IMG-LOGO

नेपाली समाजको बदलिँदो राजनीतिक मनोविज्ञान

 मंगल, मंसिर २, २०८३  डा. निरञ्जन सापकोटा

    पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णा, नयाँ सरकारप्रतिको आशा र तेस्रो धारको राजनीतिक अवसरवादबीच नेपाली समाज अहिले एउटा महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ । तर नयाँ सरकारलाई समर्थन गर्नु अन्धभक्ति होइन र पुराना दलहरूको आलोचना गर्नु पूर्वाग्रह पनि होइन । यस आलेखमा नेपाली समाजको राजनीतिक चेतनामा आएको परिवर्तनलाई चिरफार गर्ने जमर्को गरिएको छ ।
    नेपाली समाज यतिबेला राजनीतिकरूपमा असाधारण ध्रुवीकरणको अवस्थाबाट गुज्रिरहेको छ । समाजलाई नजिकबाट नियाल्ने हो भने अहिले मूलतः तीन प्रकारका राजनीतिक मनोविज्ञान र प्रवृत्तिहरू स्पष्ट देखिन्छन् । पहिलो, नेपाली कांग्रेस, नेकपा (एमाले) वा पुरानो माओवादी केन्द्रलगायत परम्परागत राजनीतिक दलहरूसँग लामो समयदेखि आबद्ध रहेका र ती दलप्रति आफ्नो राजनीतिक निष्ठा कायम राखिरहेका कार्यकर्ताहरूको एउटा ठूलो समूह छ ।
    दोस्रो, विगतमा यिनै दलहरूसँग जोडिएका, तिनका विचार, आन्दोलन र सङ्गठनमा समय तथा श्रम खर्चिएका तर पछिल्लो समय तिनको कार्यशैलीबाट निराश भएर आफूलाई स्वतन्त्र नागरिकका रूपमा उभ्याउन चाहनेहरूको समूह छ । यही समूहको एउटा उल्लेखनीय हिस्सा अहिलेको नयाँ सरकारप्रति आशावादी र समर्थक देखिन्छ । यो समूहमा केही चाहिँ अवसरको खोजीमा भौँतारिएको जमात पनि समावेश छ ।
    तेस्रो, यी दुई धारभन्दा आफूलाई अलग देखाउने, राजनीतिक परिस्थितिलाई पर्खेर हेर्ने र बदलिँदो जनमतभित्र आफ्नो स्थान खोज्ने अर्को समूह पनि छ जसलाई हर्क राईको समूहजस्तैका रूपमा बुझे पनि हुन्छ । दुर्गा प्रसाईं र केही हदसम्म राप्रपा पनि यही समूहमा पर्छन् । यी तीन प्रवृत्तिबीचको सङ्घर्ष पार्टीगत प्रतिस्पर्धामात्र होइन । यो नेपाली नागरिकको बदलिँदो राजनीतिक चेतना, अपेक्षा,निराशा र भविष्यप्रतिको आकांक्षाको अभिव्यक्ति पनि हो ।
पुराना दलप्रतिको निष्ठा र बदलिँदो जनमत
    कांग्रेस, एमाले र माओवादीजस्ता राजनीतिक दलहरूको नेपालको लोकतान्त्रिक तथा राजनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान छ । व्यवस्था परिवर्तनका आन्दोलन, लोकतान्त्रिक अधिकारको स्थापना, गणतन्त्रको प्राप्ति र संविधान निर्माणसम्मका ऐतिहासिक घटनामा यी दलहरूको अग्रणी भूमिका अस्वीकार गर्न सकिँदैन । तिनको योगदानलाई बिर्सेर आजको राजनीतिक बहसलाई अगाडि बढाउन मिल्दै मिल्दैन । तर इतिहासमा योगदान गरेको तथ्यले वर्तमानमा सधैँ जनताको समर्थन पाइरहने सुनिश्चितता गर्दैन । राजनीतिक दलहरू जनताको विश्वासबाट जन्मन्छन्, जनताको अपेक्षाबाट चल्छन् र जनताप्रति उत्तरदायी हुन नसक्दा क्रमशः कमजोर हुँदै जान्छन् । यो विश्वव्यापी मान्यता नै हो ।
    समस्या यहीँबाट सुरु भएको हो । लामो समयसम्म सत्ताको अभ्यास गरेका दलहरूमा राजनीतिक नेतृत्वप्रतिको अत्यधिक मोह, गुटबन्दी, अवसरवाद, संस्थागत कमजोरी र जवाफदेहीको अभावजस्ता विषयले जनताको असन्तुष्टि बढाएको थियो । पटक पटक सरकार परिवर्तन हुनु, उनै अनुहार फरकफरक समीकरण बनाएर सत्तामा पुग्नु र जनताले अपेक्षा गरेका आधारभूत परिवर्तनहरू व्यवहारमा अनुभूत गर्न नसक्नुले राजनीतिक निराशालाई थप गहिरो बनाएको थियो । यही पृष्ठभूमिमा वर्तमान सरकारले जनमत प्राप्त गरेको हो ।
