IMG-LOGO

कार्य सम्पादन मुल्याङ्कनमा जनस्वास्थ्य कार्यालय काभ्रे उत्कृष्ट घोषित

 मंगल, मंसिर २, २०८३  -

                धुलिखेल । बागमती प्रदेशका १३ वटा जिल्ला जनस्वास्थ्य कार्यालयमध्ये जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक आर्थिक वर्ष २०८२÷८३ को कार्यसम्पादन मूल्यांकनमा प्रथम भएको छ । प्रदेशभरका जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा काभ्रेपलाञ्चोक उत्कृष्ट घोषित भएको हो । उत्कृष्ट कार्यसम्पादन गरेबापत बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बिहीबार आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख रागिश्री कक्षपति श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दै कार्यालयले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको हो ।

                सफलताको जस कार्यालयका कर्मचारीको निरन्तर मेहनत, समर्पण र सामूहिक प्रयाससँगै जिल्लाका १३ वटै स्थानीय तह, सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीचको सहकार्यको परिणाम हो । काभ्रेपलाञ्चोकमा पछिल्लो समय स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार, रोग नियन्त्रण, खोप अभियान तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलगायत क्षेत्रमा भएका कामलाई कार्यालयको सफलताको आधार भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

                जिल्लाका १३ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्न सफल बनाउनु कार्यालयको महत्वपूर्ण उपलब्धिमध्ये एक हो । जिल्लाका १६ देखि २३ महिनासम्मका ३ हजार १५५ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि काभ्रेपलाञ्चोकलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो । जिल्लाका सबै स्थानीय तह पूर्ण खोपयुक्त घोषित भएका छन् । त्यसैगरी समुदायमा आधारित रोग निगरानी प्रणाली (CB–SORMAS) प्रभावकारी बनाउन जिल्लाका १३ स्थानीय तह अन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको थियो । यसले समुदायस्तरमै सम्भावित रोग तथा प्रकोपको पहिचान, सूचना संकलन र समयमै नियन्त्रणका लागि आवश्यक सूचना प्रवाह गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

                नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि पनि जिल्लामा उल्लेखनीय काम भएका छन् । मधुमेह र उच्च रक्तचाप जस्ता रोगको समयमै पहिचान, उपचार तथा नियन्त्रणका लागि जिल्लाका १३ वटै स्थानीय तहबीच साझा प्रतिबद्धता निर्माण गरिएको छ । यस क्रममा ६१८ जना स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गरिएको र करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको तथ्यांक सार्वजनिक गरिएको थियो । मुख्यमन्त्री थापाद्वारा कार्यालय प्रमुख श्रेष्ठलाई प्रमाणपत्र प्रदान, स्वास्थ्य सेवामा सुधार र प्रभावकारी कार्यक्रम सञ्चालनको प्रशंसा ।

                यसैगरी डेङ्गी नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम, लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । रोग नियन्त्रण तथा रोकथामका यस्ता कार्यक्रमलाई समुदायस्तरसम्म पु¥याउन कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । जिल्लाको स्वास्थ्य क्षेत्रको प्रगति, उपलब्धि र चुनौतीको समीक्षा गर्न १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाको सहभागितामा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीसमेत सञ्चालन गरिएको थियो । गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कार्यक्रमको प्रगति मूल्यांकन गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने विषयमा छलफल गरिएको थियो । यी सबै समाचारहरू यसअघि कालोटोपी डटकमले संप्रेषण गरिरहेको थियो ।

                कार्यालय प्रमुख श्रेष्ठले उत्कृष्टताको श्रेय आफूले मात्र नभई जिल्लाको समग्र स्वास्थ्य क्षेत्रसँग जोडिएका सबै निकाय र व्यक्तिलाई दिनुभएको छ । उहाँले आगामी दिनमा पनि काभ्रेली नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेशमै प्रथम हुन सफल भएपछि जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले यस उपलब्धिका लागि सहयोग गर्ने जिल्लाका सबै स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्