नेपाली महिलाको कोख भाडामा लिएर दलालले फाइदा लिएका छन । भारतसम्म फैलिएको दलालीको खोजी भइरहेको छ । एक करोड रुपैयाँ । एउटी नेपाली महिलाको नौ महिनाको कोखको मूल्य भनेर दलालले तोकेको भनिएको रकम तर ती महिलाको हातमा पुग्ने रकम भने करिब २५ लाख रुपैयाँ मात्र ।
बाँकी ७५ लाख कहाँ जान्छ ?
यही प्रश्नबाट सुरु हुन्छ नेपाली महिलाको कोख भारतसम्म पु¥याएर व्यापार भइरहेको भनिएको एउटा गम्भीर खोज । भारतीय दैनिक दैनिक भास्करले गरेको स्टिङ अपरेसनबारे नेपालमा प्रकाशित रिपोर्टअनुसार पोखरा र बुटवल क्षेत्रमा रहेका भनिएका बिचौलियाले भारतीय दम्पतीका लागि नेपाली महिलालाई भारत लैजाने सञ्जाल सञ्चालन गरिरहेको दाबी गरिएको छ । स्टिङमा एक महिलाबाट बच्चा जन्माएबापत एक करोड रुपैयाँसम्म असुल्ने, तर महिलालाई करिब २५ लाख रुपैयाँ मात्र दिने भनिएको छ । यो दाबी सत्य हो भने विषय केवल ‘सरोगेसी’ को होइन । यो महिला शोषण, सम्भावित मानव तस्करी र सीमापार संगठित अपराधको विषय बन्न सक्छ ।
एक करोडको कारोबार, महिलाको भागमा २५ लाख
स्टिङमा बिचौलियाले नेपाली युवतीहरू खोज्ने, उनीहरूलाई भारत पठाउने र बच्चा जन्मिएपछि नेपाल फर्काउने गरेको भनिएको छ । रकमको हिसाब अझ गम्भीर छ । ग्राहकबाट एक करोड रुपैयाँसम्म लिइने तर महिलालाई त्यसको करिब एक चौथाइ मात्र दिइने दाबी गरिएको छ । अर्थात् एउटी महिलाको शरीरमा हुने गर्भधारणलाई व्यापारमा परिणत गर्ने, मूल्य निर्धारण गर्ने र त्यसबाट ठूलो नाफा कमाउने काम अरूले गर्ने तर गर्भ, प्रसव र स्वास्थ्य जोखिम महिलाले बेहोर्ने ।
यदि यस्तो संरचना प्रमाणित भयो भने प्रश्न उठ्छ—त्यो कारोबारमा महिलाको स्वतन्त्र सहमति कति छ ? उनलाई सबै जोखिमबारे जानकारी दिइएको थियो ? भारत पुगेपछि उनको कानुनी अवस्था के हुन्छ ? गर्भावस्थामा समस्या आए उपचारको खर्च कसले बेहोर्छ ? बच्चा जन्मिएपछि महिलाको अधिकार के हुन्छ ? यी प्रश्नको उत्तरबिना कोखलाई केवल ‘सेवा’ भनेर व्याख्या गर्न सकिँदैन ।
आईभीएफभन्दा बाहिरको अर्को दाबी
स्टिङ रिपोर्टको सबैभन्दा गम्भीर पक्ष भनेको गर्भधारण गराउने प्रक्रियासम्बन्धी दाबी हो । रिपोर्टअनुसार बिचौलियाले आईभीएफ अर्थात् कृत्रिम गर्भाधान मात्र नभई आवश्यक परे प्रत्यक्ष शारीरिक सम्बन्धबाट गर्भधारण गराउने विकल्पसमेत रहेको बताएका छन् । यो दाबी अनुसन्धानबाट प्रमाणित भएमा अपराधको प्रकृति झन् गम्भीर हुन सक्छ । किनकि यहाँ प्रश्न बच्चा जन्माउने प्रविधिको मात्र होइन, महिलाको यौन तथा प्रजनन अधिकारको पनि हो । कुनै महिलाले आर्थिक बाध्यताका कारण आफ्नो शरीरमाथि यस्तो निर्णय लिन बाध्य पारिएकी हुन् कि उनले स्वतन्त्र रूपमा निर्णय गरेकी हुन् भन्ने अनुसन्धानको मूल प्रश्न बन्नुपर्छ । नेपालमा सरोगेसीको पुरानो विवाद यो विषय नेपालका लागि नयाँ भने होइन । केही वर्षअघि नेपालमा विदेशी नागरिकका लागि व्यावसायिक सरोगेसी सेवा सञ्चालन गर्ने प्रयास सार्वजनिक भएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।
