नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले बालेन शाहको नेतृत्वमा रहेको वर्तमान शासन व्यवस्थाबारे भच्र्युल रूपमा छलफल गर्न एक अन्तर्राष्ट्रिय वेबिनार आयोजना सम्पन्न भएको छ । छलफलमा भारत, संयुक्त राज्य अमेरिका, जापान, बंगलादेश, भुटान, चीन र नेपालसहित २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता, विद्वान तथा विज्ञहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बालेन शाहको नेतृत्व तथा नेपालको बदलिँदो राजनीतिक परिदृश्यबारे आफ्ना अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले भारतले नेपाल र नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थी आदान–प्रदान, व्यापार तथा विचारको प्रवाहलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले क्षेत्रीय सहकार्य नै स्थायित्वको आधार भएको उल्लेख गर्दै भारत–नेपाल सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने समय आएको बताए । त्यस्तै, चीनका प्रोफेसर तथा पूर्व कूटनीतिज्ञ डा. चाङ चियाडोङले नेपालको नयाँ नेतृत्वलाई युवा शक्ति र परिवर्तनको प्रतीकका रूपमा उल्लेख गर्दै चीनले नेपालप्रति समर्थन विस्तार गर्ने बताए । उनले बालेन नेतृत्वलाई सकारात्मक परिवर्तनको सम्भावना भएको भन्दै बीआरआई अन्तर्गत सडक, ऊर्जा तथा जनस्तरका सहकार्यका अवसरहरू औंल्याए ।
संयुक्त राज्य अमेरिकाका प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक डा. रोब योर्कले अमेरिका दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने बताउँदै नेपालले भारत र चीनबीच अपनाएको सन्तुलनकारी नीतिलाई व्यावहारिक आवश्यकता भएको टिप्पणी गरे । यसैगरी, बंगलादेश इन्डो–प्यासिफिक मामिला केन्द्रका कार्यकारी निर्देशक डा. साहब इमान खानले नेपालमा देखिएको राजनीतिक परिवर्तनको गति र कार्यक्षमताको प्रशंसा गर्दै नयाँ राजनीतिक शक्तिहरू अझ प्रभावकारी हुन सक्ने धारणा व्यक्त गरे । वेबिनारमा सहभागी विज्ञहरूले नेपालको वर्तमान राजनीतिक परिवर्तनलाई क्षेत्रीय सहकार्य, स्थायित्व र विकासका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका थिए ।
