बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा न. २ सेल्फीडाँडामा भएको बस दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक (डीएसपी) रविन बिष्टका अनुसार, ८ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाउनु भएको हो । प्रहरीका अनुसार, मृतक ४ पुरुष र ४ महिला छन् । बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ३ सय मिटर तल खसेको थियो । यात्रुका अनुसार, अर्को सवारीसाधनलाई साइड दिने क्रममा बस खसेर दुर्घटना भएको बताए । दुर्घटनामा घाइते १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यू हुनेहरुमा जिल्ला सिन्धुली घ्याङलेख गा पा ४ बस्ने बर्ष २२ की सुमी लामा, जिल्ला दैलेख घर भएका बर्ष ३० को बम बहादुर भण्डारी (नेपाली सेनाको जम्दार), जिल्ला काभ्रे रोशी गा.पा.वडा नं. ६ को वर्ष ७३ को मेघ बहादुर तामाङ, जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा.०७ बस्ने बर्ष ३४ की फुलमाया तामाङ, रोशी ७ बस्ने बर्ष ६० की माया लामा, जिल्ला काभ्रेपलाञ्चोक रोशी ६ बस्ने बर्ष ५५ को राजु तामाङ, वडा नं. ०८ बस्ने बर्ष ६० की प्यारीमाया तामाङ र वडा नं. ६ बस्ने बर्ष ७५ को ईन्द्र बं. तामाङ रहेका छन् ।
जिल्ला प्रहरी काभ्रे धुलिखेलका डिएसपी रविन विष्टका अनुसार मृत्यू भएका ८ जनाकै आफन्तले मृतकको शव बुझेर धार्मिक परम्परा अनुसार दाह संस्कार गरेको जनाउनुभयो । हाल धुलिखेल अस्पतालमा १५ जनाको उपचार भइरहेको र एकजना विरामीको डिस चार्ज भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन सम्बन्धी तथ्याङ्क अनुसार पाँच वर्षमा १ लाख २० हजार सवारी दुर्घटना, १२ हजार ६ सय ७७ को मृत्यु, १ लाख ६४ हजार भन्दा बेसी घाइते भएको जनाएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ का दुर्घटनाको संख्या तुलनात्नमक रुपमा बढेको छ । आ.व. २०८१÷०८२ मा २८ हजार ६ सय ९२ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी २ हजार ५ सय ४९ जनाको मृत्यु, ६ हजार ९ सय ७६ गम्भीर घाइते, ३७ हजार २ सय ८३ सामान्य घाइते भएका छन् । २०७७÷०७८ देखि ५ वर्षको सबैभन्दा बेसी दुर्घटना भएको २०८१÷०८२ वर्ष भएको प्रहरीले जनाएको छ । देशभर दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्येख रहेको छ ।
दुघर्टनाको छानविन गर्न ५ सदस्यीय समिति
नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटना परी ८ जनाको मृत्यु र १६ जना घाइते भएको सम्बन्धमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको परिपत्र अनुसार जिल्ला प्रहरी काभ्रे धुलिखेलका प्रहरी नायव उपरीक्षक रविन विष्ट सदस्य, ने.प्र.सु. तथा ट्रा.व्य. कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक गंगा सारु सदस्य, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक दिनेश खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक सिवाकोटी सदस्य सचिव, इलाका प्रहरी कार्यालय देवीटार काभ्रेका प्रहरी हवलदार बासुदेव खड्का रहेको ५ सदस्य छानविन समिति गठन गरेको छ । उक्त बस दुर्घटनाको सत्य तथ्य छानविन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गत जेठ ३० गते प्रहरी महानिरीक्षक दानवहादुर कार्कीले निर्देशन सहितको पत्र नेपाल प्रहरी प्रदेश कार्यालय बनेपालाई पठाएको हो ।
