भकुण्डेबेशी-नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले असहाय व्यक्तिहरुसँग आफ्नो जन्मदिन मनाएका छन् ।
बिहीबार ६४ बर्ष पुरा गरी ६५ बर्षमा प्रवेश गरेका नगर प्रमुख तिमल्सिनाले धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घरमा आश्रित असहाय व्यक्तिहरुलाई खाना खुवाउँदै जन्मदिन मनाएका हुन् । सेवा घरमा आश्रित व्यक्तिहरुसँग जन्मदिन मनाउने क्रममा नगर प्रमुख तिमल्सिनाले आफू पदमा रहँदा पनि र नरहँदा पनि दुखी र असहायहरुको साथमा रहने बताए । आगामी दिनमा पनि आफ्नो तर्फबाट सेवा घरमा आश्रित व्यक्तिहरुका लागि साथ र सहयोग निरन्तर रहने तिमल्सिनाले बताए । ‘मेरो बाँकी जिन्दगी समाज र मुलुकका लागि समर्पित गर्नेछु’ तिमल्सिनाले भने ।
नमोबुद्ध नगरपालिकाले गत मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवमुक्त नगरको अभियान सञ्चालन गरिरहेको छ । नगर प्रमुख तिमल्सिनाले आफ्ना पिताको निधनको ४५ औं दिनको पुण्यतिथिमा पनि समाजलाई खाद्यान्न सहयोग गरेका थिए भने समाजमा आश्रित एकजना बालिकाको अभिभावकत्वसमेत ग्रहण गरेका छन् । उनकै अभिभवकत्वमा ती बालिकाको केही महिनाअघि अन्नप्रासन गरिएको थियो ।
सो अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले मन्तव्य राख्नु भएको थियो धुलिखेलसहित मुलुकका विभिन्न स्थानमा रहेको सेवा घरमा हाल २५० जना रहेको तथा १ सय ९५ जनाको परिवारसँग पुनर्मिलन गराइसकिएको उनले बताइन् ।
