२०८३ साल वैशाख १३ गते (आइतबार) क्यान महासंघ काभ्रे शाखाले National ICT Day २०२६ को अवसर पारेर “Cyber Security and Online Safety” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे लेडी जेसिसको आयोजना तथा क्यान महासंघ काभ्रे शाखाको प्राविधिक सहयोगमा बनेपा स्थित जेसिस सचिवालयमा आयोजित उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्य को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले वर्तमान डिजिटल युगमा बढ्दो साइबर अपराधका घटनाहरूलाई मध्यनजर गर्दै महिला दिदीबहिनीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो प्रशिक्षण अत्यन्तै सान्दर्भिक र प्रभावकारी भएको बताउनुभयो । साथै, यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई बनेपा नगरपालिकाले प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रशिक्षक तथा क्यान महासंघ काभ्रे जिल्ला शाखाका अध्यक्ष देवकी आचार्य दुलालले करिब ४० जना सहभागीहरूलाई डिजिटल माध्यममा सामान्य देखिने तर गम्भीर समस्या निम्त्याउन सक्ने साइबर जोखिमहरू तथा त्यसबाट बच्ने व्यावहारिक उपायहरूको बारेमा विस्तृत प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा क्यान महासंघका कार्यसमिति सदस्यहरू, जेसिसका पूर्व अध्यक्षहरू लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति काभ्रे लेडी जेसिसकी अध्यक्ष मोनिका शाक्यले डिजिटल युगमा साइबर सुरक्षा तथा अनलाइन सुरक्षाको महत्त्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो ।
