कुन्तावेँसी, मण्डनदेउपुर नगरपालिका स्थित नगर आधारभूत अस्पतालमा वागमती प्रदेशमै पहिलो वातानुकुलित खोप केन्द्र संचालनमा आएको छ । नगरप्रमुख टोकबहादुर वाइवाले शुक्रबार उक्त खोप केन्द्रको उद्घाटन गर्नुभयो । आमा र शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर वागमती प्रदेशको पहिलो वातानुकुलित खोप केन्द्रको स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक घिमिरेले बताउनुभयो ।
खोप केन्द्र समयसापेक्ष बनाइनु खुशीको कुरा भएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले हरेक रोगहरुको जोखिम कायमै रहेकाले स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सतर्कता अपनाइ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा खोपको अवस्था र नेपालमा हाल भइरहेका खोप कार्यक्रमका बारेमा पनि उल्लेख गर्दै वागमती प्रदेशका ११९ वटा पालिका मध्ये मण्डनदेउपुर नगर अस्पतालमा वातानुकुलित खोप केन्द्र संचालनमा आउनु महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख विष्णुमणि नेपालले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै भोलिका सन्ततीहरुका लागि वातावरण अनुकूल खोप केन्द्र स्थापना गर्नु नगरकै ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले हाल नगर आधारभूत अस्पतालबाट यो सेवा शुरु भएको र विस्तारै नगरका सबै वडाका खोप केन्द्रहरुमा वातानुकुलित खोप केन्द्र संचालनमा ल्याउने प्रमुख लक्ष्य रहेको जनाउनुभयो ।
नगरप्रमुख टोकबहादुर वाइवाले नगरले स्वास्थ्य क्षेत्रमा प्रारम्भ देखि नै विज्ञहरुको सल्लाह सुझाव अनुसार कार्य गर्दै आएको गरिरहेको बताउनुभयो । खोप समयमा नलगाउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा रहने उल्लेख गर्दै उहाँले नगरपालिकाले वातानुकुल कक्षसहितको खोप केन्द्र संचालनमा ल्याएर जनपक्षीय कार्य गरेको बताउनुभयो । हाल नगरमा ५ शैयाको अस्पताल संचालनमा रहेको र निकट भविष्यमै थप १५ शैयाको अस्पताल संचालनमा ल्याइने उल्येख गर्नुभयो । यसका लागि भवन निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको बताउँदै नगरप्रमुख वाइवाले यसमा सहयोग गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो ।
खोपको गुणस्तर संरक्षण ः एसीले कोठाको तापक्रमलाई नियन्त्रणमा राख्छ, जसले खोपलाई बिग्रनबाट बचाउँछ र यसको प्रभावकारिता कायम राख्छ ।
स्वास्थ्यकर वातावरण ः यो केन्द्र सफा र व्यवस्थित हुन्छ, जसले खोप सेवाग्राहीलाई आरामदायी अनुभव प्रदान गर्छ ।
नियमित सेवा ः यस्ता केन्द्रहरूबाट तोकिएको मिति र समयमा खोप सेवा प्रदान गरिन्छ ।
