सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता बन्धु पोखरेलले आदरणीय नेकपा एमाले (एकतावादी) कामरेडहरु ! सँग भनेका छन्– यी काम असम्भव छन्
क) हात्तीलाई काखमा राख्न,
ख) कमिलालाई लिपिस्टिक लगाइदिन,
ग) कुकुरको पुच्छर सोझो पार्न र,
घ) केपी ओलीलाई सम्झाउन ।
पोखरेलका यी भनाइ घतलाग्दा छन् । केपी ओलीलाई सम्झाउन असम्भव छ कि छैन ? यो काम प्रयोगमा आएको छैन । तर हात्तीलाई काखमा राख्न खोज्दा थिचिएर मरेका मानिस यो संसारमा निकै होलान् । कमिलालाई लिपिस्टिक लगाइदिन खोज्नेहरु असफल भइहाले होलान् । कुकुरको पुच्छर सोझो पार्न पुच्छरमा ढुंग्रो झुण्ड्याएर दौडाउनेहरु पराजयले मात खाएको अन्दाज लगाउन गाह्रो छैन । कुकुरको पुच्छर भनेपछि त्यो ढुंग्रामा जति वर्ष राखे पनि सोझो हुँदैन । उसको जात नै घुम्रिने भएपछि कसैले भनेर सोझो हुन्छ त ?
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जोडिएको पुच्छर कहिले छिनालेको थियो ? त्यो तिथि–मितिको गुणन गर्नुको कुनै औचित्य छैन । किनभने, त्यो छिनालिएको पुच्छर कता गयो के भयो ? त्यसको हिसाब राखेर कसैलाई फाइदा छैन । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रतिरबाट एमाले छिरेका केही भलादमीहरुलाई आफ्नै जिम्मामा राखेका थिए । तीमध्ये एउटालाई छाडेर अरु सबै निराश भइसके । उनीहरु निर्वाचन आयोग पुगेर थपलियाजीलाई गुहारेनन् कि अनलाइनका अफिस चहारेर आफ्नो गुनासो बताएनन् कि ! जता गए पनि काम बनेन । उनीहरु आगामी चुनावमा भाग लिने नलिने कुराको पनि ठेगान भएन ।
राजनीतिमा एकपटक टुहुरो भएपछि फेरि दिन फिर्न गाह्रो छ । यसमा, बन्धु पोखरेलको असम्भव सूत्र मननीय र ग्रहणीय छ । दशा लागेपछि भन्छन्, यसरी लाग्छ । हेर्नुहोस् त, ती टोपबहादुर रायमाझीलाई के भएको थियो र ? साथीभाइको दैनिक सत्कार गरेकै थिए । हाटहुट र लाटलुट पञ्चबाटै सिकेका थिए । प्रचण्डले पत्याएको भए राजा ज्ञानेन्द्रसँग वार्ता गर्न पठाउँथे । पत्याएनन् । त्यति भएपछि, राजा ज्ञानेन्द्रले पनि पत्याउनु परेन । ती अर्का नेता प्रभु साह । शाह होइन साह । मधेश रौतहटका नेता । प्रचण्डसँग पनि राम्रो । आखिर मन्त्री बनेकै थिए भने प्रचण्डलाई धोका नै किन दिनुपथ्र्यो र ? मानिस भुईंमा न भाँडोमा भएपछि हरिबिजोग हुन्छ । उता, बादलले आफ्नी श्रीमतीलाई मन्त्री बनाइहाले । मन्त्रीमा पनि सञ्चारमन्त्री । बहाली गरेकै दिन उनको घरमा चार वटा आइफोन पुगेको हल्ला चलिहाल्यो । त्यसको सट्टा बरु दश लाखको पेटी नजराना आएको भए राम्रो हुन्थ्यो । पहिले पो पसल थियो र आइफोन बेच्न पनि झ्याउ हुँदैनथ्यो ।
