गौतम बन्धु राष्ट्रिय समाज बागमती प्रदेश समन्वय समितिको सक्रियतामा काभ्रेपलाञ्चोक जिल्लामा आयोजित गौतम बन्धुहरूको ऐतिहासिक भेलाले जयभद्र गौतमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । श्रावणको वर्षे झरीका बाबजुद काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३५० भन्दा बढी गौतम बन्धुहरूको उत्साहजनक सहभागिता रहेको भेलाले जिल्लामा गौतम बन्धुहरूको संगठनात्मक एकता, सामाजिक सहकार्य र भावी कार्यक्रमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, विशिष्ट अतिथिका रूपमा गौतम बन्धु राष्ट्रिय समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम तथा संस्थापक अध्यक्ष विदुर गौतमको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व गौतम बन्धु राष्ट्रिय समाज बागमती प्रदेश समन्वय समितिका अध्यक्ष बुद्धि प्रसाद गौतम (विदुर) ले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत २० भन्दा बढी गौतम बन्धुहरूको विशेष उपस्थिति रहेको थियो । प्रदेश समन्वय समितिका उपाध्यक्ष शिव प्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।
भेलामा प्रभुकौशिका निर्माण समितिका कृष्ण गौतम, गौतम बन्धु राष्ट्रिय समाजका महासचिव पोष्टराज गौतम, धुलिखेल नगरपालिकाकी पूर्व उपमेयर विमला गौतम, महर्षि अत्रि स्तम्भ निर्माण समितिका संयोजक दिननाथ गौतम, संस्थापक अध्यक्ष विदुर गौतम तथा केन्द्रीय अध्यक्ष शोभाकर गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि बामदेव गौतमले आफ्नो मन्तव्यका क्रममा गौतमहरूको इतिहास तथा ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी गराउनुभएको थियो । केन्द्रीय अध्यक्ष शोभाकर गौतमले गौतम बन्धु राष्ट्रिय समाजको वर्तमान प्रगति, संस्थागत गतिविधि तथा भावी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रोजेक्टरमार्फत ‘गौतमहरूको इतिहासदेखि वर्तमानसम्म’ विषयक वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै गौतम बन्धुहरूको संक्षिप्त परिचय समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो, जसले सहभागीहरूमा आफ्नो इतिहास, वंशपरम्परा र सामाजिक पहिचानप्रति थप चासो जगाएको थियो । त्यसैगरी कार्यक्रममा ८० वर्ष उमेर पूरा गरिसक्नुभएका १० जना ज्येष्ठ गौतम बन्धुहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ज्येष्ठ बन्धुहरूको योगदान र अनुभवप्रति सम्मान व्यक्त गर्ने उक्त कार्यक्रमलाई भेलाको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ । कार्यक्रमको पहिलो सत्रको समापन संस्थापक अध्यक्ष विदुर गौतमले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण प्रदेश सचिव एकनाथ गौतमले गर्नुभएको थियो । उक्त भेलाले संचालक कार्यसमिति गठन गरेको छ । त्यसैगरी अध्यक्ष पदमा जयभद्र गौतम, चौरी देउराली, उपाध्यक्षमा झम्क प्रसाद गौतम, पाँचखाल, उपाध्यक्ष तोरण प्रसाद गौतम, बनेपा, सचिवमा यदुनाथ गौतम, मण्डनदेउपुर, कोषाध्यक्षमा सुरेश गौतम, पाँचखाल, सदस्यमा पर्शुराम गौतम, रोशी, रामचन्द्र गौतम, बनेपा, रत्नकुमारी गौतम, राजन गौतम, एकलक्ष्मी गौतम, बनेपा–९, लेखनाथ गौतम (ध्रव), चौरी देउराली, छघर, डोरनाथ गौतम, पात्लेखेत, धुलिखेल, माधव प्रसाद गौतम, बनेपा–९, नन्दी प्रसाद गौतम, मण्डनदेउपुर बाँकी एक सदस्य समितिको पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।
