बनेपा, साविक उग्रतारा–१ हाल बनेपा नगरपालिका वडा नं १० पुलबजारको ३ सय वर्ष पुरानो जीर्ण अवस्थामा रहेको सेतो पाटी र सँगैको ढुङ्गे धारो निर्माण हुने भएको छ । उक्त पाटी र ढुङ्गे धारो पुरातत्व विभागले ५० लाख बजेटमा निर्माण हुन लागेको वडा अध्यक्ष चन्द्र बहादुर खड्काले बताउनु भयो । राणाहरूको पालामा नै निर्माण भएको सेतो पाटी जीर्ण भएको भने १५ बर्ष भयो । अरनिको राजमार्ग र वीपी राजमार्ग बन्नु भन्दा अघि मध्ये पूर्वीय पहाडी जिल्लाहरू सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्लाका मानिसहरूले उपभोग गर्ने खाद्य बस्तुहरू तथा सामग्री गाउँबाट शहरमा विक्री गर्ने राजधानीबाट आवश्यक सामग्री खरिद गरेर यात्रा गर्ने ढाक्रे(भरीया)हरू बस्ने र खाना खाने जीर्ण पाटी र बाटोमा हिड्ने बटुवा यात्रीहरूले पिउने पानी आउने ढुङ्गे धारा ५० लाखको लागतमा यसै आर्थिक साल बन्ने कुरा पुरातत्व विभागकी इन्जिनियर प्रेमलक्ष्मी शाक्यले बताउनु भयो । शिला विशेषज्ञ एंव विभागको प्राविधिक मोहन सिंह लामाका अनुसार सेतो पाटी र ढुङ्गेधारा ३ सय बर्ष अघि निर्माण भएको जनाउनु भयो । उक्त पाटीमा पूर्वीय जिल्लाहरूका व्यक्तिहरूले भेडा, बोका, बाख्रा र राँगाहरू विक्री गर्न ल्याउँदा यात्रीहरूले खाने र पशु पन्छी सबै राख्ने गरिन्थ्यो । स्थानीय ७६ बर्षीय आईतलाल मानन्धरका अनुसार सेतो पाटी बनेपाका समाजसेवी मनकारी मान बहादुर बादे । कृष्ण भक्त बादेको सक्रियतामा आफ्नै जग्गा जमिन उपलब्ध गराएर निर्माण गरेको बताउनु भयो जीर्ण रहेको पार्टी र ढुङ्गे धारा निर्माणको लागि संघीय सांसद एंव पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बजेट उपलब्ध गराएको कुरा वडा अध्यक्ष चन्द्रवहादुर खड्काले बताउनु भयो ।
