युरोप / बेल्जियमको इस्ट फ्लेन्डर्सस्थित एउटा घर मर्मत गर्ने क्रममा कामदारहरूले भित्तामा सुनको ठूलो खजाना फेला पारेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसी लगायत विभिन्न सञ्चार माध्यमले महत्वका साथ यो समाचार बाहिर ल्याएका छन् । अहिलेको मूल्य अनुसार उक्त सुनको मुल्य करिब ९० लाख युरो अर्थात् करिब १ अर्ब ५८ करोड रूपैयाँ बराबर छ ।
भित्ताभित्र सुनका इँटा र सिक्काहरू फेला परेका थिए । कामदारहरूले यसै साता ढलको पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका बेला खजाना फेला पारेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । खजाना फेला परेपछि अब यो सुन कसको स्वामित्वमा जान्छ भन्ने प्रश्न उठ्न थालेको छ । यसलाई प्राप्त गर्ने मौका कामदारहरूसँगै यो ठाउँको स्वामित्व भएका स्थानीय संस्थासँग पनि छ । अनुसन्धान सुरू गरेपछि प्रहरीले मानिसहरूलाई त्यहाँ गएर थप खजाना नखोज्न आग्रह पनि गरेको छ । प्रहरीले घरको पूर्ण रूपमा खानतलासी भइसकेको र सबै सुन सुरक्षित स्थानमा राखिएको जनाएको छ ।
कामदारहरूले घरको जगमा काम गरिरहेका बेला सुनको खजाना फेला पारेका हुन् । खजाना फेला पार्नेमा १८ वर्षका एक छात्र पनि थिए, जो गर्मीको बिदामा केही अतिरिक्त कमाइ गर्न काम गरिरहेका थिए । हामीले सुरूमा त विश्वासै गर्न सकेनौं, धेरै छक्क परेका थियौं,’ कोबे नामका यी छात्रले भने, ’सुरूमा मलाई लाग्यो, यी युरोका सिक्का हुन् । त्यसपछि हामीले त्यहाँ सुनको एउटा टुक्रा पनि देख्यौं । अनि मात्र हामीलाई खजाना फेला परेको महसुस भयो ।’ त्यसको केही समयपछि उनीहरूले प्रहरीलाई जानकारी दिए र यो आफ्नो साथमा राख्न सम्भव नभएको बताए । जुन ठाउँमा सुनको खजाना भेटियो, त्यो अहिले ’सिएडब्ल्यू ओस्ट–भ्लान्दरेन’ नामक संस्थाको हो । यो संस्थाले डेन्डरमोन्डे क्षेत्रमा मानिसहरूलाई सामाजिक तथा कल्याणकारी सहायता उपलब्ध गराउँछ ।
यसका निर्देशक गिर्ट हिलर्टले यो खजानाको प्रयोग भविष्यमा संस्थाको काममा गर्ने आशा व्यक्त गरे । कसले पाउनेछ सुन ? बेल्जियमको कानुन अनुसार वास्तविक मालिकसँग यो खजानामाथि दाबी गर्न पाँच वर्षको समय छ । यद्यपि, यो मामिलामा अनुसन्धान गरिरहेका स्थानीय सरकारी वकिलले हालसम्म मालिक को हो भन्ने पत्ता नलागेको बताएका छन् । कोही पनि अगाडि आएन भने, सिभिल कानुन अनुसार अरू कसैको जग्गामा लुकाइएको खजाना फेला पार्ने व्यक्ति र जग्गाको मालिकबीच बाँडिनेछ तर यो सजिल्यै सम्भव तब मात्र हुनेछ, जब यो खजाना कुनै अपराधसँग जोडिएको छैन भनी प्रमाणित भएको हुनुपर्ने छ ।
