नेपालमा विगत केही वर्ष देखि विशेषत : ५ वर्षमुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ को क्याप्सुल र जुकाको औषधी खुवाउने कार्य गरिँदै आएको छ । वैशाख र कात्तिक महिना गरी वर्षका २ पटक भिटामिन ‘ए’ एवं जुकाको औषधी वितरण कार्य गरिन्छ । यसै क्रममा हिजो र अस्ति अर्थात् वैशाख ६ र ७ गते महिला स्वास्थ्य स्वयंसेविका लगायतका विभिन्न तहका स्वास्थ्यकर्मीहरु परिचालन गरेर यो कार्य भैसकेको छ ।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुमा बालबालिकाहरुमा सरसफाइको कमी एवं खानामा हुनुपर्ने सुक्ष्म पोषण (भिटामिन, लवण, खनिज पदार्थ आदि) को कमीले छालाको समस्या, रतन्धो, हड्डीको समस्या, स्कर्भी, मानसिक स्वास्थ्य एवं नियमित वृद्धि विकासको समस्या भइरहेका छन् । सम्बन्धित निकायले समस्याको व्यापकता एवं आफूसँग उपलब्ध साधन, स्रोतका आधारमा प्राथमिकता निर्धारण गरी हाललाई भिटामिन ‘ए’ र जुकाको औषधी वितरण कार्य जारी राखेको छ । हरियो सागपात, पहेंलो खालको फलफूलमा पाइने भिटामिन ‘ए’ को कमीले रतन्धो, आँखामा हुने अन्य समस्या, छालाको समस्या आदि हुन्छ । विकासोन्मुख देशहरुमा बालबालिकाहरुमा हुने अन्धोपनका मुख्य कारण भिटामिन ‘ए’ को कमीले हो ।
रतन्धो तथा यसबाट हुनसक्ने अन्धोपनको रोकथामका लागि दिइने भिटामिन ‘ए’ को मात्रा यस प्रकार छ : एक वर्ष मुनिका वा ८ किलो तौलभन्दा कम तौल भएको बच्चालाई १ लाख र त्यसभन्दा माथि तर ५ वर्ष मुनिका लागि पूरै क्याम्पसुल (२ लाख) चाहिन्छ । यदि बालबालिकालाई विगत ६ महिना दादुरा, झाडापखाला, कुपोषण (सुकेनास वा फुकेनास) तथा रतन्धो लगायतका आँखा समस्या देखा परिसकेको भए भिटामिन ए को क्याप्सुल १ पल्ट भन्दा बढी दिनुपर्छ ।
यसैगरी व्यक्तिगत सरसफाइ (हात, नङ, मुख आदि) एवं घरभित्र, घर वरिपरि, कक्षाकोठा, भाँडाकुडा, पानी, खानाको सरसफाइको कारणले अन्य सरुवा रोग साथै जुकाको समस्या पनि हुन्छ । अझ बच्चाहरुमा दिसा गरिसकेपछि हात नधुने, फोहरमा खेल्ने, फोहर (मैलो) हातले नै गुलियो खानेकुरा खाने बानी हुनाले, जुत्ता, चप्पल नलगाउने, खेलेपछि हात खुट्टा राम्ररी नधुने बानीले गर्दा गोलो गुजा, अंकुशे जुका, चुर्ना आदि विभिन्न प्रकारका जुकाहरु पर्न सक्छ । शरीरमा जुकाले डेरा जमाइसकेपछि कुपोषण (खाना तथा पौष्टिक पदार्थको कमी) रक्त अल्पता (रगतको कमी), गुदद्वार वरिपरि अत्याधिक कन्याउनाले छालाको समस्या, पेट दुख्ने समस्या, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेट डम्म फुल्ने, आलस्य हुने आदि हुन्छ ।
यी सबै प्रकारका जुकाबाट छुटकारा पाउन विभिन्न प्रकारका जुकाको औषधिहरु छन् । त्यसमध्ये एल्बेन्डाजोल नामक जुकाको औषधीले धेरै थरिका जुकालाई निर्मुल गर्दछ । यो औषधी एक मात्रा मात्र खुवाए पुग्छ । दश किलो भन्दा कम तौल भएकोलाई १०० मिलिग्राम, दश देखि बीस किलो तौलकालाई १०० देखि २०० मिलिग्राम एवं बीस किलो माथि तौल भएकालाई ४०० मिलिग्राम पूरै चाहिन्छ ।