२०७२ सालमा सर्वोच्च अदालतले सरोगेसी सेवा तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो । अदालतले महिलाको प्रजनन स्वास्थ्य, जन्मिने बच्चाको अधिकार र कानुनी जटिलतालाई समेत ध्यान दिनुपर्ने उल्लेख गरेको थियो । पछि सर्वोच्च अदालतको विस्तृत फैसलामा बिना कानुनी व्यवस्था सरोगेसी सेवा सञ्चालन गर्नु उचित नहुने स्पष्ट गरिएको थियो । अदालतले व्यावसायिक सरोगेसी प्रतिबन्धित गर्नुपर्ने तथा विदेशी नागरिकलाई नेपालमा सरोगेसी सेवा उपलब्ध नगराउनेलगायतका विषयमा कानुन निर्माणका लागि निर्देशनात्मक आदेशसमेत दिएको थियो । अर्थात् नेपालले आफ्नो भूमिमा महिलाको कोखलाई व्यावसायिक कारोबारको माध्यम बनाउने विषयमा गम्भीर कानुनी प्रश्न उठाइसकेको छ । तर अहिले प्रश्न अर्कै छ–यदि नेपालमा रोकिएको कारोबारको सञ्जाल भारततर्फ सरेर नेपाली महिलाको शरीर प्रयोग गर्न थालेको हो भने त्यसलाई कसले रोक्ने ?
सीमापार अपराधको नयाँ बाटो ?
नेपालबाट भारतमा महिला तस्करी भएको इतिहास पुरानो छ तर कोखलाई नै कारोबारको माध्यम बनाएर महिला भारत पठाउने सञ्जाल सञ्चालन भइरहेको हो भने यो परम्परागत मानव तस्करीभन्दा फरक र थप जटिल स्वरूप हुन सक्छ । यहाँ दलालले महिला खोज्छ । ग्राहक खोज्छ । मूल्य तोक्छ । सीमा पार गराउँछ । स्वास्थ्य सेवासँग जोड्छ । गर्भधारण गराउँछ । बच्चा जन्मिएपछि महिला फर्काउँछ । बीचमा ठूलो रकमको कारोबार हुन्छ । यस्तो सञ्जाल छ भने त्यसमा एउटै व्यक्ति मात्र संलग्न हुँदैन । यसमा नेपालका बिचौलिया, भारतमा रहेका सम्पर्क व्यक्ति, स्वास्थ्य संस्था, सम्भावित ग्राहक र अन्य सहयोगी संरचना जोडिएको हुन सक्छ ।
त्यसैले अनुसन्धान पनि केवल एउटा दलाल पक्राउ गरेर सकिने विषय होइन । पाँच जना मात्रै ? स्टिङ रिपोर्टमा बुटवल र पोखराका केही व्यक्तिहरूको नामसमेत उल्लेख गरिएको छ । रिपोर्टअनुसार एक बिचौलियाले आफूले पाँच जना युवती भारत पठाइसकेको दाबी गरेको बताइएको छ । यदि यो दाबी सत्य हो भने तत्काल अर्को प्रश्न उठ्छ – ती पाँच जना को हुन् ? उनीहरू अहिले कहाँ छन् ? उनीहरूलाई कति रकम दिइयो ? कसले भारत पु¥यायो ?
कुन अस्पताल वा क्लिनिकमा प्रक्रिया भयो ? बच्चा जन्मिएपछि उनीहरू कहाँ फर्किए ? र उनीहरूको स्वास्थ्य अवस्था अहिले कस्तो छ ? यी प्रश्नको उत्तर खोजिएपछि मात्र यो एउटा स्टिङको सनसनी हो कि वास्तवमै सञ्चालनमा रहेको सञ्जाल हो भन्ने स्पष्ट हुन सक्छ । राज्यलाई थाहा छैन ? नेपालमा प्रकाशित रिपोर्टअनुसार यस विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ताले आफूहरूलाई अहिलेसम्म जानकारी नभएको र यस्तो भइरहेको भए अनुसन्धान गर्ने बताएका छन् । यही भनाइले अर्को गम्भीर प्रश्न जन्माउँछ ।
यदि एउटा भारतीय सञ्चारमाध्यमले नेपालभित्र आएर बिचौलिया भेट्न सक्छ, रकमको कुरा गर्न सक्छ र महिलालाई भारत लैजाने दाबीको भिडियो सार्वजनिक गर्न सक्छ भने नेपालको अनुसन्धान संयन्त्रलाई यस्तो गतिविधिको सूचना किन पुगेन ?
