बनेपा । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवालको ७७ औँ जन्मोत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । जनमत वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका दुवालको जन्मोत्सवको अवसरमा उहाँको व्यक्तित्व, कृतित्व तथा साहित्यिक योगदानलाई समेटेर तयार पारिएका तीन वटा पुस्तकसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक राजु सरकारले गर्नुभएको थियो । सार्वजनिक गरिएका कृतिहरूमाथि साहित्यकारहरू कृष्णकुमार वैद्य, रामसुन्दर देउजा तथा सूर्यप्रसाद लाकोजुले समीक्षा प्रस्तुत गर्दै मोहन दुवालको साहित्यिक यात्रा, सिर्जनात्मक योगदान र नेपाली साहित्यमा उहाँले पु¥याएको प्रभावबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले मोहन दुवालले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको थियो । शुभकामना मन्तव्य साहित्यकार तथा प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, गायक रामहरि न्यौपाने, दियशरत्न शाक्य, हरिभक्त भोछिभोया, राजेन्द्र श्रेष्ठ, डा. कृष्ण सुवेदी तथा मणिराज श्रेष्ठलगायत रहनुभएको थियो । कार्यक्रममा सहभागीहरूले मोहन दुवाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मायाको चिनोसमेत प्रदान गरेका थिए । कार्यक्रममा संस्थाकी सचिव सृजना दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमले वरिष्ठ साहित्यकार मोहन दुवालप्रति सम्मान प्रकट गर्नुका साथै उहाँको साहित्यिक योगदानलाई स्मरण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रमको संचालन इन्द्रनारायण भैलले गर्नुभएको थियो ।
