एमालेले चुनावमा हारका कारणहरूको मूल्याङ्कन गरेको समाचार सार्वजनिक भएको छ । त्यस सिलसिलामा २० वटा कारणहरूको उल्लेख गरिएको छ । तर त्यसले मूल्याङ्कन गरेका कारणहरूमा मुख्य बाह्य र आन्तरिक कारणहरूको कुनै चर्चा नै गरिएको छैन । बाह्य कारणमा अमेरिकी साम्राज्यवादको भूमिका नै मुख्य हो भने आन्तरिक कारणमा त्यसका अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र अधिनायकवादीकारण नै मूख्य हो । त्यस सन्दर्भमा भाद्र २३ गतेको गोली काण्डको घटना पनि उल्लेखनीय छ ।
नेपालको अहिलेको चुनाव अमेरिकाको नेपालमा आफ्नो कठपुतली सरकार बनाउने रणनीतिद्वारा निर्देशित थियो । त्यसका लागि नै संसदको विघटन गरेर नयाँ चुनावको घोषणा गर्न लगाइयो । नेपालमा त्यस प्रकारको कठपुतली सरकारको गठनका लागि पुराना राजनीतिक पार्टीहरू अवरोधको रूपमा उभिएका थिए । संसदको विघटन नगरिकन उनीहरूलाई विस्थापित गर्न मिल्दैनथ्यो । त्यसैका लागि संसदको विघटन गर्न लगाइयो । त्यसका लागि आधार तयार पार्ने कार्य आफ्ना भ्रष्ट क्रियाकलाप र कुशासनद्वारा स्वयम् पुराना पार्टीहरूले नै गरेका थिए । जसमा एमालेको पनि मुख्य स्थान छ । त्यस प्रकारको भ्रष्टाचार वा कुशासनका कारणले नै जनतामा खाली पुराना पार्टीहरूप्रति मात्र होइन, स्वयम् बहुदलीय व्यवस्था, गणतन्त्र, वा राजनीतिक पार्टीहरूप्रति नै वितृष्णा पैदा हुँदै गएको थियो । त्यसले नै अमेरिकाको नीतिलाई सफल पार्न बलियो लोकप्रियतावादी जनमत पनि तयार पारेको थियो । एमालेले चुनावको हारको जुन मूल््याङ्कन गरेको छ, त्यसमा न अमेरिकाको त्यो भूमिकाको उल्लेख गरिएको छ, न अन्य राजनीतिक पार्टीहरूका साथै एमालेले आफ्ना भ्रष्ट क्रियाकलाप वा कुशासनद्वारा तयार पारिएको पृष्ठभूमिको नै उल्लेख गरिएको छ ।
भाद्र २३ गतेको गोली काण्डका लागि ओली सरकार जिम्मेवार भएको कुरालाई कुनै पनि अवस्थामा अस्वीकार गर्न सकिन्न । ओलीले कुनै बेला त्यहाँ घुषपैठियाहरूले गोली चलाएको भनेका छन् भने कुनै बेला गोली चलाउनका लागि आफूले कुनै आदेश नदिएको बताएका छन् । ती दुबै अनुसन्धानका विषयहरू हुन सक्दछन् । तर यो कुरा दिनको उज्यालो जस्तै छर्लङ्ग छ कि त्यो दिन भएको त्यति ठुलो गोली काण्डलाई रोक्नका लागि उनले कुनै प्रयत्न गरेका थिएनन् । त्यो अवस्थामा त्यो गोली काण्डको राजनीतिक दृष्टिकोणले मुख्य जिम्मेवारी ओली सरकारको नै हुन जान्छ । त्यसका लागि उनीमाथि कारबाही गर्नुपर्ने कुरालाई कुनै पनि अवस्थामा अस्वीकार गर्न सकिन्न । त्यो पक्षबारे पनि एमालेको मूल्याङ्कनले कुनै प्रकाश हालेको पाइँदैन ।
आन्तरिक रूपमा एमालेको हारको अर्को मुख्य कारण हो, ओलीको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैली । त्यसका कैयौँ प्रमाणहरू छन् । एमाले र माओवादीका बिचमा जुन एकता भएको थियो, ओलीको व्यक्तिवादी वा अधिनायकवादी शैलीका कारणले नै टुटेको थियो । उनले ता बहुमतको निर्णय नमान्ने वा आफ्नो बहुमत नआउने कमिटीको बैठकमा नजाने कुरा सार्वजनिक रूपले नै बताएका थिए । संसदमा उनका विरूद्ध अविश्वासको प्रस्ताव पेस गराउन खोज्दा वा बहुमत सांसदहरूले राष्ट्रपति कहाँ अविश्वासको प्रस्ताव दर्ता गराउन खोज्दा उनले २÷२ पल्ट राष्ट्रपतिद्वारा संसदको विघटन गर्न लगाएका थिए । अविश्वासको प्रस्ताव आएपछि संसदमा त्यसबारे प्रजातान्त्रिक तरिकाले छलफल गराएर त्यसलाई बहुमतद्वारा टुङ्गाउनुको सट्टा उनले जुन तरिका अपनाएका थिए, त्यो अधिनायकवादी तरिका नै थियो ।