    यसको अर्थ पुराना दलका सबै नेता कार्यकर्ता खराब छन् भन्ने होइन । ती दलभित्र इमानदार, निष्ठावान् र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध मानिसहरूको ठूलो सङ्ख्या आज पनि छ । तर नेतृत्वको असफलताको मूल्य सम्पूर्ण सङ्गठनले चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ । यही असन्तुष्टिले पुराना राजनीतिक दलबाट अलग भएर स्वतन्त्र नागरिकको पहिचानमा उभिन चाहने मानिसहरूको सङ्ख्या बढाएको हो ।
नयाँ सरकारप्रतिको समर्थन ः परिवर्तनप्रतिको अपेक्षा 
    अहिलेको राजनीतिक बहसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष नयाँ सरकारप्रति देखिएको नागरिक समर्थन हो । यस समर्थनलाई कतिपयले नयाँ राजनीतिक शक्तिको भक्ति, व्यक्तिपूजा वा पुराना दलविरुद्धको आवेगका रूपमा व्याख्या गर्ने प्रयास गरेका छन् । तर यो व्याख्या पूर्णरूपमा न्यायोचित देखिँदैन । अहिलेको सरकारलाई समर्थन गर्ने सबै मानिस कुनै पार्टीका सङ्गठित कार्यकर्ता होइनन् । उनीहरू सबैले कुनै राजनीतिक लाभको अपेक्षा राखेका पनि छैनन् । र वर्तमान सरकारले जनमुखी काम नगरेको खण्डमा यो जमात तत्काल अर्को विकल्पतिर लाग्नेछ । उनीहरूमध्ये धेरैजना विगतमा कांग्रेस, एमाले वा माओवादीको राजनीति गरेका मानिस हुन् । कतिपयले ती पार्टीका लागि चुनावमा प्रचार गरे, सङ्गठन बनाए, आन्दोलनमा सहभागी भए र राजनीतिक परिवर्तनका लागि व्यक्तिगत समय तथा श्रम खर्चिए । तर जब उनीहरूले राजनीतिक दलहरूबाट अपेक्षा गरेको परिवर्तन अनुभूत गर्न सकेनन् तब उनीहरू आफ्नो राजनीतिक निष्ठामाथि पुनर्विचार गर्न बाध्य भए ।
    आज उनीहरूले नयाँ सरकारलाई समर्थन गर्नुको कारण विगतका सबै राजनीतिक योगदानलाई अस्वीकार गर्नु होइन । बरु पुरानो राजनीतिक अभ्यासभन्दा फरक कार्यशैली, परिणाममुखी शासन, सुशासन, पारदर्शिता र जवाफदेहीको सम्भावना देख्नु हो । उनीहरूको अपेक्षा पूरा होला नहोला ? त्यो हेर्न भने बाँकी नै छ ।
    त्यसैले यसलाई भक्ति भन्न मिल्दैन । कुनै सरकारप्रति आशावादी हुनु र त्यसका हरेक निर्णयलाई सही ठान्नु फरक कुरा हुन् । सरकारलाई समर्थन गर्ने नागरिकले पनि गलत निर्णयको आलोचना गर्न सक्छन्, कमजोरी औँल्याउन सक्छन् र सुधारको माग गर्न सक्छन् । वास्तवमा लोकतन्त्रमा समर्थनको सबैभन्दा स्वस्थ स्वरूप यही हो । समर्थन भनेको विवेकको समर्पण होइन । समर्थन भनेको राम्रो कामलाई प्रोत्साहन गर्नु र गलत काम हुँदा प्रश्न उठाउने अधिकार सुरक्षित राख्नु हो ।
    अहिलेको नयाँ सरकारप्रति देखिएको समर्थनलाई यही दृष्टिकोणबाट बुझ्न आवश्यक छ । यो समर्थन कुनै व्यक्तिको लोकप्रियतामा मात्र आधारित छ कि राज्य सञ्चालनमा अपेक्षित परिवर्तनको सम्भावनामा आधारित छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ । नागरिकले सरकारबाट  चमत्कार होइन परिणाम चाहेका छन् । उनीहरूले भाषणभन्दा काम, आश्वासनभन्दा उपलब्धि र राजनीतिक प्रतिशोधभन्दा संस्थागत सुधार खोजेका छन् ।
तेस्रो धारः वैकल्पिक राजनीति कि अवसरको प्रतीक्षा ?
