काभ्रेपलाञ्चोकको पनौतीस्थित मानेश्वरी मन्दिरमा छाडिएको बोका चोरी गरेर स्कुटरमा राखी बिक्री गर्न लैजाँदै गरेका दुई युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलका डिएसपी एवं सूचना अधिकारी रविन विष्टका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका–११ का २३ वर्षीय सुजन विक र सोही नगरपालिका–१० का २० वर्षीय सविन खतिवडा रहेका छन् । २०८३ साउन ५ गते विहानको समयमा चोरी भएको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा साउन १३ गते चोरी विरुद्धको अभियोग दर्ता भएको छ । प्रहरीले उनीहरूलाई बा ९४ प १०९ नम्बरको स्कुटरमा बोका बीचमा राखेर पनौतीबाट बनेपातर्फ लैजाँदै गरेको अवस्थामा धनेश्वर मन्दिर अगाडिको सडकबाट नियन्त्रणमा लिएको हो । उक्त बोका पनौती–कुशादेवी सडकखण्डअन्तर्गत मानेश्वरी मन्दिर परिसरमा छाडिएको रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बोका १० हजार रुपैयाँमा बिक्री गर्ने सहमति गरेको र प्राप्त रकम बराबरी बाँड्ने योजना बनाएको खुलेको छ । प्रहरीले बोका सहित दुवै जनालाई पक्राउ गरी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ । पछिल्लो समय विभिन्न मन्दिरमा धार्मिक विश्वासका आधारमा छाडिएका बोका तथा अन्य चौपाया चोरी हुने घटना बढ्न थालेपछि स्थानीयवासीले सुरक्षा व्यवस्थामा थप कडाइ गर्न माग गरेका छन् ।
बडालगाउँमा चोरको विगवीगी
धुलिखेल–८ बडालगाँउमा पनि चोरीको घटनाको विगविगी बढेको छ । गत शनिबार राती बडाल गाउँका ४ वटा घर र ३ वटा गोठको ताल्चा फोरी लुगाफाटा तितरवितर गर्ने कार्य गरेको कुरा जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । लुटपाट र चोरीगर्नेको खोजी कार्य भएको प्रहरीले जनाएको छ ।
