IMG-LOGO

गाली माहात्म्य

 मंगल, बैशाख १३, २०७९  नरेन्द्रजंग पिटर

      २०४८ मा छोरा प्रकाशमान सिंहले चुनाव हारेपछि गणेशमान सिहले काठमाडौंलाई बैगुनी भन्दै ‘अर्को जन्म भयो भने म यहाँ हैन, अन्यन्त्र जन्म लिन पाऊँ भनेर भगवान्सँग प्रार्थना गर्छु’ भने । त्यसमा एमाले महासचिव मदन भण्डारीको जवाफ थियो, ‘हामी त भौतिकवादी हौं, यदि ईश्वर छ भने गणेशमानजीको इच्छा पूरा गरिदेओस् ।’ शालीन र भद्र मान्छेको प्रतिक्रिया, कटाक्ष र गाली पनि भद्र नै हुन्छ । अहिले चुनाव एउटा रणभूमि भएकाले तेजाबी गाली मौलाएका छन् । गालब्ी, प्रोपगान्डा, कुतर्क, कुतथ्य आदि अहिले चुनावी युद्धका हतियार बनेका छन् । मानिसहरू मनसुखका लागि अरूलाई उत्तेजित बनाउने अवसर खोजिरहेका हुन्छन् ।

      शक्तिसँग भयग्रस्त भएकाहरू विपक्षीलाई डर देखाउन र आफ्ना कमजोरी लुकाउन गाली बक्न थाल्छन् । प्रोपगान्डा, विरोधीको योजना र सूचनामाथिको पहुँच प्रमुख युद्धकला हुन् । विरोधीको मनोबल खस्काउन सके आधा युद्ध त्यसै जितिन्छ । विरोधीको नाडी छाम्न र उत्तेजित पार्न पनि फर्जी फायर खोलेजस्तै गाली पनि बक्ने गरिन्छ । तर गालीवक्ताको हैसियत र कला भने आमजनले ख्याल गरिरहेका हुन्छन् । गाली भक्त र कार्यकर्तालाई उत्तेजित बनाउने पेट्रोल बने पनि अरूलाई भने रमिता र तमासा बन्छ ।

      भनिन्छ — जतिसुकै योग्य र शक्तिशाली भए पनि व्यक्तिवादी नेतृत्व डर र असुरक्षा–बोधले ग्रस्त भइरहन्छस अन्धभक्तहरूको भीडबीच भए पनि ऊ आफूलाई एक्लो सोच्छ र हरेकमाथि शंका गरिरहन्छ आफन्तको पनि खासै भर पर्दैनस कसैलाई विश्वास नगरी सुरक्षाखोजीको षड्यन्त्र रचिरहन्छ । चरम व्यक्तिवादी नेता एक हदसम्म सन्काहा र मनोरोगी हुने हुँदा एकातर्फ भगवान्भरोसे हुन्छ भने अर्कातर्फ व्यंग्य, गाली, कटाक्षले आत्मसन्तुष्टि लिने पनि गर्छ । श्रोताहरूले समर्थन गरेर कि व्यंग्य गरेर ताली पड्काएका हुन्, पत्तै पाउँदैन । हरेक नेतृत्वको शक्ति, आचरण, हैसियत, चिन्तनस्तर, चरित्र चुनावका बेला छ्यालब्याल हुन्छ । अझ गाली पण्डित र नयाँघरेहरूको भाउ त राजनीतिक बजारमा बढे पनि सामाजिक क्षेत्रमा भने खस्किरहेको हुन्छ ।

      हरेक सफलताका बाधक र असफलताका कारक खोज्दा प्रतिकारमा गालीको सिर्जना हुँदै जान्छ । दिमाग त अराजक भइसकेको हुन्छस फुत्तफुत्त शंका–आशंका उमार्दै काल्पनिक वैरी र विरोधी जन्माउँछ । काल्पनिक सिद्धान्तले मनसुखका लागि कल््पनाको लडाइँ लड्न गालीलाई हतियार बनाउँछ । व्यासासनमा बस्ने पण्डित पनि कसैले मर्ममा प्रहार गरेपछि सिङमा चोट लागेर रन्थनिएको पशु झैं बर्बराउन थाल्छ । केही बेरअघि मात्रै वाचन गरिएका आदर्श र ऋचाका ठाउँ अश्लील, अमर्यादित र आक्रोशित शब्दले लिन थाल्छन् । उचाइ, ज्ञान, गरिमा, हैसियत, मनोभाव छताछुल्ल पार्दै ऊ प्राकृतिक अवस्थामा फर्किन्छ । हवाई फायर खोलेपछि रन्थनिएको मान्छेले प्राज्ञिकताको खास्टो उतार्न ढिलो गर्दैन । त्यसैले कसैलाई चिन्नु वा कसैको हैसियत थाहा पाउनु छ भने पहिले उसलाई उत्तेजित पार्नुपर्छ ।

      गालीबाट उम्कने उपाय नभएको भने होइन । गाली गर्ने मान्छेलाई बेवास्ता गरिदिए, चर्चै नगरे, महत्वै नदिए आफ्नो सबभन्दा ठूलो अपमान सोचेर ऊ आफैं मर्माहत हुन्छ । हैसियत मिल्नेसँग मात्रै गम्भीर संवाद हुनुपर्छ । कुकुर चुप लगाउन ढुंगाले हानिरहनुपर्दैन, हड्डी फ्याँकिदिनुपर्छ अझ कुरूप पार्नु छ भने घ्यू खुवाइदिनुस्, खोइरो लागेर सबै रौं झर्छ । अन्तमा, सिद्धान्तहीन राजनीतिको अन्तिम अवस्था कर्पोरेट राजनीति हो, जसले नाफाको प्रत्याभूति गर्छ । त्यसका लागि गाली ऊर्जा वा आत्मिक शक्ति बन्छ । अंशमा टेकेर समग्रको व्यवस्थापन गर्न इतिहासको व्यवस्थापन वा घृणाको उत्पादन गरिन्छ । धर्म, संस्कृति र राष्ट्रवादको नयाँ कथ्य रचिन्छ । नेताहरू राज्यका अभिभावकभन्दा व्यवस्थापकमा फेरिन्छन् । यसले गर्दा आमजनमा राजनीतिप्रति नै वितृष्णा जाग्छ । त्यसको असर सामाजिक–सांस्कृतिक व्यवहारमा देखा पर्दै जान्छ । राम्रा मान्छेले राजनीतिक हस्तक्षेप नगरेपछि अपराधी र कर्पोरेटले सत्ताकब्जा गर्छन्, जस्तो स्थानीय तहको यो चुनावी मौसममा देखा पर्दै छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्