बनेपा नगरपालिकाले नागरिकहरुलाई वडा नं. १० को कार्यालयबाट सेवा प्रदान गर्दै आएकोमा आगामी श्रावण १ गते देखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा प्रवाह गर्ने भएको छ ।
बिहीबार नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा भवन पूजाआजा गरिएको छ । प्रमुख शाक्यले बनेपा नगरपालिका वडा नं. ५ स्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय गरेको बताए । गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएपछि हाल बनेपा–१० स्थित नगरपालिकाको कार्यालय भवनमा पर्याप्त कोठा अभावले सेवाप्रवाहमा समस्या खेप्दै आएको प्रमुख शाक्यले बताउनुभयो । उनले शिक्षालयलाई कुनै पनि किसिमको समस्या नपर्ने गरी सेवा प्रदान गर्ने वचनबद्धता गर्दै यही असार १० गते आ.व. ०८३÷०८४ को नीति कार्यक्रम तथा बजेट उक्त भवनबाट हुने बताउनुभयो ।
नगरवासीलाई सहज रूपमा सेवा प्रवाह गर्न थप व्यवस्थित र प्रभावकारी बनाउन बनेपा नगरपालिकाको नाममा रहेको जग्गामा निर्मित बहुप्राविधिक शिक्षालयको भवनबाट सेवा सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख शाक्यले उल्येख गर्नुभयो । नगरपालिकाका अनुसार नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म बहुप्राविधिक शिक्षालयको भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गरिनेछ । यस अवधिमा प्रशासनिक सेवा, राजस्व संकलन, योजना शाखा, सामाजिक सुरक्षा लगायत १३ वटा शाखाबाट सेवा स्थानबाट सञ्चालन गरिने जनाइएको छ । बहुप्राविधिक शिक्षालयका कार्मचारीको आवास गृहलाई नै बनेपा नगरले नागरिकहरुलाई सेवा प्रवाह दिने निर्णय गर्दा विद्यार्थीहरुको समेत अध्ययन अध्यापनमा नकारात्मक प्रभाव पर्ने भनि चौतर्फी आलोचना गर्दै आएका थिए ।
