बेल्जियमको प्रसिद्ध ‘हीराको राजधानी’ एन्टवर्पमा हालै मार्सल आट्र्स र ऐतिहासिक गौरवको अनुपम सङ्गम देखियो । सहरको सांस्कृतिक केन्द्र हान्जेस्टेडेनप्लाट्स (Hanzestedenplaats) स्थित सङ्ग्रहालयमा एन्टवर्प सिटी काउन्सिलको आयोजनामा क्योकुशिन कराते प्रवद्र्धनका लागि एक भव्य समारोह सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ११ पटकका स्वर्ण पदक विजेता प्रख्यात मार्सल आट्र्स गुरु शिहान कोएन र उनको डोजो (शिक्षण केन्द्र) कार्यक्रमको मुख्य केन्द्रबिन्दुमा थिए। उनको असाधारण उपलब्धिलाई सो अवसरमा उच्च सम्मान प्रकट गरियो ।
ऐतिहासिक सङ्ग्रहालयमा आयोजित यस कार्यक्रमले बेल्जियममा मार्सल आट्र्सको विकासमा नयाँ आयाम थपेको छ । यो केवल खेलको प्रदर्शन मात्र नभई क्योकुशिन करातेमा निहित अनुशासन, धैर्य र आन्तरिक शक्तिको सम्मान समेत थियो । यस ऐतिहासिक पहलले एन्टवर्पलाई व्यापार र कलाका साथै मार्सल आट्र्स जस्तो अनुशासित खेलको प्रवद्र्धकका रूपमा समेत विश्वसामु चिनाएको छ । सिटी काउन्सिलको यो सक्रियताले आगामी पुस्ताका खेलाडीहरूलाई खेलकुद र जीवन दर्शनप्रति आकर्षित गर्न ठूलो प्रेरणा दिने अपेक्षा गरिएको छ ।
