लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको २८ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष तीर्थमाया प्रधानको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सचिव शकुन्तला श्रेष्ठले आ.व. २०८२÷०८३ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कल्याणी चन्द ठकुरीले आ.व. २०८२÷०८३ को आर्थिक प्रतिवेदन र संयोजक सोविता थापा मगर (प्रधान) ले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । ३ हजार ७ सय ८ जना शेयर सदस्य रहेको उक्त संस्थाको शेयर पूँजी ३ करोड ३४ लाख ३७ हजार २ सय, बचत तथा निक्षेप ३२ करोड ४९ लाख ८८ हजार ९ सय ९७, ऋण लगानी २० करोड ९६ लाख १६ हजार ५ सय ४६ रहेको बताइएको छ । संस्थाकी उपाध्यक्ष कविता कार्किले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जेष्ठ नागरिक सदस्य सम्मान (२९ जना), उत्कृष्ट ऋणी, उत्कृष्ट एसईई सम्मान (५६ जना) प्रदान गरिएको थियो । संस्थाकी सचिव शकुन्तला श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा शेयर सदस्यहरु, संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझि, कर्मचारीहरु, शुभचिन्तक एवं पत्रकारहरुको उपस्थिति रहेका थियो । सो अवसरमा संस्थाले शेयर सदस्यहरुको हितका लागि निःशुल्क स्वास्थ्य शिविर र छाला परिक्षणको शिविर समेत संचालन गरेको थियो ।
