IMG-LOGO

मण्डनदेउपुर नगरले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्याे

 मंगल, असार २, २०८३  -

    मण्डनदेउपुर नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा गरिएको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा गरिएको हो । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरु, विद्यार्थीहरु एवं सरोकारवालाहरुको उपस्थित थियो । कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यबाहक प्रमुख विष्णुमणि नेपालले गर्नुभएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक नगर प्रमुख नेपालले नगरका सबै वडा र सबै विद्यालयले अनिवार्य र निःशुल्क शिक्षा घोषणा गरिसकेकाले नगरपालिकाले यसलाई संस्थागत गर्नका लागि कार्यक्रम आयोजना गरिएको तर्क गर्नुभयो । कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै नगरका सामाजिक विकास समितिका संयोजक एवं वडानम्बर ८ का वडाध्यक्ष निरञ्जन विष्ट, नगरस्तरिय बाल संजालकी संयोजक रोशनी रम्तेल, कार्यक्रममा वडानम्बर १२ स्थित बागदेवी माविका प्रधानाध्यापक हिमाल केसीले मन्तव्य राख्नुभएको थियो ।
    डेडीथुम्का माविका प्रधानाध्यापक शिवकुमार पौडेलले विद्यालयहरुमा भएका धेरै समस्याहरु मध्ये विजुली वत्ती र पानीलगायतको बिल नगरपालिकाले तिरिदिने हो भने निकै सहजिकरण हुने र विद्यार्थी तथा अभिभावकहरुमा कुनै शुल्क लिनु नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरका नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतम, नगर शिक्षा समितिका सदस्य ध्रुर्व काफ्ले, नेपाली कम्युनिष्ट पार्टीतर्फबाट डिल्लीप्रसाद आचार्य, नेकपा एमालेका तर्फबाट झलक पौडेल, नेपाली कांग्रेसका नगर सभापति कश्यपप्रसाद पौडेललगायतले नगरपालिकाले विभिन्न सूचकहरु पूरा गरेपछि आज अनिवार्य तथा बोल्नुभएको थियो ।
    नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईंले नगरपालिका शिक्षा क्षेत्रमा थप लगानी गरि नागरिकले पाउनु पर्ने अनिवार्य र निःशुल्क शिक्षा प्रदान गर्न लागिपर्ने उल्येख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले यहाँ आएका गुनासो र सुझाव तथा सल्लाह हाम्रो लागि आगामी दिनमा मार्गदर्शन हुने बताउनुभयो । कार्यक्रममा सेवा निवृत्त शिक्षक केशव सापकोटालाई दोसल्ला ओडाएर सम्मान र बिदाइका साथै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि सहयोग गर्ने सबै वडाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम शिक्षा शाखा प्रमुख बिनोद कार्कीले संचालन गर्नुभएको थियो । नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणाका लागि नगरका ७ हजार ३५६ वटा घरधुरी सर्वेक्षण गरेको शिक्षा शाखाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्