राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेको जिल्ला सभापतिमा प्रविण ढकाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले ढकाललाई जिल्ला सभापति सर्वसम्मत चयन गरेको थियो ।यसैगरी उप–सभापतिमा पुण्यमाता घिमिरिे सर्वसम्मत चयन भएकोमा अन्य पद सचिव, सचिव एवं जिल्ला कार्यसमिति सदस्य पदमा भने निर्वाचन भएको थियो । निर्वाचनबाट सचिवमा जी.एन सापकोटा, सहसचिवमा प्रकाश तिमल्सिना निर्वाचित भएका छन् । यसैगरी जिल्ला सदस्यमा नवराज बोलखे, सरिता केसी, सुशिला खत्री, साजन श्रेष्ठ,विकाल तोलाङ्गे,नगेद्र डोटेल, जेन कुमार लामा, तारा बहादुर कुँवर र ङेमा लामा निर्वाचित हुनुभएको छ ।
पार्टीका सांसद एवं प्रतिनिधिसभा संसदीय दलको उपनेता गणेश पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रास्वपा सांसद बदन भण्डारी अतिथि हुनुहुन्थ्यो । धुलिखेलमा सम्पन्न कार्यक्रममा पार्टीका नगर सभापति, वडा अध्यक्ष एवं जिल्ला प्रतिनिधि लगायत शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
पालिकामा क–कसको नेतृत्व ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाका ११ वटा पालिकाको अधिबेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । दुई वटा पालिकामा भने तर्दथ समिति गठन भएको छ । जिल्लाको महाभारत र खानीखोलामा सदस्यता वितरण पार्टीको विधान अनुसार पूर्ण नभएका कारण तर्दथ समिति मात्रै रहेको बताईएको छ भने बनेपा नगरपालिकामा सुरज मकै श्रेष्ठ, बेथानचोक गाउँपालिकामा अष्टमान तामाङ, पनौती नगरपालिकामा दिनेश श्रेष्ठ, भुम्लु गाउँपालिकामा विक्रम कुँवर, नमोबुद्ध नगरपालिकामा विक्रमहरी तिवारी तथा धुलिखेल नगरपालिकामा माधव श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी तेमाल गाउँपालिकामा सूर्य तामाङ, चौरीदेउराली गाउँपालिकामा श्रीमान तामाङ, रोशी गाउँपालिकामा विशाल लामा, पाँचखाल नगरपालिकामा नवीन प्रकाश निरौला तथा मण्डनदेउपुर नगरपालिकामा मणिराम पौडेल नेतृत्वमा चयन हुनुभएको छ । त्यसैगरी रास्वपा तदर्श समिति महाभारत गाउँपालिकाको संयोजकमा साजन लामा र रास्वपा खानीखोला गाउँपालिकाको तदर्श समितिको संयोजकमा दिनेश अधिकारी रहनुभएको छ ।
