IMG-LOGO

निर्वाचनका नौला कुरा र रास्वपाका चौध चुनौती

 मंगल, फागुन २६, २०८२  – प्रकाश सापकोटा

          अन्ततः केही आशंका र केही आशाहरूका बिच चुनाव सकियो । इतिहासकै एक फरक परिस्थितिबाट सिर्जित माहौलमा नियमित भन्दा बेग्लै समयमा भएको यो पटकको चुनाव केही खास पनि रह्यो । अनपेक्षित परिस्थितिमा अनपेक्षित गैर–राजनीतिक सरकारले गराएको यो चुनावको परिणाम पनि धेरैका लागि अनपेक्षित नै भयो । यसले सिक्नु पर्नेका लागि गहिरो पाठ पनि सिकाएको छ भन्दा अतिशयोत्ति हुने छैन । नेपालमा हालै सम्पन्न संसदीय निर्वाचनको मत परिणाम इतिहासमै सम्झन लायक भयो ।

          कतिपयले समयमा सम्पन्न हुनेमा नै आशंका गरेका निर्वाचनलाई इतिहासकै पहिलो महिला सरकार प्रमुखले सफलता पूर्वक तोकेकै समयमा सम्पन्न गराएरै देखाइन् । तुलनात्मक रूपमा हुलदङ्गारहित चुनाव भयो । यस आलेखमा यसपटकको चुनावका केही सम्झन लायक कुरा र परिणामसँगै विजेता दलका सामु रहेका केही चुनौतीहरू बूँदागत प्रस्तुत गर्दैछु ।

सम्झनलायक सत्र कुरा ः

१. इतिहासकै पहिलो महिला सरकार प्रमुखले आशंकाहरूलाई चिर्दै तोकेकै समयमा चुनाव गराएरै छाडिन् । उनीमाथि नेपाली जनताको श्रद्धा भाव बढेर गयो ।

२. इतिहासकै सानो मध्येको मन्त्रीमण्डलले यो काम सम्पन्न ग¥यो ।

३. तुलनात्मक रूपमा कम विवादित, कम हुलदङ्गा र धाँधलीरहित चुनाव भयो ।

४. इतिहासमै धेरै युवा उम्मेद्वार सम्मिलित सायद पहिलो यस्तो चुनाव भयो ।

५. इतिहासमै धेरै गैर–राजनैतिक पृष्ठभूमिबाट आएकाहरू उम्मेद्वार बने र धेरैले जिते ।

६. विद्यमान निर्वाचन प्रणालीमा एउटै दलले यति धेरै सिट जितेको इतिहासकै पहिलो चुनाव बन्यो ।

७. पार्टी स्थापनाको सबैभन्दा छोटो अवधि (साँढे तीन वर्ष)मा दुई तिहाइको एकल बहुमत ल्याउने इतिहासकै पहिलो भाग्यमानी दलमा रास्वपाले आफूलाई उभ्यायो ।

८. मतदाताहरूमा पनि खुलेर उम्मेद्वारहरूसँग हाकाहाकी प्रश्न र आलोचना गर्ने सम्मको चेतना विकास भएको देखियो ।

९. दलगत स्थीर, अपरिर्तनीय मतदाताहरूको समूह पनि चकनाचुर भएको पाइयो ।

१०. ठूला दलहरू भित्रभित्रै मक्किएका रहेछन् भन्ने छर्लङ्ग पारिदियो । यसअघिका कतिपयले राष्ट्रिय दलको हैसियत नै गुमाए ।

११. मै हुँ भन्ने नेताहरूले अहङ्कार, दम्भ र जनतामा चारो अनि छारो हाल्ने प्रवृत्तिको नमिठो जवाफ पाए ।

१२. भोट माग्न जाँदा नै घाँटीले नथेग्ने मालामा पुरिएर विजयोत्सवमा झैँ अबिरे जात्रा गर्ने उमेदवारहरूले आफ्नो त के, फूलको इज्जत पनि जोगाउन सकेनन् ।

१३. पराजितहरूले पनि बढी अनुशासित र मर्यादित भई हार स्वीकार गरेको धेरै पछि आएर देख्न पाइयो ।

१४. विजेता र उपविजेता बिचको मतमा अन्तरका हिसाबले पनि पराजितलाई विर्सनलायक भएपनि जित्ने उम्मेद्वार र मतदाताहरूलाई सम्झिनलायक चुनाव भयो ।

१५. प्रवासी नेपालीहरूले समेत यति धेरै र सक्रिय चासो तथा प्रत्यक्ष–परोक्ष सहभागिता सायद यसअघि जनाएका थिएनन् ।

