IMG-LOGO

पनौतीको २००७ अघि र पछिको राजनैतिक अवस्था  

 मंगल, चैत १०, २०७७               – लक्ष्मणसुन्दर शैंजू

 
         प्राचिन नगरी पनौतीमा कृषि पेशा गर्ने यहाँको अधिकांस जनताको जीवन आधार कृषि हो । पहिला नेवार जातीको मात्र बाहुल्य रहेको यस  शहरमा आज भोली विभिन्न जातजाती, विभिन्न भाषा, भाषी र रहन सहन भएको यस प्राचीन शहरमा आ–आफ्नो धर्म, संस्कृति,परम्पराहरु छन् । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक सभ्यताका धनी, मन्दिरै मन्दिरले सुसज्जित, कलैकलाल भरिपूर्ण सुन्दर शहर भएता पनि यसको विकास अपेक्षाकृत कम रहेको छ । आवश्यकताका र चाहनाहरुको न्यूनतम पूर्वाधार स्थापित हुन  यो शहरले सकेको छैन । सवै खाले राजनैतिक आश्था भएको यस क्षेत्रका जनताबीच सौर्हादपूर्ण व्यवहार रहेको भएता पनि राजनीतिमा संलग्न यहाँ शसक्त न्यायोचित आवाज उठाउने व्यक्तिको अहिले पनि अभाव छ । 
    जहानिया राणा शासनबाट जनताहरु अक्रान्त भइरहेको थियो । जसको सर्वत्र निन्दा र विरोध  भइरहेको थियो । प्रत्यक्ष रुपमा प्रकट हुन पएको थिएन् । जव १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई देशद्रोही भनि फाँसी र गोलीद्वारा मृत्यु दण्ड दिइयो । जस्को काठमाण्डौँ उपत्यका सहित सर्वत्र देशभर निन्दा र विरोध भइरहेको थियो । त्यस्को प्रभाव पनौती उपत्यकामा पनि प्रत्यक्ष रुपमा प्रभाव प¥यो । त्यस बेला दिलभक्त शैंजू, जगरिश्वर शैंजू, शहदेव कर्माचार्य, नारायणभक्त कर्माचार्य, विशा नास्ननी, भागवत सिंह महत, ठाकुरदास श्रेष्ठ आदि राणा शासन विरुद्ध संगठन गर्न अग्रसर भएको इतिहास देखिन्छ । 
    २००७ सालको आन्दोलन पछि प्रत्यक्ष रुपमा सप्तलाल ताम्राकार, नारायणदास शैंजू, वद्रिभक्त शैंजू, रोहितमान गोछें, बुद्धिमान होराजु, द्वारिकादास कर्माचार्य, हरिदास सोमनामे, दिलबहादुर कर्माचार्य पनि संलग्न भएको देखिन्छ । त्यसपछि नेपाली काँग्रेस, नेपल प्रजापरिषद्, नेपाल राष्ट्रिय कांग्रेस पार्टी गठन भएको इतिहास छ । नेपाली काँग्रेसको गठन प्रेमवहादुर महाजु श्रेष्ठले, नारायणभक्त कर्माचार्य, द्वारिकादास कर्माचार्य, सप्तलाल ताम्राकारको अगुवाईमा, नेपाल राष्ट्रिय प्रजापरिषद वद्रिभक्त शैँजू, ठाकुरदास श्रेष्ठ, खिलेन्द्र बहादुर भण्डारी खोपासी, बुद्धिमान होराजुको अगुवाइमा र नेपाल राष्ट्रिय काँग्रेस नारायण दुवाल बद्रिशम्भु शैंजू, नारायणदास खड्गी र प्रेमलाल श्रेष्ठको अगुवाईमा गठन गरेको पाइन्छ । 
    २००७ सालको आन्दोलनमा प्रत्यक्ष अप्रत्येक्ष रुपमा रोहितमान गोछें, नारायणदास श्रेष्ठ, कृष्णभक्त शैंजू, लक्ष्मीबहादुर ताम्राकार शिवलाल मतछें लागेको पाइन्छ । त्यसै क्रममा शिवलाल मातछें, कृष्ण्भक्त शैंजू, नारायणदास श्रेष्ठ आदिलाई आन्दोलनकारी भनी प्रहरीले देलापाटीमा राखेका थिए । तत्कालिन शैनिक राईटर हरिदास श्रेष्ठले उहाँलाई छुटाएका थिए । राइटर हरिदास श्रेष्ठ दोश्रो विश्व युद्धमा नेपालबाट गएको टोलीमा भारत भएर गएका थिए । 
    २००८ सालमा डा. के.आई. सिं काण्डमा पनौतीका द्वारिकादास कर्माचार्य, तुईलाल हल्वाई र दोझें भन्ने रुन्चे श्रेष्ठ (मुक्तिसेना) संलग्न रहेको पाइन्छ । त्यस्तै के.आई.सिं को काण्डको चन्द्रबहादुर खड्का र लक्ष्मण सुनदर शैंजू, सिंहदरवारबाट गोली चल्दा मध्य टुडिखेल हाल रङ्गसालातर्फ लागेका थियो ।  २००६ सालमा नेपाल कम्युनिष्ट स्थापना भएपछि पनौती उपत्यकामा पनि गोपाल जंगम, ठाकुर भक्त कर्माचार्य, रामसुनदर शैंजू, हेराबहादुर प्रजापती, रामदास मानन्धर, भोला जंगम, बाबुलाल मानन्धर कम्युनिष्ठ आन्दोलनमा लागेको देखिन्छ ।
     २०१४ सालको सल्लाहकार सभाको चुनावमा काभ्रेको दक्षिण भेगबाट उम्मेदवार भएका नारायणदास शैंजूले सदरमुकाम धुलिखेल टुडिखेलमा हात उठाएर निर्वाचित गरि निर्वाचनमा अत्याधिक जनताले वहाँको समर्थन गरेपछि उक्त निर्वाचनलाई रद्ध गरे पछि शुसिला थापालाई  सरकारले सल्लाहकारमा मनोनित गरेको थियो । 