उनमा कहाँसम्म चरम प्रकारको व्यक्तिवादी र अधिनायकवादी चरित्र थियो, त्यस सन्दर्भमा अर्का दुईओटा उदाहरणहरू पनि हाम्रा अगाडि छन् । प्रथम, पहिले नेतृत्वमा आफ्नो मार्ग प्रसस्त गर्नका लागि उनले ७० वर्षको उमेरको हदको प्रस्ताव ल्याएर त्यसलाई पारित पनि गराएका थिए । तर पछि त्यही उमेरको हद उनका लागि बाधा बन्न गएपछि उनले त्यो बन्देजलाई खारेज गर्न लगाएका थिए । द्वितीय, विद्यादेवी भण्डारी उनको नेतृत्वको मार्गमा बाधा बन्ने आशंङ्काले उनलाई पार्टीको सदस्य बन्न पनि रोक लगाएका थिए । कुनै अन्तराष्ट्रिय कानुन, प्रचलन वा नेपालको संविधान र कानुनले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन वा पार्टीको सदस्य बन्न रोक्दैन । त्यो कुरा त्यति स्पस्ट हुँदाहुँदै पनि उनले विद्यादेवी भण्डारीलाई पार्टीको सदस्य बन्न रोकेका थिए । जब कि पहिले नै उनको सदस्यताको नविकरण समेत भइसकेको थियो । यो साँच्चै नै बिडम्बनाको कुरा हो कि उनका त्यस प्रकारका खुला अधिनायकवादी कार्यहरूलाई पनि उनीहरूको संगठनको बहुमतले स्वीकार गरेको थियो । त्यसरी, स्पस्ट छ, ओलीको त्यस प्रकारको व्यक्तिवादी वा अधिनायकवादी कार्यशैलीका लागि एमालेका ती सबै नेता र कार्यकर्ताहरू पनि जिम्मेवार छन्, जसले बारम्बार ओलीका त्यस प्रकारका कार्यहरूलाई समर्थन गरेका थिए ।
चुनावमा एमालेको जुन ठुलो हार भयो त्यसका लागि आन्तरिक रुपमा माथिका कारणहरू पनि जिम्मेवार छन् । तर चुनावमा स्वयम् ओली र एमाले समेतको ठुलो हारको मूल््याङ्कन गर्ने बेलामा ती कारणहरूको कुनै उल्लेख गरिएको छैन । त्यसरी उनीहरूले चुनावको हारको जुन मूल्याङ्कन गरेका छन्, त्यो यथार्थवादी छैन र, त्यसैले आउने दिनहरूमा पनि त्यस प्रकारको मूल्याङ्कनले एमालेलाई मार्गदर्शन नगर्ने कुरा प्रस्ट छ ।
एमालेले अहिले देशमा देखा परेको फासीवादको खतराका विरुद्ध व्यापक कार्यगत एकता वा गठबन्धनको लागि अपील गरेको छ । देशमा त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको आवश्यकता भएको कुरालाई हामीले स्वीकार गर्दछौँ । तर ओलीले वा उनको नेतृत्वमा एमालेले जुन प्रकारका नीतिहरू अपनाउदै आएको छ, त्यसमा सुधार नहुँदासम्म त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको सम्भावना देखिँदैन । ओलीको नेतृत्वमा एमालेले अपनाउदै आएको गलत प्रकारका कार्यशैलीका कारणले नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलन दुबैमा ठूलो आघात पु¥याएको छ । हामीले पहिले पनि बारम्बार यो स्पस्ट गर्दै आएका थियौँ कि एमालेमा देखा परेको गलत प्रकारको कार्यशैलीमा सुधार गर्नका लागि एमालेको नेतृत्व वा कार्यकर्ताहरूको पङ्क्ति अगाडि नआएमा त्यसले स्वयम् एमालेलाई नै धरासायी बनाउने छ । व्यवहारले त्यो कुरा प्रमाणित गरेको छ । तर अहिले पनि एमालेको बहुमत, नेतृत्व पङ्क्ति वा कार्यकर्ताहरूको पङ्क्तिमा त्यसबारे स्पष्टता देखिन्न । यो कुरालाई हामीले स्वीकार गर्नुपर्दछ कि नेपालको वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनको इतिहासमा एमालेका नेता वा कार्यकताहरूको लामो र गौरवपूर्ण इतिहास रहेको छ । तर यो इतिहासलाई ओलीको गलत प्रकारको कार्यशैलीले धरासायी बनाउदैँ लगिरहेको छ र त्यसबाट खाली एमाले मात्र होइन, देशको सम्पूर्ण वामपन्थी र प्रजातान्त्रिक आन्दोलनलाई नै धेरै क्षति पुगेको छ । त्यो कारणले गर्दा देशमा जनताले लामो सङ्घर्ष तथा त्याग र वलिदानद्वारा प्राप्त गरेको गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्था समेत समाप्त भएर देश फासीवादतिर जाने तथा देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर आँच पुग्ने खतरा बढ्दै गइरहेको छ । के एमालेका लामो सङ्घर्ष वा त्याग र वलिदान भएका नेता वा कार्यकर्ताहरू त्यसबारे सचेत होलान् ?