    यी दुई स्पष्ट राजनीतिक प्रवृत्तिबीच आफूलाई फरक देखाउन खोज्ने अर्को समूह पनि सक्रिय छ । माटो, श्रम र संस्कृतिको राजनीतिको कुरा गर्ने शक्तिदेखि राष्ट्रियताको नारामा राजनीति गर्ने राप्रपाजस्ता दल तथा विभिन्न स्वतन्त्र राजनीतिक पात्रहरूसम्म यो प्रवृत्तिको दायरा फैलिएको देखिन्छ । दुर्गा प्रसाईं, धवलशमशेर राणालगायतका पात्रहरू पनि आफ्नै राजनीतिक भाष्य र दाबीसाथ सार्वजनिक बहसमा उपस्थित छन् ।
    यी सबैलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्नु उचित हुँदैन । उनीहरूका विचार, राजनीतिक पृष्ठभूमि, उद्देश्य र कार्यशैली फरक हुन सक्छन् । वैकल्पिक राजनीतिक विचार राख्नु लोकतन्त्रको स्वाभाविक पक्ष हो । विद्यमान सरकारको आलोचना गर्नु, फरक राजनीतिक दर्शन प्रस्तुत गर्नु वा नयाँ राजनीतिक सङ्गठन निर्माण गर्नु पनि नागरिकको लोकतान्त्रिक अधिकार हो ।
    तर यहाँ प्रश्न वैकल्पिक विचारको होइन, वैकल्पिकताको विश्वसनीयताको हो । के साँच्चै उनीहरूसँग मुलुकका समस्याको समाधान गर्ने स्पष्ट दृष्टिकोण छ ? के उनीहरूले आफ्ना राजनीतिक प्रस्तावलाई व्यवहारमा उतार्ने सङ्गठनात्मक क्षमता देखाएका छन् ? के उनीहरू जनताको असन्तुष्टिलाई सम्बोधन गर्न चाहन्छन् वा त्यही असन्तुष्टिलाई आफ्नो राजनीतिक अस्तित्व विस्तार गर्ने अवसरका रूपमा प्रयोग गरिरहेका छन् ?
    राजनीतिमा सरकारको कमजोरी पर्खेर बस्नु र त्यसैलाई आफ्नो राजनीतिक उचाइ निर्माण गर्ने अवसर ठान्नु सजिलो हुन्छ । तर देश निर्माणका लागि आलोचनामात्र पर्याप्त हुँदैन । विकल्प प्रस्तुत गर्न सक्नुपर्छ । विकल्प प्रस्तुत गर्नेहरूले आफ्नो दृष्टिकोण, कार्यक्रम, नेतृत्वको विश्वसनीयता र कार्यक्षमता प्रमाणित गर्नुपर्छ । जनताले पुराना दलप्रति असन्तुष्टि व्यक्त गरे भन्दैमा जोसुकैले आफूलाई स्वतः विकल्प घोषणा गर्न मिल्दैन । विकल्प हुनुका लागि विकल्पजस्तो देखिनुमात्र पर्याप्त छैन । विकल्प बन्न सक्ने क्षमता पनि देखाउनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई पनि यो कुरा प्रमाणित गरेर देखाउनु अहिलेको प्रमुख चुनौती हो ।
बाँकी अर्को अंकमा....

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्