नेपाली कांग्रेसका नेता तथा निष्ठाको राजनीति गर्ने एउटा चम्किलो नक्षत्र राजेन्द्र खरेल आइतबार राति हामीबाट बिदा हुनु भएको छ । पञ्चायती व्यवस्था विरुद्ध आफ्नो जीवन कै परवाह नगरी लोकतन्त्रका पक्षमा लाग्नु भएका खरेल पञ्चायतकालमा पटकपटक गरि ९ वर्ष जेल बस्नु भएको थियो । २०५६ मा शिक्षा राज्यमन्त्री हुँदै महिला मन्त्रालयको मन्त्री बन्नु भएको थियो । अत्यन्तै सरल उहाँ नेपाली काङ्ग्रेसका सस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको अनुयायी हुनुहुन्थ्यो ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलका पिता राजेन्द्र खरेल पिता सुब्बा देवीप्रसाद तथा माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा वि.सं. २००३ सालमा काभ्रेलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिनुभएको हो । राजेन्द्र खरेल नेपाली कांग्रेसका आदर्शवान नेताका रुपमा देश र विदेशमा परिचित हुनुहुन्थ्यो ।
वि.सं. २०३६ को जनमत संग्रह, वि.सं. २०४२ को सत्याग्रह होस् वा वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०६२, २०६३ को जनआन्दोलन सबै बेला उहाँ सक्रिय रहनु भयो । नेपाली कांग्रेसको राजनीतिमा पुरा जीवन अर्पण गर्नु भएका उहाँले बीपी कोइराला गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसंगै रहेर कांग्रेसको राजनीतिसँग अत्यन्तै घनिष्ठ रहेर काम गर्नु भएका राजेन्द्र खरेल वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता महान् हस्तीहरुको भरोसा र विश्वास पात्र पनि हुनुहुन्थ्यो । काभ्रे टाइम्स साप्ताहिकको दोश्रो र तेस्रो वर्षगाठ समारोहमा मन्त्रीका हैसियतले प्रमुख आतिथ्यता गर्नु भएको उहाँले बाँचुन्जेल आफूले सकेको सहयोग पु¥याउनु भएको थियो । उहाँको निधनमा काभ्रे टाइम्स र रेडियो एबिसी एफ.एम. परिवार स्तब्ध भएका छन् । रेडियो र काभ्रे टाइम्सले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
