त्यसैगरी रोशी गाउँपालिकाले वर्ष २०८३÷०८४ का लागि स्वास्थ्य सुरक्षा, शिक्षा र सामाजिक संरक्षणलाई केन्द्रमा राख्दै ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत बजेटले विशेषगरी दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका र विपन्न नागरिकलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले प्रस्तुत गरेको बजेट तथा अध्यक्ष दिनेश लामाले पेश गरेको नीति तथा कार्यक्रमअनुसार अब दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न परिचयपत्र प्राप्त नागरिकको स्वास्थ्य बिमा शुल्क गाउँपालिकाले नै व्यहोर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ । यसअघि नै गाउँपालिकाले ६० वर्षमाथि र ७० वर्षमुनिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा शुल्क बेहोर्दै आएको छ ।
शिक्षा क्षेत्रमा पनि गाउँपालिकाले महत्त्वपूर्ण कदम अघि सारेको छ । हाल पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म उपलब्ध दिवा खाजा कार्यक्रमलाई विस्तार गर्दै आगामी आर्थिक वर्षदेखि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई समेत दिवा खाजा उपलब्ध गराउने नीति ल्याइएको छ । यस कार्यक्रमका लागि ६९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । स्वास्थ्य सेवामा जनशक्ति अभाव हुन नदिन गाउँपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने योजना अघि सारिएको छ । यसले ग्रामीण भेगका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
विपद्बाट प्रभावित परिवारका लागि स्थायी आवास निर्माण, पुनर्निर्माण तथा घर प्रवलीकरण कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । यसका लागि ६० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । नयाँ नीति अनुसार प्रतिघर ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइनेछ, जसमा गाउँपालिकाले २० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत लागत साझेदारी गर्नेछ । बजेटको स्रोत व्यवस्थापनतर्फ गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख ६५ हजार, स्थानीय राजस्व बाँडफाँटबाट ३ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट ४ करोड ५ लाख ३१ हजार, संघीय समानीकरण अनुदानबाट १० करोड ४३ लाख तथा संघीय सशर्त अनुदानबाट ३३ करोड २३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
