IMG-LOGO

खड्ग ओली संविधान उल्लंघन गरेर शासन चलाउँदै छन् 

 मंगल, असार १, २०७८  -किशोर नेपाल


कोरोना महामारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कुशासनबाट नेपाली जनता कति आजित भएका छन् र कति आक्रोशित छन् त्यसको हिसाब-किताब इतिहासकारहरुले राखेका होलान् । गणतान्त्रिक देशका लोकतान्त्रिक मान्यता र मूल्यहरु समाप्त गर्न उनले सम्भव भएसम्मको प्रयास गर्दै आएका छन् । संविधान निमोठ्न र त्यसलाई समाप्त पार्न उनले गरेका प्रयत्नको कटु आलोचना चारैतिरबाट भै रहेकोछ । उनले दुई दुई पटक संघीय प्रतिनिधि सभा विघटन गरिसके । पहिलो बिघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर्‍याई सकेपछि फेरी दोस्रो पटक संघीय प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक चरित्रको पराकाष्ठा हो । अहिले दोस्रो पटकको विघटनको मुद्दा सर्वोच्व अदालतमा चल्दैछ ।
संविधानको धारा ७७ अनुसार पदमुक्त भएका प्रधानमन्त्री ओलीको हैसियत अहिले काम चलाउ मात्रै हो। संविधानको यही धाराको उपधारा ३ ले उनलाई सरकार बिस्तारगर्ने अधिकार दिएको छैन। तर, उनले संविधानको उल्लंघन गरेर शासन चलाउने आफ्नो विनासकारी कार्य रोकेका छैनन् । शासनमा मात्र होइन, राजनीतिमा पनि उनी बिनासकारी साबित भएका छन् । बिनासको यो क्रममा उनले आफनै राजनीतिक संस्था नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत ध्वस्त पारेका छन् । राजनीतिक र भौतिक हिसावले पनि उनी कमजोर छन् । उनले बालुवाटारमा रहेको आफनो सरकारी निवासलाई नै कार्यालय बनाएका छन् । पार्टी र सरकारका काम कारबाही, समारोह, राजनीतिक षडयन्त्र जे जे गर्नु हुन्छ त्यो यहींबाट गर्दछन् । नेपाल कम्युनिष्ट पार्टीको झगडा यहीं बसेको बैठकमा चरमोत्कर्षमा पुगेको थियो जब प्रचण्डले उनीमाथि संगीन राजनीतिक र आर्थिक आरोप लगाएका थिए । कोरोना र कु-शासनले उत्पन्न गरेको कटुताको अहिलेको परिवेशमा उनका बिरुध्द कसैले पनि कठोर आक्रोश प्रकट गर्दछ भने त्यसलाई अस्वाभाविक र आश्चर्यजनक भन्न मिल्दैन । सामान्य जनता प्रश्न गरी रहेका छन्, ‘किन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य राजनीतिक दलहरु र नागरिक समाज किन ओली नेतृत्वको सरकारका बिरुध्द आवाज उठाई रहेका छैनन ?
कुशासनको हद नाघिसक्दा पनि यो चेतना नजाग्नुको कारण के हो ? जनताको प्रश्न छ । बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति कठोर भावना व्यक्तगर्दै महात्मा गान्धीको हत्यारा नाथुराम गोडसेको चर्चा गरेका थिए । उनले आफै गोडसे भएर प्रधानमन्त्री ओलीको हत्या गरिदिउँ कि जस्तो लागेको आशय प्रकट गरेका थिए । एक अनुशासित राजनीतिक कार्यकर्ताका रुपमा उनले आफनो पार्टीको निर्देशानुसार सदनमा आपूmले बोलेको कुरा फिर्तालिंदै माफी समेत मांगी सकेका छन् । संसदको रेकर्डबाट नरोत्तमका शब्दहरु मेटिएका छन् । माफी माग्दा पनि नरोत्तमले प्रधानमन्त्री ओलीप्रतिको बितृष्णा व्यक्तगर्न छाडेका छैनन् । नरोत्तमले गल्ती गरे । सदनको रोष्ट्रममा उभिएर माफी मांगे । नरोत्तम बैद्यको मन कति बेला हिंसात्मक हुन पुग्यो ? त्यो उनैलाई थाह छैन । जनताको बिजोग देखेपछि उनको रगत तात्यो । यत्ति हो कि उनले ग्वेवाराको नाम लिनखोज्दा मुखमा गोडसेको नाम आयो । यो कुरा सकियो । तर, प्रधानमन्त्री ओलीका कार्यकर्ताहरुले यो कुरा सिध्याउन चाहेका छैनन् । उनीहरु नरोत्तमलाई आडमा राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोधमा लागेका छन् । प्रधानमन्त्री ओलीका कार्यकर्ताहरुले यो कुरा राम्रोसँग बुझनु पर्दछ कि नेपाली राजनीतिबाट ओली नेतृत्वको एमालेको राजनीति बढारिदैंछ । पश्चिमका प्रदेशहरुमा ओली एमालेको पराजय, पूर्वमा पराजयको तयारी र राष्ट्रपति बिद्यादेवी भण्डारीको टेकोमा अडिएको संघीय राजनीति ओली पतनका पूर्व संकेत हुन् ।