    २०१७ सालमा तत्कालिन राजा महेन्द्रले पहिलो जननिर्वाचित विशेश्वरप्रसाद कोइरालाको सरकारलाई अपदस्त गरि राजनैतिक पार्टीहरुलाई निलम्वन गरियो र देशमा पञ्चायत व्यवस्था घोषित गरि निरकुंश शासन लागु भए पछि कांग्रेस र कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु भूमिगत हुन वाध्य भए ।
    २००७ सालको सफल आन्दोलन पछि राजा त्रिभुवनले संविधान सभाको चुनाव गर्ने घोषण गरेपछि २०१५ सालमा मात्र आमचुनाव भयो । उक्त चुनावमा नेपाली कांग्रेसले अत्याधिक उम्मेदवारहरु विजयी गराउन सफल भएपछि विशेश्वरप्रसाद कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री बने । कोइरालाको नेतृत्वमा उक्त आमचुनावमा पनौती क्षेत्रबाट नेपाल गोर्खा परिषदका तिर्थमान लामा निर्वाचित भएका थिए ।
    २०१७ सालको काण्डपछि पञ्चायत व्यवस्थाको विरुद्ध आन्दोलनमा लागेकाहरु धमाधम भूमिगत भए । यस सिलशिलामा बामपन्थी नेता पुष्पलाल श्रेष्ठलाई पनौतीका कम्युनिष्ट अभियानमा लागेका कार्यकर्ताहरुले पनौतीबाट तराई छिचोली भारत निर्वासनमा पु¥याएका थिए । त्यस्तै अर्का वामपन्थी नेता मनमोहन अधिकारी। बलराम उपाध्यय सहितका नेतालाई देवराज लामा र लक्ष्मण सुन्दर शैंजूको सहयोगमा पनौतीबाटै भूमिगत रुपमा भारत पु¥याइएका थिए  र अरु थुप्रै पार्टीका नेता तथा कार्यकर्ताहरु पनि पनैतीबाट भूमिगत रुपमा भारत तर्फ गएका थिए । पनौतीका द्वारिकादास कर्माचार्य, सप्तलाल ताम्राकार, जिवनलाल श्रेष्ठ पनि भारत निर्वशनमा गएका थिए । जिवनराम श्रेष्ठ भरतबाट अहिलेसम्म फर्केका छैनन् ।  
    यसरी पनौती राजनीतिको कोन्द्र बनेको थियो । राजधानी काठमाण्डौँबाट नजिक र ललितपुर जिल्लाको लुभुटारको बाटोबाट र मूख्य रुपमा कुशादेवी र भक्तपुरबाट साँङ्गाको बाटो भई बास्डोल हुँदै छोटो समयमा पनौती आइपुग्ने  भएकोले जहाँनीया राणा शासन र पञ्चायती व्यवस्थाको शासनकालमा राजनैतिक रुपले सुरक्षित थलोको रुपमा विभिन्न पार्टीहरुले आ–आफ्नो आश्रय स्थल एवं गतिविधीको केन्द्र बनाएको हुनु पर्दछ । तराई तर्फ छिचोल्ने अर्को बाटो अप्नाउदा कठिन र सहज पनि थिएन् । पनौती उपत्यका साँगाका जनमानसमा राजनैतिक चेतना अभिवृद्धिको लागि आ–आफ्नो संगठन विस्तार गर्न नेपाली कांग्रेसका गणेशमान सिंह, मंगलादेवी सिंह, टंकप्रसाद आचार्य, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण विलाश जोशी, मोतीदेवीे श्रेष्ठ, तुलसीलाल , आमत्य माओवादीका डा. बाबुराम भट्टाराई साहना प्रधान नारायणमान विजुक्छे, (रोहित) डा.मथुरा श्रेष्ठ, लक्ष्मणराज वंशी र कृष्ण बहादुर महरा, माधव नेपाल, रवी प्रसाद ओझा भूमिगत रुपमा आएका पाइन्छ । साथै नरवहादुर कर्माचार्य, चाहना श्रेष्ठ, तुलसी लाल, आमत्य नारायण विलाश जोशी सम्पर्क राखेको निर्वासनमा भारत  गएका द्वारिका दास कर्माचार्य, सप्तलाल ताम्राकार, वासु कोइराला विद्यार्थी आदीले भारतमा विशेश्वर प्रसाद कोइराल, गणेशमान सिंह, सुवर्ण सम्सेर राणा त्यस्तै २०२८÷०२९ सालमा सिन्धुपाल्चोक जिल्ला र काभ्रे जिल्लामा कम्युनिष्ट आन्दोलन (अभियान) को लागि सिन्धुका जयराम पराजुली, शंकर नेपाल र काभ्रेका लक्ष्मण सुन्दर शैंजूले भारतको दरभंगा र पटनामा गएर भूमिगत रुपमा काम गरेर फर्केका थिए । माओवादीका प्रचण्ड, डा. बाबुराम भट्टराईं २०५२ साल अगाडी माओवादीले देशभर संचालन गरेको जनयुद्धको तयारी सिलशिलामा २०५७ सालमा माओवादीका अध्यक्ष प्रचण्डमान प्रसाद गौतम भूमिगत रुपमा लक्ष्मण सुन्दर शैंजू सहित नताहरुलाई कम्युनिष्ट आन्दोलनको प्रशिक्षण दिनु भएको थियो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्