नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभा ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । सम्मेलनले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवद्र्धन तथा सञ्चारकर्मीको पेशागत सुरक्षासम्बन्धी १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । सम्मेलनबाट पारित घोषणापत्र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा मिडिया सम्मेलनका क्रममा उठेका विभिन्न विषय, सञ्चार क्षेत्रका समस्या तथा पत्रकारका सरोकारका मुद्दाबारे मन्त्री अधिकारीलाई जानकारी गराइएको थियो । घोषणापत्रमा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, लोकतन्त्र, मानव अधिकार, पत्रकारको पेशागत हित तथा सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्धता व्यक्त गरिनुका साथै निजी सञ्चारमाध्यम माथि विभेद हुने गरी लागू गरिएको विज्ञापन सम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरिएको छ । सम्मेलनले पत्रकारलाई निर्वाध रूपमा सूचनामा पहुँच सुनिश्चित गर्न, समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत फौजदारी अभियोग लगाउने प्रवृत्तिको अन्त्य गर्न तथा पत्रकारमाथि हुने धम्की, निगरानी र धरपकड रोक्न जोडदार माग गरेको छ । त्यसैगरी साना लगानीका सञ्चार माध्यमलाई प्रवद्र्धन गर्दै मिडियालाई उद्योगका रूपमा विकास गर्न आवश्यक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ । सञ्चारकर्मीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेशागत सुरक्षाको वातावरण बनाउन तीनवटै तहका सरकारलाई आग्रह गरिएको छ । घोषणापत्रमा संघ, प्रदेश र स्थानीय सरकारबीच संविधानले स्पष्ट गरेको अधिकार क्षेत्रको सम्मान गर्न, प्रदेश तथा स्थानीय सरकारमाथि हुने हस्तक्षेप रोक्न तथा संविधान विपरीतका परिपत्र जारी नगर्न संघीय सरकारसँग माग गरिएको छ । सञ्चार गृहहरूमा लैङ्गिक समानता, अल्पसंख्यक समुदाय तथा फरक क्षमता भएका व्यक्तिहरूको सहभागिता बढाउन आवश्यक नीति निर्माण र कार्यान्वयन गर्न पनि सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ । राजधानी जिल्ला मकवानपुरलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न, प्रदेश सरकार सञ्चालनका लागि आवश्यक स्थायी पूर्वाधार निर्माण गर्न तथा बन्द रहेको हेटौँडा कपडा उद्योग र समस्याग्रस्त हेटौँडा सिमेन्ट उद्योग लगायत प्रदेश भित्रका उद्योगधन्दा सञ्चालन गरी रोजगारी सिर्जना गर्न सरकारसँग माग गरिएको छ । यसैगरी विभिन्न जिल्लामा नेपाल पत्रकार महासंघका नाममा भोगाधिकार प्राप्त गरी निर्माण गरिएका भवनहरूको भोगाधिकार यथावत् कायम राख्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यम मार्फत वितरण गर्न प्रदेश भरका स्थानीय तहलाई अनुरोध गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गर्नुभयो । यसैगरी नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पाँचौँ साधारणसभाको अवसरमा विभिन्न पत्रकारिता पुरस्कार तथा सम्मान विभिन्न व्यक्तित्वहरूलाई प्रदान गरेको छ । स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट भगवती तिमल्सिना, क्रियाशील पत्रकार महिला पुरस्कारबाट प्रतिमा शिलवाल, स्व. सुर्जबहादुर सारु मगर स्मृति पत्रकारिता पुरस्कारबाट ध्रुव अधिकारी तथा अग्रज पत्रकार सम्मानबाट सम्मानित शेषराज दाहाल, नवराज शर्मा र दिपक आचार्य तथा उत्कृष्ट शाखा सम्मान नेपाल पत्रकार महासंघ धादिङ शाखालाई प्रदान गरिएको थियो ।
