नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद टुंगो लगाएको छ । शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको नेता रामचन्द्र पौडेलले बताए । उनका अनुसार समानुपातिक तर्फ सांसद बन्ने तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशरण महत चयन भएका छन् । ‘कार्यसम्पादन समितिमा टुंगो लाग्न नसकेपछि पदाधिकारी बैठकले टुंगो लगायो । पुरुष तीन जनामा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशरण महत चयन भए,’ उनले भने । देउवालाई गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले पनि समानुपातिक सांसद बनाउन दबाब दिएका थिए । उनले निधि र महतलाई छनौट गर्दा मन्सुर र चौधरी छुटेका छन् । नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यकारी प्रावधान छ । प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने भएको हो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण छन् । यस्तै खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन् यता, आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ । दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नामा आयोगमा पठाएको छ भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन् ।
कस्तो छ उनीहरुको विगत ?
कांग्रेसले सांसद पठाएकामध्ये २३ जना सभापति शेरबहादुर देउवानिकट छन् भने ९ जना संस्थापनइतर समूहका छन् । कांग्रेसले समानुपातिक सांसद बनाएकाहरूको संक्षिप्त पृष्ठभूमि यस्तो छ ।
१. जीवन परियार
कांग्रेस सहमहामन्त्री जीवन परियार दलित क्लस्टरबाट प्रतिनिधि सभामा सांसद बनेका छन् । उनी कास्की १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थे । सुरूमा यो क्षेत्र गठबन्धनबाट माओवादीले लिने भनेपछि परियारलाई समानुपातिकतर्फ राखिएको थियो । पछि यो क्षेत्रमा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाए । उनी पराजित भए ।
कांग्रेसले समानुपातिकमा पाएको ३२ सिटमध्ये २९ जना महिला पठाउनुपर्ने थियो । ३ जना पुरूष सांसद छान्न कांग्रेसलाई सकस परेको थियो । सहमहामन्त्री परियार १४ औं महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट निर्वाचित भएका थिए । परियारलाई सांसद बनाउन संस्थापनइतर समूहले अडान राखेको थियो । अन्ततः परियार सांसद बनेका छन् ।
२०७४ को चुनावमा कास्की १ को प्रदेश सभा १ बाट परियार पराजित भएका थिए । उनी संविधान सभा सदस्य पनि भइसकेका थिए । उनी १२ औं महाधिवेशनदेखि केन्द्रीय सदस्य हुँदै १४ औं महाधिवेशनमा सहमहामन्त्री बनेका हुन् ।
२. प्रकाशशरण महत
प्रकाशशरण महत कांग्रेसका प्रवक्ता हुन् । उनको नाम समानुपातिकतर्फ खसआर्य समूहको पहिलो नम्बरमा थियो । महतलाई कांग्रेसले सांसद बनाएको छ । उनी सभापति देउवानिकट छन् । देउवाले यसअघि महतलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी दिएका थिए । कांग्रेसको १४ औं महाधिवेशनमा महत महामन्त्री उठे पनि पराजित भएका थिए । आफ्नो समूहबाट महामन्त्रीमा पराजित भएका महतलाई महाधिवेशनपछि पनि महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन् ।
महत नुवाकोट १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थे । नेकपा माओवादीसँग चुनावी तालमेल गर्दा यो क्षेत्र माओवादीले पायो । त्यसपछि महत समानुपातिक सूचीमा बसेर चुनावअघि देशैभर प्रचारमा हिँडेका थिए । महत देउवाका विश्वास पात्र हुन् । उनले लामो समयदेखि देउवालाई साथ दिँदै आएका छन् । महत ०७४ को चुनावमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए ।
३. विमलेन्द्र निधि
कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधि मधेशी क्लस्टरबाट समानुपातिक सांसद भएका छन् । १४ औं महाधिवेशनमा निधि सभापति उठेर पराजित भएका थिए । उनले दोस्रो चरणको चुनावमा सभापतिमा देउवालाई सहयोग गरेका थिए ।
निधि देउवानिकट हुन् । २०३८ सालमा नेविसंघ सभापति भएदेखि नै निधिले देउवालाई सहयोग गर्दै आएका थिए । निधि यसअघि सांसद र पटक–पटक मन्त्रीसमेत भइसकेका छन् । तर २०७४ को चुनावमा निधि धनुषाबाट पराजित भएका थिए । यसपालि उनी धनुषाबाट चुनाव नलडेर समानुपातिकतर्फ बसेका हुन् ।
४. आरजु राणा देउवा
आरजु नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । उनी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् । आरजुले २०७४ मा कैलाली ५ मा चुनाव हारेकी थिइन् उनी यसपटक समानुपातिक सांसद बनेकी हुन् । आरजुलाई समानुपातिक सूचीमा राखेपछि पार्टीभित्र र बाहिर पनि देउवाको आलोचना भएको थियो । आरजु समानुपातिक कोटाबाटै संविधान सभा सदस्यसमेत भएकी थिइन् ।
५. मन्जु खाण
मन्जु खाणले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिसकेकी छन् । उनी कांग्रेस नेता बालकृष्ण खाणको श्रीमती हुन् । गृहमन्त्रीसमेत रहेका बालकृष्ण रूपन्देही ३ बाट प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भए । श्रीमान प्रत्यक्षतर्फ र श्रीमती समानुपातिकतर्फ उम्मेदवार बनाएको भन्दै कांग्रेसभित्र खाणको आलोचना पनि भएको थियो । उनीहरू सभापति देउवानिकट छन् । मन्जुले सिरहाबाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन् तर पाइनन् ।
