धुलिखेल । धुलिखेल नगरपालिकाले विहीवार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ । धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम प्रमुख आतिथ्यता र सामाजिक विकास समितिका संयोजक एवं धुलिखेल नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको आयोजना तथा इन्सेकको सहकार्यमा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि सन्देशमुलक सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल समेत भएको छ ।
सो अवसरमा दलित परिषद्का उपाध्यक्ष चमारसिंह विक, इन्सेक बागमती प्रदेश अध्यक्ष शिवप्रसाद खकुरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष, बिनोद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अतिथिहरुले छुवाछुत तथा जातीय विभेद उन्मूलनका लागि सबै तहतप्काबाट निरन्तर जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उनीहरूले समानता, सामाजिक न्याय र मानव अधिकारको सुनिश्चितताका लागि सबै पक्षको साझा धारणा र प्रतिबद्धता आवश्यक रहेको जनाएका छन् । औपचारिक कार्यक्रम हुनुअघि सहभागीहरूले धुलिखेल सरस्वती बजार क्षेत्रबाट नगरपालिका गेटसम्म प्रभातफेरी गरेको थियो ।
