किन राजेन्द्र खरेललाई सम्झने ? के यो भावना मात्रै हो? कर्मकाण्ड हो ? या कुनै विज्ञापन हो ? सम्झेर के फाइदा हुन्छ ? यस्ता प्रश्नहरू उठ्न सक्छन् । हामीले सम्झिएका थियौँ वा आदरभाव प्रकट गरेका थियौँ भन्ने कुराको जानकारी अब उहाँलाई हुने छैन । वास्तवमा, म स्मृतिशेष राजेन्द्र खरेल मार्फत आजको समाजसँग संवाद गर्न खोज्दै छु ।
१. जीवन एउटा महाकाव्य ः– जीवन एउटा महाकाव्य हो । यसका काव्यकार, अध्येता, द्रष्टा र भोक्ताको हैसियत अनुसार यसको अर्थ र व्याख्या फरक पर्ने रहेछ । हरेक मान्छे एउटा अद्भुत ग्रन्थ होस जसले जसरी वितायो, त्यसरी नै बित्ने रहेछ जीवन । कोही सामाजिक प्रेरक बन्दा रहेछन्, कोही स्मृतिमा रहन्छन् त कोही विस्मृतिको गर्तमा हराउँछन् । जीवनको अर्थ र मर्म खोज्दै भौँतारिरहेको समयमा स्मृतिशेष राजेन्द्र खरेलबारे लेख्नु द्रष्टाको अनुभूति क्षमताका लागि एउटा चुनौती पनि हो ।
२. सम्झनाका आधारहरू ः– हरेक मानिसलाई समाजले सम्झनुका विशिष्ट कारणहरू हुन्छन् । उसका जीवनका महत्वपूर्ण पाटा, अन्तिम समयसम्म उसले धानेका मान्यता, खेलेका भूमिका र जीवनको अन्त्यसम्म निष्कलङ्क रहेका पक्षहरू नै स्मृतिका मुख्य आधार बन्दा रहेछन् ।
३. इतिहास र मृत्युको क्रुर समीक्षा ः– व्यक्ति, समाज र राष्ट्र—सबैको आ–आफ्नो इतिहासमार्ग र जीवनयात्रा हुन्छ । ती अनेकौँ घुम्ती (टर्निङ प्वाइन्ट) हरू भएर गुज्रिन्छन् । कतिपय क्षण सम्झन लायक हुन्छन् । भने कतिपय विषय ‘बिर्सन पाए पनि हुन्थ्यो ।’ भन्ने खालका हुन्छन् । तर इतिहास अत्यन्तै क्रुर हुन्छ हरेकको इतिहास उसैसँग यात्रा गरिरहेको हुन्छ । मृत्यु जीवनको क्रुर समीक्षा हो । भौतिक शरीर त रहँदैन, तर स्मृतिका कर्महरू युगौँसम्म बाँचिरहन्छन् । तर त्यो मानवकर्म के हो त ? हरेकको जीवन आश र त्रासले निलिरहेको हुन्छ । जागृत वासनाले मान्छेलाई धकेल्दै लैजाँदा कहिलेकाहीँ एउटा नायक पनि खलनायकमा फेरिन्छ । तर मानिस अन्तिम अवस्थामा आफूले निर्माण गरेको आदर्श चरित्र मात्रै समाजले सम्झियोस् भन्ने चाहन्छ । इतिहासको क्रुरता भने यस्तो हुन्छ कि यसले मान्छेभित्रको नायक र खलनायक दुवैलाई अभिलेखीकरण गरिदिन्छ ।
४. भिडतन्त्र र वैचारिक निष्ठा ः– म यहाँ स्मृतिशेष राजेन्द्र खरेलको व्यक्तित्वलाई काभ्रेका कांग्रेसनेता, सांसद वा मन्त्रीका रूपमा मात्र कैद गर्न चाहन्नँ । उहाँको सादगी, वैचारिक निष्ठा र अनुकरणीय राजनीतिक व्यक्तित्व (टावर पर्सनालिटी) नै प्रमुख कुरा हुन् । आज आदर्शहीन, विचारहीन र उपयोगिताका आधारमा राजनीतिक मूल्याङ्कन हुने भिडले मान्छे लतारिएको छ ।
