छ, न रेफ्री । चतुरेहरु अवस्था र हावाका गन्धले घटना नियाल्छन । धोका वा षडयन्त्र नै शक्ति आर्जन र सुरक्षित सोच्दै खितखिताउनेहरु भने आफैं खाल्डोमा खस्दा पनि सहानुभूति समेत पाउंदैनन् । जवसम्म सोच र विश्वासले ठक्कर पाँउदैन तवसम्म कसैले पनि आफनो औकात थाहा हुँदैन ।

अन्तमा.....

       -यहुदी धर्मग्रन्थ तनखमा भनिएकोछः जो मसंग छैन, त्यो दुश्मन हो वा दुश्मनको पंक्तिमा छ भन्ने कुरा कालान्तरमा सवै शक्तिका उन्मादीहरुले स्वीर्कादै गयो । मित्र र दुश्मनको बीचमा पनि केही समयका लागि कोही तटस्थ पनि हुन्छन । सामान्यजनले समयसंगै सोच र विश्वास फेर्न सक्छन भनेर शक्ति सोच्दैन । -समय जस्को नेतृत्वमा कोल्टे फेर्छ त्यो नेतृत्व बन्दै समाज, परिवेश र सपनामा हस्तक्षेप गर्न सक्छ । समय फेरिँदा पुराना शक्तिका निर्देशन, इच्छा र हुकुममा चल्दैन । -ह्याउ र प्रतिवद्द नभएको दोश्रोपुस्ताले आलोचनात्मक र विद्रोही चेतको तेश्रा वा चौथोपुस्ताको ढोका छेकिरहेका हुन्छन । -भंगालोको नियति कालान्तरमा नदीसंग मिसिनु हो । -मध्यमार्ग कतै पनि हुँदैन । -मानसिक उर्जा र संकटको सामना गर्न नसक्ने शारीरिक अवस्थाले मात्रै यूवाहरुको परिचय र पहिचान थेग्न सक्दैन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्