६. अम्बिका बस्नेत
काठमाडौंकी अम्बिका बस्नेत कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उनी सभापति देउवा समूहकी हुन् । २०७४ को चुनावमा उनी काठमाडौं –३ बाट पराजित भएकी थिइन् । महिला संघको पूर्वअध्यक्षसमेत रहेकी उनी २०६४ र २०७० मा संविधान सभा सदस्यसमेत भएकी थिइन् । उनी कांग्रेसको १२ औं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य पनि छन् । उनी एकपटक सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत बनेकी थिइन् ।
७. ईश्वरी न्यौपाने
कैलालीकी ईश्वरी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । उनले लामो समय महिला संघमा काम गरिन् । उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन् । उनी खसआर्य महिलातर्फ समानुपातिक सूचीमा परेकी थिइन् ।
न्यौपाने कैलाली –१ बाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन् । तर उनलाई पार्टीले समानुपातिकतर्फ राखेको थियो । २०७४ को चुनावमा न्यौपाने कैलाली १ बाट पराजित भएकी थिइन् । उनी सभापति देउवानिकट हुन् ।
८. रमा कोइराला पौड्याल
रमा कोइराला पौड्याल कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । उनलाई पार्टीले खसआर्य महिलातर्फ प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको थियो । भोजपुरकी उनी १३ औं महाधिवेशनपछि आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् । उनी सभापति देउवा पक्षकी हुन् ।
९. कान्तिका सेजुवाल
जुम्लाकी कान्तिका सेजुवाल कांग्रेस केन्द्रीय सदस्य हुन् । उनले खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्य जितेकी थिइन् । उनलाई पार्टीले समानुपातिक सांसदको सूचीमा राखेको थियो । उनी २०७४ मा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर निर्वाचित भएकी थिइन् । उनी त्यसअघि शिक्षक थिइन् । सेजुवाल पनि सभापति देउवा समूहकी हुन् ।
१०. सरस्वती बजिमय
खोटाङकी सरस्वती बजिमय १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । उनलाई पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजातिको पहिलो नम्बरमा राखेको थियो । उनी सभापति देउवानिकट हुन् । उनले महिला संघको केन्द्रीय कोषाध्यक्ष भएर पनि काम गरेकी थिइन् । बजिमय संविधान सभा सदस्य पनि थिइन् ।
११. सीताकुमारी राना
दैलेखकी सीताकुमारी राना कांग्रेस केन्द्रीय सदस्य हुन् । उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजाति सूचीमा राखिएको थियो । उनले लामो समयदेखि नेपाल महिला संघमा रहेर काम गर्दै आएकी थिइन् । उनी सभापति देउवा पक्षकी हुन् ।
१२. सुशीला थिङ
सुशीला थिङ सिन्धुलीकी हुन् । उनले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन् । सुशीलाले सिन्धुली २ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन् । सिन्धुली २ मा तालमेल गर्दा माओवादीलाई भाग परेपछि उनलाई पार्टीले समानुपातिकतर्फ राखेको थियो । उनी पनि सभापति देउवानिकट हुन् ।
१३. माया राई
भोजपुरकी माया राई कांग्रेस केन्द्रीय सदस्य हुन् । उनले लामो समय नेविसंघमा छात्रा विभाग प्रमुख भएर पनि काम गरेकी थिइन् । उनी सभापति देउवानिकट हुन् । उनलाई पार्टीले यसपालि आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सूचीमा राखेको थियो ।
१४. मनोरमा शेरचन
रूपन्देहीकी मनोरमा शेरचनले नेपाल महिला संघमा लामो समय काम गरेकी थिइन् । पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजाति सूचीमा उनको नाम राखेको थियो । यसअघि सभापति देउवाले उनलाई कांग्रेस महिला विभागको सदस्य मनोनीत गरेका थिए । उनी सभापति देउवा समूहकी हुन् ।
१५. अन्जनी श्रेष्ठ
काठमाडौंकी अन्जनी श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी प्रतिनिधि सभामा समानुपातिक सांसद भएकी छन् । उनी चितवन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ उम्मेदवार हुन खोजेकी थिइन् । तर यो क्षेत्र गठबन्धन गर्दा माओवादी केन्द्रलाई परेपछि अन्जनी समानुपातिकतर्फ बसेकी थिइन् । उनी सभापति देउवानिकट हुन् ।
१६. शान्ति परियार विक
चितवनकी शान्ति परियार विक कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । उनी दलित महिलातर्फ प्रतिनिधि सभा समानुपातिक सूचीमा थिइन् । उनी सभापति देउवानिकट हुन् ।
१७. रूपा विक
पाल्पाकी रूपा विक कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । उनी सभापति देउवानिकट हुन् ।
१८. आशा विक
बाँकेकी आशा विक प्रतिनिधि सभातर्फ दलित क्लस्टरबाट सांसद भएकी छन् । उनी प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन् । उनको नाम बाँके क्षेत्र नम्बर ३ बाट सिफारिस पनि भएको थियो । यो क्षेत्रमा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार भई निर्वाचित भए । किशोरसिंहले टिकट पाएपछि आशालाई समानुपातिकतर्फ राखिएको थियो ।
१९. नागिना यादव
मकवानपुरकी नागिना यादव कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । यादवलाई कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा राखेको थियो ।
