काठमाडौं विश्वविद्यालय धुलिखेलमा (केयू) ले विद्यार्थी कल्याण परिषद्÷काउन्सिलको निर्वाचन तोकेपछि विद्यार्थीले असहमति जनाएका छन् । केयूले कक्षा प्रतिनिधि (सीआर) प्रणालीमार्फत चुनाव गराउने तयारी अगाडि बढाएको छ । अध्ययरत विद्यार्थीले प्रत्यक्ष निर्वाचित प्रणालीबाट काउन्सिल गठनको माग राखेका छन् । विद्यार्थी सुमित मैनालीले प्रत्यक्ष निर्वाचित प्रणालीबाट निर्वाचन गरिनुपर्ने बताउनुभयो । ‘कक्षा प्रतिनिधि चुनेर विद्यार्थी कल्याण परिषद् बनाउने घोषणा केयूले गरेको छ । प्रजातान्त्रिक तरिकाबाट प्रत्यक्ष निर्वाचित प्रणालीबाट आफ्नो प्रतिनिधि चुन्न पाउनुपर्ने विद्यार्थीको माग हो,’ उनले भने ।
प्रत्यक्ष र समावेशिताका आधारमा विद्यार्थी कल्याण परिषद् निर्वाचनको माग राख्दै विद्यार्थीहरुले हिजो धुलिखेलस्थित विश्वविद्यालयमा प्रदर्शन गरेका हुन् । विश्वविद्यालय प्रशासन कार्यालयमा भेला भएका उनीहरुले कक्षा प्रतिनिधि प्रणाली खारेज गरी र प्रत्यक्ष निर्वाचित व्यवस्थाको सुनिश्चितताको माग गर्दै नाराबाजीसमेत गरेका थिए । केयूले वैशाख २५ गते इन्जिनियरिङ र विज्ञान संकायमा काउन्सिल निर्वाचनको घोषणा गरेको छ । विद्यार्थीले भने एक सातादेखि सामाजिक सञ्जालबाट त्यसको विरोध गरिरहेका छन । केयू विद्यार्थीको नाममा फेसबुक पेजहरु मार्फत उनीहरुले असहमति राखेका छन् ।
‘कक्षा प्रतिनिधिबाट परिषद् गठन गर्दा विद्यार्थीले आफ्नो प्रतिनिधिलाई परिचय समेत गर्न पाएका हुँदैनन् । विद्यार्थीले आफ्नो प्रतिनिधि प्रत्यक्ष रुपमा आफूले मत राखेर छनोट गर्न पाउनुपर्छ । लोकतान्त्रिक विधि पद्दती विधि पद्दतीको धज्जी उदाएर गरिने निर्वाचन स्वीकार्य हुँदैन मौनालीले भन्नुभयो । विश्वविद्यालयले मागको सुनुवाइ नगरेपछि विद्यार्थी आन्दोलनका उत्रेको उनको भनाइ छ । कक्षागत प्रणाली खारेज गरी प्रत्यक्ष मतदानको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले बताएका छन् ।
सरकारले ६० दिनभित्र विश्वविद्यालयबाट राजनीतिक दल आबद्ध विद्यार्थी संगठनको संरचना हटाउने र ९० दिनभित्र गैरराजनीतिक विद्यार्थी काउन्सिल गठन गर्ने घोषणा गरेको छ । सरकारको घोषणापछि प्रधानमन्त्री वालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरुलाई बोलाएर सरकारको घोषणा कार्यान्वयन गर्न निर्देशन दिएका थिए । निर्देशनपछि केयूले विद्यार्थी परिषद्को निर्वाचन धोषणा गरेको हो ।
