कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले सहकारी संस्थाको अग्रभागमा रहेर काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी सहकारी सेवा संस्कार रुपान्तरण तालिम सम्पन्न गरेको छ । तालिममा १५ वटा विभिन्न सहकारी संस्थाबाट कुल ५० जनाको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षता सञ्चालित तालिम कार्यक्रमलाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशब दाहालले सहजीकरण गर्नु भएको थियो । क्लबले आफ्नो छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर यस तालिम कार्यक्रमको आयोजना गरेको हो । २०७८ सालमा विधिवत् रुपमा स्थापित क्लबले सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी मानव संसाधन विकासको लागि नियमित रुपमा विविध खालका तालिम कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।