१६. अपवाद बाहेक परम्परावादी ठूला दलका प्रायः सबै शिर्षस्थ, केन्द्रीय स्तरका र हर्ताकर्ता नेताहरू एकैपल्ट धूलोपिठो भए ।

१७. देशले इतिहासकै सम्झन लायक एक युवा प्रधानमन्त्री पाउने भयो ।

          अब यो चुनावबाट सर्वाधिक जनमत पाएको रास्वपालाई ऐतिहासिक जिम्मेवारी आएको छ  । परिवर्तित समय जनतामा पलाएको परिवर्तनको हुटहुटी, चेत र मुलुकको हितको उत्कट चाहनालाई सम्बोधन गर्ने अभिभारा रास्वपाको काँधमा पुगेको छ । यो चुनावको परिणामले उसलाई जित मात्र दिएको होइन, प्रविधिले चनाखो भइसकेका यो युगका सचेत जनताको निगरानीले अबको सत्ता सञ्चालन र काम गराइ पहिलाको पारामा चल्नेवाला छैन,भन्ने चेतावनी पनि सँगै दिएको छ । समय खेर फाल्ने छुट अब हुने छैन । परिणाम देखिने गरी काम हुनु पर्नेछ । नभएमा त्यो उसका लागि पनि र मुलुकका लागि पनि कठिन दुर्भाग्य मात्र नभई अर्को एक दःुखद् दुर्घटना नै हुनसक्ने छ ।

ऐतिहासिक अभुतपूर्व अवसर पाएको रास्वपाका अबका मुख्य चौध चुनौती ः

१. दुई विल्कुल फरक चरित्रका रवि र बालेनको मिल्तीलाई बरकरार राख्ने ।

२. कलिलो पार्टीमार्फत राजनीतिमा अपर्झट पलाएका पालुवालाई सके बडो होसियारी पूर्वक फुलाउने, नसके छाँटकाँट गर्ने ।

३. विगतका सत्ताधारीको सिको गरेर उही पुरानो सुकुटीमा न रमाउने ।

४. आफू इतरका राजनैतिक र अन्य वाह्य शक्तिहरूले जुनसुकै बेला लगाउन सक्ने छिर्केबाट जोगिने ।

५. लोकप्रिय हुने लोभमा साधन र श्रोतले नै नधान्ने गरी ठुल्ठुला आशा मात्रै बाँडेर जनतालाई पङ्गु बनाउने गरी धेरै नमच्चिने ।

६. एक्लो जिम्मेवारी पाएको भन्दै अरूलाई अनदेखा गरी आफ्नो हात जगन्नाथ नगर्ने ।

७. मतदाताले अरूलाई किन पछारेका हुन् र आफूलाई केका लागि यत्रो भार सुम्पिएका हुन् भनेर किन्चित नभुल्ने ।

८. हस्तक्षेपमुक्त स्वाधिन, स्वाभिमानी अटल रही वैदेशिक र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई तन्दुरुस्त राख्ने ।

९. कुशासन र अनियमिततामा सुन्य सहनशीलताको नीति अवलम्बन गर्ने ।

१०. आलोचकहरूले नै बाटो बिराउन नदिने हुन् भन्ने सोची उनीहरूलाई नखेदने, अनावश्यक आलोचना भए चाहिँ त्यस्को स्पष्ट सालिन जवाफ दिने ।

११. जेन जेडका आवाज नभुली त्यसपछि जेन अल्फा आउँछन् भन्ने पनि ख्याल राख्ने, युग आफूसँग चल्दैन, आफैँ युगसँग चल्नुपर्छ भन्ने कुराको हेक्का राख्ने ।

१२. परम्परागत दलभन्दा आफूलाई सकारात्मक फरक प्रमाणित गरेर देखाउने ।

१३. कर्मचारीतन्त्र र मुलुकका हरेक संरचनालाई दलीय भागबन्डाबाट मुक्त राख्ने ।

१४. चुनाव एक पटकमै सकिने प्रक्रिया होइन भन्ने कुरा पाइला–पाइलामा याद राख्ने, साख जोगाउने ।

          जो होस्, सबैका अनुमानहरूलाई हावा खुवाई यो उभार ल्याएको रास्वपालाई अवसरका लागि बधाई दिनैपर्छ । र, चुनौतीलाई चिर्ने सामथ्र्यको लागि शुभ–कामना पनि । अब देश हाँसोस्, देशले जितेको सावित होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्