IMG-LOGO

सकियो चण्डेश्वरी जात्रा

 मंगल, बैशाख २२, २०८३  -

    बनेपा, परापूर्वकाल देखि बनेपामा पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा शुक्रबारदेखि सुरु भएको छ । करिब दुई हजार ५०० वर्षअघिदेखि चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउँदै आएका छन् । बर्सेनि चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि स्थानीयले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर रङरोगनसहित बेहुलीझैँ सिङ्गार्ने गर्छन् । जात्राको पहिलो दिन बिहानैदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजा आराधना गरी औपचारिक रूपमा जात्रा प्रारम्भ गरिन्छ । 
    हनुमानढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिङ देवताहरूलाई १२ वटा बोका बलि दिई ’सरकारी पूजा’ गरिने र सबेरै जलेश्वर महादेवसम्म मत पूजा (चिराग यात्रा) गरिएको स्थानीय युगेश्वर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खाली रथ (खट)लाई भेडा बलि दिइएपछि स्थानीय युवाहरूले विभिन्न बाजागाजासहित बोकेर ’ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउँछन् । 
    रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरूलाई ’ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम गर्ने परम्परा रहिआएको स्थानीय कायस्थले जनाउनुभयो । उक्त खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । त्यस्तै भोलिपल्ट रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरू झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । तुलसीको काठद्वारा निर्मित सानो रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने प्रचलन अनुसार गरिन्छ ।
    पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ । त्यहाँ रथ पु¥याउनेका लागि भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहिआएको वरिष्ठ साहित्यकार एवं स्थानीय मोहन दुवालले बताउनुभयो । उहाँका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।
    जात्रा अवधिभर भजन कृर्तन समूहले टोलटोलमा बसी बिहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ’शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय प्रधानकर्ता चन्द्रबहादुर रंजीतले जानकारी दिनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ मा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् भने यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्