IMG-LOGO

पत्रकार पक्राउको भित्री कथा :

 मंगल, कार्तिक १८, २०८३  राम प्रसाद दाहाल

    काठमाडौं– नयाँ पत्रिका दैनिकको आइतबारको अंकमा ‘प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची’ शीर्षकको समाचार प्रकाशित भयो । समाचारमा ती २८ जनाको नाम उल्लेख गरिएको छैन । यो समाचारप्रति प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ का मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) ले फेसबुक स्टाटस लेखे । धेरै पत्रकारलाई मेन्सन गरिएको व्यङ्ग्यात्मक स्टाटसमा उनले लेखेका छन्– ‘यो २८ जना पत्रकारमा को को प¥या हो । २८ मा नपर्ने नि के पत्रकार भन्नू है साथी हो ।’
    नयाँ पत्रिकाको समाचार र बेनको स्टाटसले गत शुक्रबार राज्य आतंक मच्चाउँदै धेरैवटा समाचार कक्षभित्रै प्रवेश गरी धमाधम पत्रकारको धरपकड भएको घटनालाई थप रहस्यमय बनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो घटनामा आफ्नो संलग्नता नरहेको बताउनु र प्रहरीले प्रधानमन्त्रीको सचिवालयको आदेशमा पक्राउ गरिएको भनेर स्पष्टीकरण दिएपछि यो प्रकरण झन् रहस्यमय बनेको छ । यसैबीच, नेपाललाइभले विभिन्न पक्षसँग कुराकानी गरेर पत्रकार पक्राउको भित्री कथा खोजेको छ । कुनै पनि पक्षले औपचारिक रूपमा बताउन नचाहेका घटनाक्रम निकै रोचक छन् ।
    प्रधानमन्त्रीको सचिवालय, गृह मन्त्रालय र प्रहरी स्रोतबाट प्राप्त जानकारीअनुसार गत शुक्रबार बिहान ९ बजेपछि बेनले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई फोन गरे । उनले प्रधानमन्त्रीको सचिवालयको बदनाम गर्ने नेपाल प्रेसका पत्रकारलाई तत्काल पक्राउ गर्न आदेश दिए । नेपाल प्रेसले प्रधानमन्त्रीको सचिवालय आईजीपी कार्कीलाई हटाउने खेलमा लागेको समाचार प्रकाशित गरेको थियो ।
    बेननिकट स्रोत भन्छ– कार्कीले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्दा समस्या आउने चिन्ता सुनाए । बेनले तत्काल पक्राउ गर्न भने । कार्कीले दियोपोस्टले पनि उही प्रकृतिको समाचार लेखेको छ, के गर्ने भनेर पनि सोधे । बेनबाट कुनै प्रतिक्रिया आएन । यतिमै टेलिफोन संवाद टुङ्गियो ।
    प्रहरी प्रमुख कार्की सिंहदरबारमा संसदीय समितिको बैठकमा गए । जहाँ गृहमन्त्री सुदन गुरुङसहित सुरक्षासँग सम्बन्धित अधिकारीहरू थिए । संसदीय समितिको बैठक लम्बियो । त्यही बेला फेरि उनलाई सचिवालयबाट फोन आयो । गृह मन्त्रालय स्रोतका अनुसार त्यसपछि कार्कीले गृहमन्त्रीलाई यो विषय सुनाए । तर, मन्त्रीले आफूलाई केही नभनिएको बताए । कार्कीले पत्रकार पक्राउ गर्दा गलत सन्देश जान सक्ने भन्दै सुझाव दिए । गृहमन्त्रीले त्यसलाई गम्भीरतापूर्वक लिए ।
    संसदीय समितिको बैठकपछि महान्यायाधिवक्ताको कार्यालयको एउटा कार्यक्रम थियो । त्यहाँ पनि गृहमन्त्री र आईजीपी सँगसँगै थिए । फेरि फोन आयो– ‘खै, अहिलेसम्म पक्राउ गरिएन ?’ त्यसपछि कार्कीले गृहमन्त्रीलाई यो कुरा सुनाए । गृहमन्त्रीले केही भनेनन् । कार्कीले त्यहीँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई निर्देशन दिए । उनले केही घण्टा राखेर छोड्ने गरी पक्राउ गर्न भने, जसमा गृहमन्त्री पनि सहमत थिए । प्रहरी परिचालित भयो । मीनभवनस्थित नेपाल प्रेसको कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगे । उनलाई टेकु पु¥याइयो ।
    स्रोतका अनुसार आईजीपीलाई बेनले नयाँ पत्रिकाका प्रकाशकलाई पनि पक्राउ गर्न निर्देशन दिए । पछि प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले कार्कीलाई निर्देशन दिन थाले । दबाब झन् बढाइयो । कार्की अलमलिए । नयाँ पत्रिकाका प्रकाशक कृष्णज्वाला देवकोटाको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको घनिष्ठता पत्ता लाग्यो । कार्कीले उनलाई पक्राउ गर्दा झन् समस्या हुने सुझाए । तर, प्रधानमन्त्रीको सचिवालय पटक्कै सहमत भएन ।
    अन्ततः नयाँ पत्रिकाको पुतलीसडकस्थित कार्यालयको समाचार कक्षमा साँझ ५ बजे सादा पोसाकका प्रहरी प्रवेश गरे । सो दिन पत्रिकामा बिचौलिया इनाम सापकोटाको न्यायाधीश हरि फुयाँलसँगको कनेक्सनबारे समाचार छापिएको थियो । प्रहरीले समाचार लेख्ने पत्रकार नवराज मैनालीलाई खोज्यो । मैनालीलाई उनका सहकर्मीहरूले सुरक्षित स्थलमा राखे । प्रहरी प्रवेश गर्नुअघि मैनालीलाई ‘तपाईंलाई सूचना दिनु छ’ भनिएको थियो ।
    त्यसअघि नै सुवेदीका साथै डीएन खबरका धीरज बस्नेत र मोटिभेट न्युजका शुभराज बराललाई प्रहरीले पक्राउ गरेको खबर आइसकेको थियो । त्यसैले नयाँ पत्रिकाकर्मीहरू सचेत बनेका थिए । दियोपोस्टमा पनि प्रहरी पुगेको खबर फैलिसकेको थियो ।
    यतिबेलासम्म प्रहरीको चेन अफ कमान्ड प्रहरी महानिरीक्षक कार्कीको हातबाट बेन र ढकालमा पुगिसकेको थियो । प्रधानमन्त्रीको सचिवालयले प्रहरी प्रमुखलाई जम्माजम्मी सुवेदी र कृष्णज्वाला देवकोटालाई पक्राउ गर्न भनेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कार्कीले भनेपछि प्रहरी परिचालित भएको थियो ।
श्रोत ः नेपाल लाइभबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्