    प्रधानमन्त्री ओलीको नेतृत्वमा गृहमन्त्री बन्छु भन्दै हिंडेको, नपाएपछि ठस्स परेर बसेको, एक पत्तुर गुण्डाले कांग्रेसका बिरुध्द ओकलेको बिषादीको कुनै असर रहँदैन । प्रधानमन्त्रीका कार्यकर्ताहरुले यो बुझेका छैनन् कि नरोत्तम गान्धीजीका हत्यारा गोडसेका पक्षधर कहिल्यै होइनन् । शुक्रबार कसरी उनको जिब्रो चिप्लियो र उनले ‘ग्वेवारा’ बिर्सेर ‘गोडसे’ बोले ? त्यो आश्चर्यकै बिषय छ । सर्वोच्च अदालतको फागुन २३ गतेको हाहाकारी निणर्यपछि नेपाल कम्युनिष्ट पार्टी आफनो पुरानो स्वरुप एमाले र माओवादी केन्द्रमा फर्कियो । सर्वोच्च अदालतले त्यस्तो काइते फैसला नगरेको भए नेपाल कम्युनिष्ट पार्टी भित्र बैचारिक बहस हुन सक्थ्यो । त्यस्तो भएको भए एमालेमा लोकतान्त्रिक आचरणको उदगम पनि हुनसक्ने थियो । एमाले भित्रको वैचारिक घर्षणले राजनीतिका धेरै रहस्यहरुबाट पर्दा खुल्नसक्ने थियो । दुई मध्ये एक अध्यक्ष कामरेड प्रचण्ड हटेपछि एमालेका पितामह समान दुई नेताहरु, झलनाथ खनाल र माधवकुमार नेपाल, अध्यक्ष ओलीका दम्भ र अहंकारका शिकार भए । अहिले उनीहरु शक्ति संचयको क्रममा रहेका छन । एमाले राजनीतिका बिज्ञहरुका अनुसार, यो पार्टीको चरित्र अरु पार्टीको भन्दा फरक छ । यो पार्टीमा जब कार्यकर्ताहरु विभाजित हुन्छन् त्यही हिसाबले नेतृत्वको पनि विभाजन हुन्छ । अहिले पनि त्यही भई रहेको छ । प्रदेशहरुमा ओली समूहले निकै झेल गरेको छ ।
    तै पनि, खुट्टा गाडन सकेको छैन । दुई नम्बर प्रदेशमा मजबुत मानिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीको निम्तो पाएपछि खुशी  सरकारमा छिरेको छ । महन्थ ठाकुरलाई छाडेर पार्टीका प्रायःसबै प्रभावशाली नेता सरकारमा छन् । राजेन्द्र महतो उप-प्रधानमन्त्री छन् र आफनो समूहका नेता पनि । अनील झा, शरतसिंह भण्डारी, राजकिशोर यादव, बिमल श्रीबास्तब तथा लक्ष्मणलाल कणर्को यो टोलीले मधेशका समस्याहरुको समाधानका लागि प्रधानमन्त्री ओलीलाई कसरी सहयोग पुर्‍याउनेछन् ? त्यो हेर्न बाँकी नै छ । मधेशका मामिलामा गम्भीर देखिने महन्थ ठाकुर थुनामा परेका मधेशका राजनीतिक कार्यकर्तालाई रिहा गराउन कतिबद्ध थिए । साथीहरुलाई मन्त्री परिषदमा पठाई सकेपछि उनी केही बोलेका छैनन् । मधेशको मांग राख्दा उनले प्रधानमन्त्री ओलीसँग ‘यो पटक हामी चेकबाट भुक्तानी लिदैनौं, हामीलाई नगद चाहिन्छ’ भनेका थिए । अब, सरकारमा गै सकेपछि नेताजीको टोलीले बिभिन्न साना अभियोगमा थुनिएका अथवा निर्वासनमा बसेका कार्यकर्ताको त उध्दार गराउलान् । तर, सांसद रेशम चौधरीको रिहाई कसरी गराउलान् ? हेर्नुपर्ने विषय यति मात्रै हो ।
    रेशमको रिहाइ भएन भने जसपाका दुई कद्दावर नेता महन्थ र महतो दुबैको घोर बेइज्जती हो । रेशममाथि मुद्दा चलाइएको समयको सर्वदलीय सरकार आफैले प्रशासन र सुरक्षाकर्मीहरुको कडा राजनीतिक दवावमा चलाएको ज्यान मुद्दा प्रधानमन्त्री ओलीको सरकारले कसरी फिर्ता लिने हो ? अहिलेको लागि अहं प्रश्न यही हो ।                  जनकपुर टुडेबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्