बनेपा नगरपालिका वडा नं. ४ नालामा सृष्टिकान्त लोकेश्वर साधना केन्द्रको योग भवन निर्माण सम्पन्न भएको छ । ४ आना जग्गामा ४२ लाख ४८ हजार लागतमा योग भवन बनेको कुरा भवन निर्माण समितिका कोषाध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले जानकारी दिनुभयो । शनिबार एक समारोहका बीच पंतजली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले योग भवनको उद्घाटन गर्नुभएको हो । समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि तौजलेले स्वस्थ जीवन जीउन योग अनिवार्य भएको बताउँदै जीवनलाई सुखमय बनाउन सबै नागरिकहरुले विहान नियमीत योग ध्यान गर्नुपर्ने तर्क गर्नुभयो । प्रमुख अतिथि तौजलेले भवन निर्माणका लागि जग्गादान गर्नुहुने बालकृष्ण श्रेष्ठ र बालकुमारी श्रेष्ठ, सहयोगीदाता सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । बनेपा वडा नं. ४ बाट ९ लाख र चन्दादातबाट गरी ४२ लाख ४८ हजार रकम संकलनबाट योग भवन बनेको जनाएको छ । पंतजली योग भवन उद्घाटन कार्यक्रममा पंतजली योग समिति बागमती प्रदेशका सल्लाहकार सरिता शाक्य, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद न्यौपाने, पंतजली बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, बनेपा वडा नं. ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नं. १ का अध्यक्ष कमलप्रसाद घिमिरे, २ का अध्यक्ष रामप्रसाद घिमिरे, वडा नं. १० का अध्यक्ष चन्द्रबहादुर खड्का योग अभियानकर्मीहरु उद्धव तिमल्सिना, इन्दीरा तौजले, पंतजली योग समिति काभ्रे अध्यक्ष प्रकाश कायस्थ, योग प्रेमी तथा स्थानीयहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
