जिल्ला सहकारी संघ लि. काभ्रे अन्तर्गत युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यक्रम सम्पन्न भएको छ । सहकारी क्षेत्रभित्र युवा सहभागिता विस्तार गर्दै नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सहभागीहरूबीच ज्ञान आदान–प्रदान र व्यवहारिक सिकाइको अवसर प्रदान गरेको थियो । कार्यक्रमको अध्यक्षता युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठले गर्नुभएको थियो । जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रम सञ्चालन सदस्य सुरज कुमार न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य समेश सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख सहजकर्ता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले सहकारी क्षेत्रमा नेतृत्व विकास, आत्मविश्वास वृद्धि, प्रभावकारी सञ्चार, समूह व्यवस्थापन तथा निर्णय क्षमताका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले सहकारी संस्थामा युवाको भूमिका केवल सहभागितामा सीमित नभई नीति निर्माण र नेतृत्व तहसम्म विस्तार हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि अमन पोटे श्रेष्ठले सहकारी आन्दोलनलाई समयानुकूल रूपान्तरण गर्न युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले अनुभवी नेतृत्व र युवा पुस्ताबीचको सहकार्यबाट मात्र संस्थागत विकास सम्भव हुने धारणा राख्नुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सञ्चालक समितिका सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू, कर्मचारीहरू तथा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कुल ६५ जनाको सहभागिता रहेको उक्त तालिमले सहकारी क्षेत्रमा नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ थियो । कार्यक्रम समापन गर्दै युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै सहकारी संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गर्नुभयो । संघका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले तालिमले सहभागीहरूको क्षमता विकासमा प्रत्यक्ष टेवा पुगेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले सहकारी संस्थाको समग्र कार्यसम्पादन सुधारमा दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो ।