नागरिकबाट हुलमा मिसिँदै रैती बन्ने यो भिड–मनोभावका बीच विचारयुक्त मानिस मात्र दीर्घकालीन हुन्छन् । राजनीतिको भिड भनेको खहरे खोला जस्तै हो—उ या त सुक्नुपर्छ या नदीमा मिसिनुपर्छ । दुवै अवस्थामा उसको मौलिक मानवीय परिचय भने रहँदैन । खरेल एउटा निष्ठावान् प्रजातन्त्रवादी भएकाले नै उहाँ स्मृतिमा रहनुभएको हो र उहाँको चर्चा आवश्यक भएको हो ।
५. टुहुरो बनेको प्रजातान्त्रिक अड्डा ः– लक्ष्मीदिदीको होटल नयाँ बानेश्वरबाट थापागाउँतर्फ लाग्न थाल्दा एउटा खाजा पसल आउँछ — लक्ष्मीदिदीको खाजा पसल । त्यो कुनै समय कृष्णप्रसाद भट्टराई (किसुनजी) को जमघट थलो हुने गर्दथ्यो । त्यहाँ प्रजातान्त्रिक चेतका कांगेसीहरू जम्मा हुने गर्थे । किसुनजी बितेपछि पनि त्यस राजनीतिक संस्कृतिको निरन्तरता राजेन्द्र खरेलले धानेका थिए । प्रजातन्त्रका प्रवक्ता एवं राष्ट्रपुकारका सम्पादक होमनाथ दाहाल, राजनीतिज्ञ एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीहरूको त्यो प्रिय जमघट थलो थियो । म वामपन्थी स्कूलको विद्यार्थी । तर त्यहाँ एउटा उच्च राजनीतिक संस्कार थियो, वैचारिक छाइछिटो (पूर्वाग्रह) थिएन । दिउँसोका लागि तयार गरिँदै गरेका परिकारका लागि काटिएका प्याजले सबैका आँखाबाट आँसु झार्दा पनि त्यहाँ नियमित उपस्थित हुनेहरू अभ्यस्त भइसकेका हुन्थे । त्यहाँ समकालीन राजनीतिका गम्भीर बहसहरू चियाको चुस्कीसँगै हुन्थे । होमनाथ दाहालपछि त्यस क्लबका ‘हेडसर’ जस्ता देखिने राजेन्द्रजी पनि अब बित्नुभयो । उहाँको प्रस्थानसँगै त्यो प्रजातान्त्रिक अड्डा आज टुहुरो बनेको छ ।
६. राजेन्द्र खरेललाई सम्झनुका प्रेरक पाटाहरू
क. राजनीति कुनै व्यापारिक ‘ट्रेडमाक’ नभई संस्कार र संस्कृतिको जीवन्त अभ्यास हो, जुन अभ्यास जीवनमा लागू हुनुपर्छ ।
ख. सम्मान पाउनका लागि अरूलाई सम्मान गर्न सक्नुपर्छ ।
ग. अहङ्कार र सामाजिक व्यक्तित्वका बीच कुनै साइनो हुँदैन ।
घ. समाज र राजनीतिमा विभिन्न विचार र मान्यताहरू हुन्छन् । ती विचारले निर्देशित हुन्छन् भने भिन्न विचारसँग पनि निरन्तर विमर्श आवश्यक हुन्छ । भिन्न विचारलाई आदर गरे मात्र आफ्नो विचार पनि अन्य शक्तिले त्यही स्तरमा गम्भीर भएर सुन्छ, भन्ने प्रजातान्त्रिक संस्कार उहाँमा थियो ।
ङ. लोकतन्त्र कुनै ट्रेडमार्क नभएर जीवनपद्धति हो ।
अन्तमा, स्मृतिशेष राजेन्द्र खरेल कांग्रेसका नेता वा किसुनबाबुका युगीन प्रतिनिधि मात्र नभएर राजनीतिक संस्कृतिका असल वाहक हुन् । उहाँको जीवनले दिएको सन्देश भनेको—हुने, गर्ने, देखिने र बोल्ने कुराका बीचमा एउटै लय (एकरूपता) हुनु हो ।
अलविदा स्मृतिशेष राजेन्द्र दाइ ! जय नेपाल ।
