प्रिय प्रचण्ड कमरेड !
म २०४४ देखि २०५१ सम्म तपाईंको स्कुलिङको विद्यार्थी थिएँ । हामीले (तीर्थ गौतम र मैले) तपाईंलाई काभ्रेमा पहिलोपटक २०४७ पुस २७ गते पनौती चल्ने मिनी डम्फर चढाएर ल्याएका थियौँ । त्यतिबेला तपाईंको नाम कामरेड विश्वासबाट कामरेड निर्माण थियो । म अहिले समुद्रपारिबाट यो चिठ्ठी लेख्दै छु ।
‘फाटेको जालैले छेकेको
छेके पनि छर्लङ्गै देखेको
हेर गाउँले हो, देशमा के के भो ?’
– खुशीराम पाख्रिन
यो गीतबाट आफ्नो विगत सम्झाउन खोजेँ, केही स्मरण र केही कुरा भन्न चाहेँ । रिसाउनुहोस् वा खुसाउनुहोस् तथ्य राख्न चाहन्छु । यही गीत गाउँ गाउँमा गाएर भोट मागेको सम्झना आयो । जनताले ०४८ मा तत्कालीन जनमोर्चा नेपाललाई जम्मा ९ सिट दिएका थिए । विडम्बना, ३४ वर्षपछि फेरि प्रत्यक्षतर्फ जम्मा ७ सिट ? त्यतिबेला कांग्रेसलाई ११०, एमालेलाई ६९, सद्भावना पार्टीलाई ६ र राप्रपालाई ४ सिट जनताले दिएका थिए ।
कांग्रेसमा ३६ से र ७४ को लफडाले २०५१ को मध्यावधि भयो । त्यो चुनाव बहिष्कार गरेर तपाईंले जनयुद्धको रिहर्सल गर्नुभयो । ०५६ को चुनावमा सशस्त्र विद्रोही हुनुहुन्थ्यो । पटक–पटकका युद्धविराम र वार्ता हुँदै दिल्लीमा सात दलसँग १२ बुँदे सम्झौता गरेपछि २०६२÷६३ मा सिक्लेसबाट हेलिकप्टर चढेर बालुवाटारमा प्रकट हुनुहुँदा म हेर्न पुगेको थिएँ सञ्चारकर्मीको नाताले ।
बागमती त धेरै फोहोर छ । नारायणीमा धेरै पानी बगिसक्यो– यी कुरा गर्नु अहिले सान्दर्भिक छैन । आफ्नै जीवनकालमा तपाईंलाई बिचरा भन्ने स्थानमा किन पु¥याए कामरेड ! हुन त एमाले पत्तासाफ भएकोमा नेकपा खुशी छ । कांग्रेस पनि पत्तासाफ भएकोमा एमाले दंग देखिन्छ । आफूजस्तै दल बन्ने बाटोमा नेकपाको कछुवा चाल देखेर राप्रपा खुशी छ । राजावादी राप्रपाको हरिबिजोग देखेर, गणतन्त्रवादी भन्नेहरू उत्पात रमाएका छन् । खुशी यतिमा मात्रै सीमित छैन कामरेड !
तराईमा जसपा देखेर जनमत खुशी छ । जनमत देखेर जसपा हाँसेको छ । उता एमाले पार्टीभित्र चाहिँ आफूजस्तै ईश्वर पोखरेल हारेकोमा ओली खुशी छन् । विष्णु पौडेल हारेकोमा शंकर पोखरेल हर्षबिभोर छन् । सिके राउत हारेकोमा उपेन्द्र खुशी छन् । उपेन्द्र हारेकोमा सिकेलाई उस्तै आनन्द आएको छ । घरघर कि कहानी हो आमाजू – बुहारीको । घरकी आमाजू रेनु हारेकोमा, बुहारी बिनालाई सन्तोक लागेको होला । आफू हारेर बुहारीले मात्र जित्लिन् भन्ने टेन्सन नभएर रेनु दिदी यसै उत्तिकै खुशी भएकी होलिन् ।
तपाईंको हरिबिजोग देखेर वैद्य, विप्लव र आहुतीलाई कम्ता आनन्द आको होला र ! तर म किन–किन तपाईंको प्रगतिमा खुशी हुन्छु । यो रसातलमा तपाईंभन्दा पनि किन दुःखी हुन्छु ? के यो प्रेम हो ? म तपाईंप्रति यति आशक्त किन ? मान्छेहरू यी पात्र र पार्टीका दुःख मात्र देख्छन् । म त यहाँ सबै खुशी भएको देख्छु । अरुले मैले जसरी देख्छन् कि देख्दैनन् ?
