एम्नेष्टि इन्टरनेसनल नेपाल (समुह ४३ बनेपा) ले अन्तर्राष्ट्रिय न्याय दिवस तथा मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा एक विशेष कार्यक्रम आइतबार बनेपामा सम्पन्न गरेको छ । नेपाल बारका केन्द्रिय अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रको प्रमुख आतिथ्यता एवं समूह ४३ का संयोजक बुद्धरत्न मानन्धरको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले समाजमा न्यायको पहुँच सुनिश्चित गर्न मानव अधिकारकर्मी र नागरिक समाजको भूमिका अहम् हुने कुरामा जोड दिनुभयो । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, काभ्रे बारका अध्यक्ष हरिशरण दाहाल लगायत एम्नेष्टि इन्टरनेसनल नेपाल (समुह ४३ बनेपा) का पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका कानुन बिभाग संयोजक श्यामकृष्ण त्रिपाठीले स्वागत मन्तव्य राख्नुभयो । छलफलमा वक्ताहरूले वर्तमान समयमा मानव बेचबिखनको स्वरूप परिवर्तन भइरहेको र यसलाई रोक्न कानुनी दायरा सुदृढ बनाउनुका साथै स्थानीय स्तरमै जनचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन समुहका उप–संयोजक देवीप्रसाद गौतमले गर्नुभएको थियो ।