यो प्रश्न कुनै निकायलाई दोषी ठहर गर्न होइन । यो अनुसन्धान सुरु गर्ने प्रश्न हो । अब प्रहरी, सीआईबी, अध्यागमन, महिला तथा बालबालिका सम्बन्धी निकाय र स्वास्थ्य नियामक निकायले संयुक्त रूपमा अनुसन्धान गर्नुपर्ने अवस्था देखिन्छ ।कोखको मूल्य कसले तोक्छ?सरोगेसीको बहसमा एउटा संवेदनशील पक्ष सधैँ छुट्ने गर्छ–महिला । बच्चा चाहने दम्पतीको इच्छा हुन्छ । चिकित्सकसँग प्रविधि हुन्छ । दलालसँग बजार हुन्छ । तर गर्भ धारण गर्ने महिलासँग के हुन्छ ? उनको शरीर हुन्छ । उनको स्वास्थ्य हुन्छ । उनको प्रसव हुन्छ ।
उनको जोखिम हुन्छ । त्यसैले गरिब महिलालाई पैसा देखाएर कोख प्रयोग गर्ने संरचना बनेको हो भने त्यसलाई केवल ‘दुई पक्षबीचको सम्झौता’ भनेर हेर्न मिल्दैन । गरिबीभित्र गरिएको सहमति वास्तवमै कति स्वतन्त्र हुन्छ भन्ने प्रश्न उठ्छ । अब अनुसन्धान कहाँबाट सुरु गर्ने ? सबैभन्दा पहिले स्टिङमा देखाइएका दाबीहरूको स्वतन्त्र पुष्टि आवश्यक छ ।
त्यसपछि–नेपालबाट भारत पठाइएका महिलाको पहिचान, बिचौलियाको आर्थिक कारोबार, बैंक तथा डिजिटल भुक्तानी, भारतमा रहेका सम्पर्क व्यक्ति,सम्बन्धित स्वास्थ्य संस्था,गर्भधारण तथा प्रसूति भएका अस्पताल,बच्चाको कानुनी अभिभावकत्व, र सीमा पार आवतजावतको अभिलेख–यी सबै अनुसन्धानका सम्भावित आधार बन्न सक्छन् । साथै भारतका सम्बन्धित अनुसन्धान निकायसँग समन्वय आवश्यक देखिन्छ । किनकि यदि अपराध सीमापार भएको हो भने अनुसन्धान पनि सीमापार नै हुनुपर्छ ।
अन्तिम प्रश्न
एउटी महिलाको कोखलाई एक करोड रुपैयाँको मूल्य तोकिएको भनिएको छ । तर उनको स्वास्थ्यको मूल्य कति ? गर्भावस्थाको जोखिमको मूल्य कति ? प्रसवको पीडाको मूल्य कति ? र बच्चा जन्माएर फर्किएपछि उनको मनमा बाँकी रहने खालीपनको मूल्य कति ?
यी प्रश्नको उत्तर पैसाले दिन सक्दैन । नेपालले केही वर्षअघि आफ्नै भूमिमा व्यावसायिक सरोगेसीमाथि गम्भीर प्रश्न उठाइसकेको छ । सर्वोच्च अदालतले पनि व्यावसायिक सरोगेसी नियन्त्रण र स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता औँल्याइसकेको छ । अब चुनौती सीमा पारि छ । यदि नेपाली महिलाको कोखलाई भारतमा लगेर व्यापार भइरहेको दाबी प्रमाणित हुन्छ भने यो केवल एउटा महिलाको कथा हुनेछैन । यो गरिबीमाथि गरिएको व्यापारको कथा हुनेछ । यो कानुनको खाली ठाउँको कथा हुनेछ । यो दलालीको सीमापार सञ्जालको कथा हुनेछ । र सबैभन्दा ठूलो कुरा—यो प्रश्न हुनेछ, राज्यको नजर नपुगेको ठाउँमा नेपाली महिलाको शरीरमाथि कसले शासन गरिरहेको छ ? त्यसको उत्तर अब स्टिङले होइन, अनुसन्धानले दिनुपर्छ ।
