कन्टिर-बाबू आज बिहान सामाजिक सञ्जालमा घोत्लिँदै थिए । उनको दृष्टि एउटा हिन्दी भाषाको पोस्टमाथि पर्यो - ‘सियासत का बाजाार भी खुब है, कौन कब रङ बदले पता ही नही ! आप ही का सहारा चरागों को था, आप ही हवाओ के साथ हो गये ‘! यो कसको रचना हो कन्टिर-बाबूलाई थाहा छैन । तर यसले कन्टिर-बाबूलाई बडा प्रभावित गरेको छ । यी पङ्क्ति नेपालको वर्तमान आयाराम-गयाराम राजनीतिसँग ठ्याक्कै मेल खाने कन्टिर-बाबूको ठहर छ । कन्टिर-बाबू पनि के कम ? उनी पनि सानोतिनो कवि नै हुन् नि ! उनले माथिका पङ्क्तिको जवाफ दिने प्रयत्न गरेका छन् ः चाहे रङ जितना बदल लो, चोला जैसा भी धर लो, एक दिन ऐसा आएगा, जब साया भी जी चुराएगा ! यो सबै भनिरहँदा कन्टिर-बाबू एउटा शङ्काको लाभ लिन चाहन्छन् । त्यो के भने उल्लिखित हिन्दी पङ्क्तिको सार सबैले बुझ्नसक्ने अनुमानका आधारमा कन्टिर-बाबूले त्यसको अनुवाद भने गरेनन् । डन्ट माइन्ड है ! अनुवाद नगर्नुको महत्त्वपूणर् कारण हो- हालै भएको मन्त्रिमण्डल पुनर्गठन प्रकरण । यो पुनर्गठन जसरी भएको छ, त्यसबाट आमनेपालीले हिन्दी सिक्नैपर्ने बाध्यता सिर्जना हुन सक्छ है । कन्टिर-बाबू अहिले सरकारका बारेमा धेरै टिप्पणी गर्न आवश्यक ठान्दैनन् । सबैलाई थाहा भएको कुरा के दोहोर्याइरहनु ? कन्टिर-बाबूले सुरूदेखि नै भन्दै आएका हुन् त- नाकाबन्दी नाटक थियो । लोकतन्त्रवादी शक्तिलाई सत्ताबाट च्युत गर्ने खेलो थियो । चुनावताका एउटाले मधेसीलाई गाली गरेर उग्र राष्ट्रवादको र अर्कोले पहाडीलाई गाली गरेर बहुराष्ट्रवादको नाटक गरेर चुनावी माहोल बनाउने, दुवैले मिली-मिली चुनाव जित्ने रणनीति बनाएकोबारे त कन्टिर-बाबूले कराइ-कराई भनेका थिए । त्यसबेला कसैले पत्याएनन् तर अहिले त प्रमाणित भयो नि ! अनि जुन मुद्दाका लागि जुन हातले जुन संविधान जलायो त्यही हातले त्यही संविधानको रक्षा गर्न प्रतिबद्ध छु भनी शपथ खाँदै तत्कालीन मुद्दा-सुद्दा मारोगोली गरेको दृश्य हेर्दा कम्ती उदेक लागेन कटिर-बाबूलाई ! तर नो चिन्ता, कटिर-बाबूलाई थाहा छ यो अनपेक्षित अवस्था धेरै दिन रहनेवाला छैन । एक दिन जनताले सबका सब रङ चिन्ने नै छन् । त्यसबेला जनताले त्यस्ता छेपाराको विश्वास गर्न पक्कै पनि छोडनेमा कन्टिर-बाबू विश्वस्त छन् । कन्टिर-बाबूको मनमा कहिलेकाहीँ बडो अजिब-अजिब खयाल आउँछ । विभित्र-विचित्र कुरा सम्झिन्छन् । मैथिलीमा एक उखान छ- मा करए कुटान-पिसान आ बेटाक नाम दुर्गा दत्त । अर्थात्, आमाले मिहिनेत-मजदुरी गर्ने अनि छोरोचाहिँ सान देखाउँदै सडक चहार्ने । उही एक जमानामा डेजी बरायलीले गाएको ‘भैँसी लड्यो है माया’ गीतमा भनिएको पारा- छोरोचाहिँ है माया हिँड्दछ डुलेर !कन्टिर-बाबूको दिमागमा आज यस्तै-यस्तै कुरा नाचिरहेको छ । अरे सपना त देख्न पाइयो नि ! जे-जे देखे पनि भयो । पूरा गर्नु नपर्ने सपनाको भुलभुलैयामा रमाउने वातावरण जति बनाए पनि भयो ।तपाई अहिले सुनिरहनु भएको छैन ? चुरेको ढुङ्गा-गिट्टी बेचेर व्यापार घाटा कम गर्ने रे ! ओल्बाभन्दा भिजन भएका नेता नेपालमा अर्को छैनन् रे ! नेपालकै राष्ट्रपतिले पत्र लेखेका कारण अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई खोप सहयोग गर्ने निणर्य गरेको हो रे ! कन्टिर-बाबू यस्ता कुरा सुनेर पेट मिचिमिचि हाँस्छन् र कुरी-कुरी भन्छन् । अब कसैले अमेरिकामा बाख्रा हराएको सन्दर्भलाई कसैले नेपालमा स्याल कराएको सन्दर्भसँग ल्याएर जोड्छ भने कन्टिर-बाबू नहाँसेर पनि के गरुन् ? अनि आफ्नो देशलाई मरुभूमि बनाएर अरू देशलाई हरियाली बनाउने सपना देख्ने, आफ्नै घर डढाएर खरानीको व्यापार गर्ने उद्देश्य राख्नेहरूलाई कुरीकुरी नभनेर कन्टिर-बाबूले के भनुन् ? तथापि कन्टिर-बाबू तत्काल आफूलाई सम्हाल्छन् र अर्काको सपना देख्न पाउने अधिकारको सम्मान गर्छन् । कोही आफ्नो धरातलीय यथार्थ बिर्सेर चौतर्फी गुड्डी हाँक्दै हिँड्छ भने त्यसता अबुझ-सठहरू प्रति कन्टिरबाबू राम-राम भन्न सक्छन्, काँध थाप्न सक्दैनन् । बरू उल्लिखित मैथिली उखान सम्झिएर मन सम्झाउँछन् ।