सोचेका थिए– पार्टीमा एक्लै परेका छन् कामरेड ओली । हामी गएर ओत लाग्यौं भने उनलाई पनि राम्रो, हाम्रो पनि भलो । तर त्यो भएन । उनीहरु हैरान परेसान । उता, प्रचण्डकहाँ जाउँ माधव नेपाल छन् । कता जाउँ, के गरौं । गफ लगाएर जोगिने ठाउँसम्म नरहेपछि अचेल नेताजीहरु हराएका छन् । गफ लगाउन पनि के लगाउनु र ? रामकुमारी झाँक्रीले निर्वाचन आयोगभित्र लैजान माधवजीको हात समातेर तानेकै हुन् । त्यो गफ भएन । बन्धु पोखरेलले असम्भव ‘स्टेटस’ ले फेसबुक रंगाइ हाले । अब के बाँकी रह्यो र ? केही छ त ? छैन । राजनीति भनेको यस्तै हुन्छ । एकपटक हातबाट फुस्किएपछि फुस्कियो, फुस्कियो । फेरि समात्नलाई वडादेखि नै सुरु हुनु प¥यो । वडामा उम्कियो, इलाकामा डरायो, इलाकामा उम्कियो, क्षेत्रमा डरायो । क्षेत्रबाट माथि केन्द्रमा जानै टिकट चाहियो । टिकट पनि त अब टिकटक भैसक्यो ।
एक महिना भइसक्यो मन्त्रिमण्डल बनेको । मन्त्रीहरुको मण्डल नै पूरा गठन हुन पाएको छैन, कहाँबाट गठन होस् मन्त्रिपरिषद । चार जना मन्त्री छन् एक जना राज्यमन्त्री । प्रधानमन्त्री पालैपालो सबै मन्त्रीको मुख हेर्छन् । सबै दबिएका, दलिएका जस्ता देखिन्छन् आफनो पार्टीका । माओवादीका हे¥यो खाइलाग्दा छन् । प्रधानमन्त्रीलाई यो भन्दा अगाडि धेरै झोक चल्थ्यो । अहिले धेरै थकाइ लाग्छ । जतिखेर पनि शक्ति नास भएको जस्तो । अनुहार र आकृति हेर्दा नै प्रधानमन्त्रीको शक्तिको अहसास हुने । वास्तवमा, पावर भनेपछि त्यति जाँगर चलाउने मान्छे । यस्तो पावरको तन्तु मिलाउन खप्पिस । तर यो पटक फूर्ति र उत्साह दुवै छैन । उमेर पनि धेरै होइन । बुढेसकाल लाग्यो भनौं भने असी वर्ष नपुगेको मानिसलाई कसरी बुढो भन्ने ? हातमा आएको पावरको कुरा । छाडेर अर्कालाई दिने कुरा पनि भएन ।
सत्ताको सुखका बारेमा साह्रै सजग छन् मोराहरु । माओवादीसँग अघिल्लो चुनावमा मेलजोल नभएको होइन । साह्रै कडा मोराहरु । व्यवहार गर्नै हम्मेहम्मे पर्ने । यता, जसपा भनौं, त्यस्तै । यो भीडमा माधवजीले आफ्नो सेना मन्त्रिपरिषदमा पठाएपछि के होला ? ती अहिले दश जना छन नि, बाहिरै बसेका । ती एमाले पार्टी मिलाएर एकता गर्न बसेका कि माधवजीसँग पावर बार्गेनिङ गर्न ? प्रधानमन्त्री प्रायः यस्तै कुरा सोचिरहेका हुन्छन् । उनलाई यो पावर धान्न मन लागेको छैन । जस पाउने काम होइन यो अहिलेको समयमा । यो प्रेस पनि कस्तो ! त्यो, केरे केरे, स्वास्थ्य राज्यमन्त्रीलाई कति खेदेको । प्रधानमन्त्रीको विचार–प्रक्रियाको पर्यवेक्षण गर्दा यो पटक उनी साँच्चै थाकेका छन् । हुने भए, राजपाठ श्रीमतीलाई जिम्मा लगाएर बस्थे होलान् । श्रोत उकेरा डट कम
