बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेशाखाको ४९ औं साधारण सभा शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न गरेको छ । बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा कार्यक्रमको सभापति एवं शाखा सभापित देवेन्द्रप्रसाद भैलले ब्लड बैंकको लागि २ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएकोमा हालसम्म ४२ लाख ६० रकम संकलन भएको जानकारी दिनुभएको थियो । भैलले सबै पालिकामा रेडक्रसले अनुरोध गरी माग गरेअनुसार काभ्रे जिल्लाको दुई अस्पताल धुलिखेल र मेथिनकोट, बेथानचोक, धुलिखेल, बनेपा, पाँचखाल र मण्डनदेउपुरबाट आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता भइसकेको बताउँदै काभ्रेका विन्धवासिनी साकोस, सामुदायिक साकोस र ज्योति मिर्मिरे साकोससँग पनि आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरिएको उल्लेख गर्नुभयो ।
सोही अवसरमा काभ्रे जिल्लाका ३४ उपशाखाबाट आफ्ना क्रियाकलापहरु पठाउन पत्राचार गरिएकोमा १३ वटा उपशाखाले मात्र फारम उपलब्ध गराउनुभएकोले सोही बमोजिम वर्गीकरण गर्दा पनौती उपशाखा प्रथम, मंगलटार उपशाखा दोस्रो र खोपासी उपशाखा तेस्रो भई नगद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष हिटलर शाक्यले बनेपा नगरपालिका वडा नं. ७ को तर्फबाट १ लाख १५ हजार बराबरको सामग्री हस्तान्तरण र बेथानचोक नारी चेतना केन्द्रकी कोषाध्यक्ष शान्ति खत्रीबाट २ वटा रक्तदान चियर प्रदान गर्नुभएको थियो ।
सोही क्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, भक्तपुर शाखाका जिल्ला सभापति परशुराम पाण्डे, पूर्व सभापति श्यामसुन्दर श्रेष्ठ, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रेडक्रस काभ्रेका उपसभापति ज्ञानबहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपमन्त्री प्रदीप केसीले धन्यवाद ज्ञापनको गर्नुभएको थियो । रेडक्रस काभ्रे शाखा मन्त्री राजु सिग्देलले सभा सञ्चालन, कोषाध्यक्ष प्रेमकुमार तामाङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने उपसभापति पुष्पा खड्काले विशिष्ट सदस्यता प्राप्त गर्ने व्यक्तिहरुको प्रमाणपत्र वाचन गर्नुभएको थियो । रेडक्रसका सात सिद्धान्त कार्यसमिति सदस्य शान्ति खत्रीले वाचन गर्नुभएको थियो । रेडक्रस शाखा मन्त्री सिग्देलले रेडक्रस काभ्रेले आपल विपतमा परेकाहरुलाई सहयोग गर्ने अभियानमा जोड्न काभ्रेका १३ वटै स्थानीय सरकारलाई समेत समन्वय गरी सबै टिम एकताबद्ध भएको जनाउनुभयो ।
