काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह (दोस्रो चरण) शुक्रबार सम्पन्न भएको छ । शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षता एवं भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटवर्धनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी पाटवर्धनले काठमाडौं विश्वविद्यालय फरक शैक्षिक गन्तव्य भएको उल्लेख गर्दै विश्वविद्यालय र विद्यार्थीहरूको थप सफलताको कामना गर्नुभयो । समारोहमा मन्त्री पोखरेलले आफू पनि चार वर्ष पहिले सोही विश्वविद्यालयको विद्यार्थी भएको स्मरण सुनाउँदै दीक्षित विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभयो । सरकारले शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याउन लागेको उहाँले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये विद्यालय अफ आट्र्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना रहेका छन् । दीक्षित भएका मध्ये विद्यावारिधि (PhD/DM/MCh) तहका २१, MPhil/Master by Research का ९३, स्नातकोत्तर तहका २७९, PGDE तहका २ जना तथा स्नातक तहका १ हजार १३२ जना रहेका छन् । शुक्रबार दीक्षित भएका विद्यार्थीमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष र ७२७ जना (४७.६१ प्रतिशत) महिला छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन्, जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो । विश्वविद्यालयका अनुसार यो संख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
यस वर्ष काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलो पटक Bachelor of Technology in Artificial Intelligence कार्यक्रमका २६ जना, Doctor Medicine in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ । दोस्रो चरणको दीक्षान्तपछि काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१ हजार ५६७ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्णको करिब १२ प्रतिशत हो । दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरियो । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी CGPA ३.९९ प्राप्त गरी Bachelor of Engineering in Computer Engineering उत्तीर्ण गरेकी रिश्ता श्रेष्ठलाई प्रदान गरिएको थियो भने महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसन अन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी CGPA ३.९७ प्राप्त गरी Master of Education in Leadership and Management उत्तीर्ण गरेकी अन्जु कुमारीलाई प्रदान गरिएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले स्वागत मन्तव्य राख्नुभएको समारोहको सञ्चालन रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले गर्नुभएको थियो ।
