संसारको सबैभन्दा ठूलो विचार भनेको स्वतन्त्रता हो । प्रजातन्त्र हो । मानव ईतिहासमा स्वतन्त्रता र प्रजातन्त्र भन्दा ठूलो विचारको जन्म भएकै छैन । व्यक्ति र पार्टी समाजवादी हुन सक्दछ तर राज्य समाजवादी हुन सक्दैन राज्यको विचार हुँदैन । हुन्छ भने उक्त राष्ट्र प्रजातान्त्रिक बन्दैन ।
तर नेपाली काङ्ग्रेस नेतृत्वमा बनेको संविधानले नेपाललाई समाजवादी राज्य बनाएको छ । समाजवादी विचारलाई राज्य विचार बनाएको छ । राज्यको धर्म हुन्न भन्नेले राज्यको विचार हुन्छ भन्न मिल्छ रु त्यसकारण नेपाली काङ्ग्रेसले स्वतन्त्रता र प्रजातन्त्रको मूल मर्मलाई परित्याग गरेको बुझ्नु पर्दछ ।
सङ्घीयता कुनै विचार होइन यो शासन सञ्चालनको विधि र प्रविधि मात्र हो । सङ्घीयता प्रजातन्त्र पनि होइन – सोभियत सङ्घमा पनि संघीयता थियो । सङ्घीयता स्थान विशेषको आकांक्षालाई स्थान विशेषको क्षमताले सम्वोधन गर्ने विधि मात्रै हो । कुनै विचार र दर्शन होइन ।
हामीले भारतलाई हेर्दा उत्तर प्रदेश र महाराष्ट्र वा आसाम र गुजरात कहीं जोडिन्नन, विहार र केरला पनि जोडिन्न । भूगोल, भाषा, संस्कृति परम्परा केही कुराले पनि जोड्दैन । उनीहरुका हित, सरोकार, आकांक्षा पनि जोडिन्न । त्यसैले त्यहाँ सङ्घीयता आवश्यक बन्यो ।
सबैलाई थाहा छ ( नेपाल त्यस्तो होइन । नेपाल यौटै भूगोल हो, मुलुक भर सबैले बुझ्ने भाषा छ, सबै जसो जनतालाई जोड्ने साझा धर्म र संस्कृति छ । सर्लाही वा धनुषालाई सिन्धुलीसँग छुट्याउन नै सकिन्न । उदयपुरलाई सिराहासँग र उदयपुरलाई
ओखलढुंगा र सिन्धुलीसँग छुट्याउन सकिन्न । डोटी र बैतडीलाईलाई कैलाली र कञ्चनपुरसँग अलग बुझ्नै सकिन्न । छुट्याएर तिनको दीगो विकास र सम्वृद्धिलाई सुनिश्चित गर्न सकिन्न ।
नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीको एजेन्डा समात्यो त्यहीँ हाम्रो गम्भीर गल्ती भो । हामीलाई यी प्रदेशको खाँचो थिएन ।
समावेशिता भनेको सबै जात–जाति वा समुदायको फरक र विशिष्ट क्षमतालाई राज्य क्षमतासँग जोड्ने पद्धति हो । प्रविधि हो । त्यो भनेको जुम्लालाई काठमाडौँ बनाउने होइन, यार्सागुम्बालाई कुरिलो बनाउने र मगर वा थारूलाई ब्राह्मण वा क्षेत्री बनाउने पनि होइन । त्यो भनेको प्राविधिक, व्यवहारिक , साधारण र सैद्धान्तिक शिक्षा वीचको अन्तर जस्तै हो ।
काङ्ग्रेस भित्र चुनाव हारको समीक्षा कहिल्यै भएन । चुनावी समीक्षाका विषयमा गम्भीर छलफल हुनुपर्ने थियोे हँुदै भएन । ती होइनन । सडकका नारा टिपेर राजनीति गर्ने गम्भीर विषयमा प्रवेश नै नगर्ने जंक राजनीतिले काङ्ग्रेसको भविष्य खाएको छ । काङ्ग्रेस भविष्य विहीन बन्दै छ ।
मेरो पुस्ताले आग्रहबस काङ्ग्रेसलाई भोट हाल्दछ नयाँ पुस्ताले नेकपासँग वैचारिक आधारमा कसरी काङ्ग्रेस फरक हो बुझ्ने ठाउँ काङ्ग्रेसले बाँकी राखेकै छैन । काङ्ग्रेस पहिचान विहीन छ ।
अहिले नेपाली काङ्ग्रेस सत्ताकांक्षी व्यक्तिहरूको विश्राम गृह मात्र बनेको छ , पार्टी पार्टी जस्तो छैन । बिपिले स्थापना गरेको पार्टी हो र भन्ने प्रश्न उठेको छ । स्पष्ट भन्ने हो नेपाली काङ्ग्रेस, काङ्ग्रेस जस्तो बनिरहेको छैन । नेतृत्व कसरी आफ्नो पक्षमा लिने भन्ने सोच छ । सबैलाई ध्याउन्न छ कसरी आफु सत्तामा पुग्ने ? काङ्ग्रेसलाई काङ्ग्रेस जस्तो बनाएर नेकपा भन्दा फरक पहिचान कसरी दिने भन्ने सोच छैन । प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रमा पुग्दा पनि हिजो जस्तो थियो काङ्ग्रेस, त्यस्तै छ । इतिहासको ब्याजले कति टिक्छ काङ्ग्रेस, ? हिजो कसैलाई मन्त्री वा सांसद बन्न वनाउन वा कुनै पदमा पुग्न वा पुर्याउनमात्रै सीमित थियोे काङ्ग्रेस । अहिलेको काङ्ग्रेस भित्रको किचलोमा विचार छैन, चुनाव जित्न नसकेर सांसद वा मन्त्री बन्न नपाइएको कुण्ठा र पीडा मात्रै पोखिएको छ । आन्तरिक कलह , चुनावमा घात प्रतिघातले थिलथिलो भएको काङ्ग्रेस यस्तो पाराले कति टिक्ला ?