कामरेड, कुनै जमाना प्रचण्डको नाम सुन्नासाथ विरोधीको सातोपुत्लो उड्थ्यो भने सहयोगी र सहगोत्रीको आशा र भरोसाको केन्द्र हुनुहुन्थ्यो । आशालाग्दा ठानिएका प्रचण्ड पुष्पकमल दाहालमा परिणत भएपछि एकपछि अर्को रूपमा अविश्वासी किन हुनु भो ? विरोधीका लागि मात्र कागजी बाघ हुनु भो । अहिले कठैबरा भन्ने स्थिति कसरी आयो ?
पहिलो जनआन्दोलन अर्थात् २०४६ पछि नेपाली कांग्रेसले राम्रो गरेको भए यो अवस्था आउने थिएन । प्रमुख दोषी गिरिजाप्रसाद कोइराला हुन् । ०५१ को मध्यावधि र त्यसपछिका प्राडो पजेरो, बैंकक काण्डजस्ता संसदीय फोहोरी राजनीतिले माओवादी आन्दोलन मौलाएको हो । माओवादी विद्रोह पहिला माओवादीकै नेतृत्वमा थियो शान्ति प्रक्रियाको १२ बुँदेदेखि तपाईंको कमाण्ड नै देखिएन । पहिलो संविधानसभामा सबैभन्दा पहिलो पार्टी भएको बेला बुद्धि पु¥याएर काम गर्न सक्नु भएन । सेनापति, पशुपति प्रकरणले कहाँ पु¥यायो ?
पटक–पटक पार्टी सिसाझैँ फुट्यो । फुटेर जानेलाई कहिल्यै मिलाउन सक्नु भएन । माओवादी विचार, आदर्श र स्पिरिट सबै विघटन भयो । अहिले वामपन्थीलाई एकीकृत गरेर नेकपा बनाएको कुरा जनताले पत्याउन सकेनन् । परिवारवादमा फस्नु भो, आसेपासेले घेरिरहे । सल्लाहकार गतिला भएनन् र थिएनन् पनि ।
संसदीय व्यवस्थाको विरोध गर्दागर्दै संसदीय दलदलमा नराम्ररी फस्नु भो, होइन ? अलग भिजन पनि रहिन्छ भन्ने प्रमाणित भयो र आफ्नो अडानमा कहिल्यै रहन सक्नुभएन । लगातार ४० वर्षसम्म सधैँ नेतृत्व गर्दा झ्याउ लाग्नुपर्ने हो तर बिसाउने भरोशा कसैमाथि देख्नुभएन । तपाईंको उत्तराधिकारी नै भएनन् कामरेड । अब पार्टीलाई पूरै रूपान्तरण गर्नुस् ।
यतिबेला देश संकटमा छ । तपाईंको गम्भीर गल्ती नै २०७४ मा केपी ओलीसँग मिल्नु र देउवासँग पटक–पटक चुनावी गठबन्धन गर्नु हो । टुक्रा–टुक्रा भएको माओवादी पार्टी विघटन त भयो अब कम्युनिष्ट पार्टीमाथि हमला भएर यो अस्ताउने संघारमा पुगिसक्यो, यसको औपचारिक घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेजस्तै अवस्थामा पुग्नुको दोष तपाईं र ओलीलाई जान्छ । तपाईंको पार्टी अब कहिल्यै पहिलेको अवस्थामा आउने छैन । जनताको बलिदानबाट उदाएका नेताको त यो हालत छ भने यी फेसबुक र टिकटकबाट उदाएकाको कति दिन हो र ? सबैजसो वामपन्थी र लोकतान्त्रिकहरूले परिवर्तनप्रतिको आशा गरेका छन् । त्यो तप्का निरास भएका छन्, क्रान्तिकारी आन्दोलनको कम्युनिष्ट धारा नै विघटन हुन लागेकोमा ।
नेपालमा अब कम्युनिष्ट आन्दोलन असफल भइसकेको मान्न सकिन्छ । पुनःसंंगठित गर्न र पहिलाजस्तो शक्तिमा हुने सम्भावना छैन । जनतालाई यतिबेला शान्त, समुन्नत नेपाल चाहिएको छ । त्यो नेपाल बनाउन विधिको शासन आवश्यक छ । संविधान कार्यान्वयन गर्न भूमिका खेल्नुस् । धेरै नबोल्नुस् । रास्वपाको नेतृत्व गर्छु भन्नुभएको थियो, अर्को बाबुराम नबन्नुहोस् । तपाईं बिचराको स्थितिमा भए पनि अझै जनताले आशा र भरोसा गरेका छन् ।
